टंक कुवर :
धनगढी– सामुहिक बलात्कारपछि हत्या गरिएकी माया विकको परिवारलाई प्रदेश मन्त्रीपरिषद बैठकले ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । असार १२ गते सामुहिक बलात्कारपछि हत्या गरिएकी विकको परिवारलाई आज मन्त्रीपरिषद बैठकले उक्त रकम दिने घोषणा गरेको हो ।
कैलालीको गौरीगंगा नगरपालिका–११ की २१ वर्षीया विकको असार १२ गते सामुहिक बलात्कारपछि हत्या गरिएको थियो । चौतर्फी विरोधपछि मन्त्रीपरिषद बैठकले दुईमहिनापछि परिवारलाई रकम उपलब्ध गराउने निर्णय गरेको हो । सामुहिक बलात्कार गरेर हत्यामा संलग्न पाँच जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले २२ गते पक्राउ गरेको थियो । १२ गतेदेखि हराएकी विकलाई १५ गते मृत अवस्थामा चपरथली सामुदायिक वनभित्र भेट्टाईएको थियो । त्यसै गरी बैठकले भीमदत्त नगरपालिका–२ की १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएपछि उनका परिवारलाई पाँचलाख तथा आन्दोलनका क्रममा ज्यान गुमाएका सोहि नगरपालिका–१८ का सन्नी खुनाको परिवारलाई पनि पाँच लाख रुपैयाँ दिने निर्णय यसअघि नै गरेको थियो ।
तीनवटै घटनाप्रति प्रदेश सरकारले सोमवार दुःख प्रकट गर्दै पन्तको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन महत्वपुर्ण भुमिका खेल्ने पनि बताएको छ । त्यसैगरी संघीय सरकारले पनि यस अघि कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी पन्त र आन्दोलनका क्रममा ज्यान गुमाएका खुनाका परिवारलाई १०÷१० लाख रुपैयाँ दिने घोषणा गरेको थियो । आन्दोलनमा ज्यान गुमाएका खुनालाई शहिद घोषणा गर्ने निर्णय पनि संघीय सरकारले गरेको छ । बलात्कारपछि हत्या गरिएकी पन्तको परिवारलाई राहत दिने तर विकको परिवारलाई कुनै राहत नै नदिने विषयमा चौतर्फी आलोचना भएपछि आज प्रदेश सरकारले यस्तो निर्णय गरेको प्रद्शसभा सांसद चुनकुमारी चौधरीले जानकारी दिइन ।
यस्तै गरी मन्त्रिपरिषदको बैंठकले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको प्रदेश ७ को सहकारी सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक २०७५ प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै बैंठकले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कृषि व्यवसाय सम्वन्धि व्यवस्था गर्न वनेको विधेयक, २०७५ तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रदेश निजामती सेवा पुरस्कार कार्यविधि, २०७५ स्वीकृत गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबादुर शाहले बताए ।