बाहिरबाट हेर्दा ‘३६’ को ध्रुवझैँ, एउटासँग अर्को फर्किनै नसकिनेजस्तो । तर, ‘मसँग दौरासुरुवाल नै छैन’ भन्दा ‘हैन, मेरै लगाउने गरी बिहान शपथ खान आउनु’ भनिदिनुभयो प्रधानमन्त्रीले । यसरी गत बिहीबार पुनर्गठित मन्त्रिपरिषद्मा प्रधानमन्त्रीले दौरा–सुरुवाल लगाउन दिएर पनि आफ्नो सनातनी आलोचक घनश्याम भूषाललाई कृषिमन्त्री बनाउनुभयो । त्यसो त दौरा–सुरुवालले मात्रै मन्त्री बन्न रोकिँदैन भन्ने कुरा त्यही दिनको शपथमा कुर्ता–पाइजामा लगाएका हृदयेश त्रिपाठीहरुबाट पनि पुष्टि हुन्छ ।

घनश्यामलाई बुधबार बिहानै प्रधानमन्त्रीले मन्त्रिमण्डलमा सामेल हुन फोनमार्फत भन्नुभएको थियो । त्यसबेला घनश्याम रुपन्देहीको मणिग्रामतिर थिए । ‘मन्त्री नै हुन्नँ भन्ने त होइन, पहिला तपाईंसँग कुरा गर्छु’ भनेर स्वीकारोक्ति दिएका उनलाई सचिवालयबाट फोन गयो । प्रमले नै भन्नुभयो, ‘भोलि बिहान तुना भएको कालो छालाको जुत्ता, कालो कोट, सेतो दौरासुरुवालमा मलाई भेट्न आउनु †’

‘दौरासुरुवाल त छ, सेतो हैन खैरो † त्यो पनि ०७४ मा चुनाव जितेर सांसदको शपथका लागि हालिएको ।’ घनश्यामले यही कुरा सुनाए । अनि, प्रमले ‘त्यसोभए यहाँ आउनु, मेरो एकजोर दौरा–सुरुवाल छ, यही लगाएर जानु’ भन्नुभयो । प्रधानमन्त्री स्वयंले खोजी–खोजी ‘खान आऊ’ भन्ने, आफ्नै लुगा ‘लैजाऊ’ भन्ने तहको स्नेह देखाएपछि घनश्याम बिहानैदेखि तीनछक परिरहेका थिए । त्यसो त केही दिन पहिले तीन घण्टा गफ हुँदा ‘रोजेर मन्त्रालय लैजाऊ’ भन्ने अफर पनि गरिएको हो ।

बुधबार बेलुकी बुद्ध एयरको भैरहवा–काठमाडौं उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदाहुँदै बधाईका फोन आउन थालिसकेका थिए । अर्थात्, उनी कृषि मन्त्री पक्का भइसकेका थिए । यसपछि कि प्रधानमन्त्रीले ‘मेरै लैजानु’ भनेको दौरा–सुरुवाल लगाउनु कि जस्तो छ, त्यस्तैमा शपथ खानुबाहेक विकल्प रहेन । तै, केही उपाय चलिहाल्छ कि भनेर शुरुमा बागबजारस्थित श्रेष्ठ टेलरिङको एक तलामाथि उक्लिए । आधाउधी पसल बन्द भइसकेको थियो । त्यसपछि बाङ्गेमुढा पुगेर रेडिमेड दौरा–सुरुवाल छान्न थाले, तुनावाला कालो जुत्ता पनि न्युरोडमा किन्न भ्याए ।

यसपछि कोठा पुगेर बल्ल निकटस्थलाई फोन हाने, ‘केपी सरले अचम्मैसँग मन्त्री होऊ भन्या’छन्, क्यार्नी हो…?’ तीन–चारजनासँग कुुरा गर्दा सबैले ‘जानुस्’ नै भने । यसपछि पूर्वएमालेका ‘स्टडी सेन्टर’ (घनश्यामहरुको अध्ययन केन्द्र) सँग सम्बन्धित कार्यकर्ता विश्लेषण गर्न थाले, यसरी सरकार र पार्टी नेतृत्वका पनि मुख्य आलोचकको रुपमा सार्वजनिक भएका उनलाई ‘जसरी पनि’ को शैलीमा मन्त्री बनाउनुको कारणबारे । उनीहरुको बुझाई छ, ‘सचिवालय बैठकले केपी पाँच वर्षकै लागि प्रधानमन्त्री हुने गरी प्रचण्डलाई कार्यकारी अध्यक्ष चलाउन भनेको छ । सरकार पाँच वर्षलाई चलाउने भनिसकेको र मुख्य आलोचक घनश्यामलाई सरकारमा लिएपछि एउटा ब्लक त मज्जैले चूप हुने भयो ।’

प्रतिक्रिया दिनुहोस !