टंक कवर
धनगढी ४ भदौ । कैलारी गाउँपालिका ६ का ५ बर्षीय बालकलाई अपहरण गरी काठमाडौ लैजादै गर्दा एक जना पक्राउ परेका छन् । सोमबार विहान ८ बजे आदर्श माविमा अध्ययनरत ५ बर्षीय बालक छेमाङ चौधरीको अपहरण भएको थियो ।
अपहरणपछि अपहरणकारीले छेमाङकी आमा बिना चौधरीलाई फोन गर्दै भोली बिहान काठमाडौ. बसपार्कमा भेट्न आउन, नभए छेमाङलाई मार्ने धम्की दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी बिनोद घिमिरेले बताए । अपहरणमा संग्लन गोदावरी नगरपालिका लालपुर हरैयाका बिर्जु चौधरीलाई भर्खरै प्रहरीले पक्राउ गरेको छ ।
अपहरणकारी र बालककी आमा विना चौधरीको लामो समयदेखि चिनाजान रहेको थियो । अपहरणकारीको फोनको लोकेशनको आधारणमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक घिमिरेले जानकारी दिए । फोनबाट जानकारी आइसकेपछि जिल्ला प्रहरी कार्यालयले सोमबार ११ बजे बच्चा अपहरणमा परेको जानकारी पाएको थियो ।
अपहरणकारीको फोनको लोकेशन आधारमा बाँकेको शमशेरगञ्जमा देखिएपछि प्रहरीले पुर्वपश्चिम राजमार्गमा खोजतलास बढाएपछि साझ ६ बजे पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !