प्रदेश एक । इलाम पशुपतिनगरको भारतीय सीमा क्षेत्रमा अध्यागमन कार्यालय नहुँदा तेस्रो मुलुकका पर्यटक आउजाउ गर्न पाउँदैनन् । भारतीय पक्षले भन्सारसमेत नराखेकाले वस्तुको वैधानिक आयात निर्यात हुन सकेको छैन । तर, विराटनगरको जोगवनी नाका र झापाको काँकडभिट्टाभन्दा अगाडि छ पशुपतिनगर नाका मानव तस्करीको हिसाबले ।
भारतलगायत खाडीका विभिन्न मुलुकतिर अवैध रूपमा महिलालाई लैजान तस्करले पशुपतिनगरलाई सुरक्षित नाका बनाएका छन् । पशुपतिनगरआसपास साढे तीन सय बढी चोर बाटा छन् ।
माइती नेपालले एक नम्बर प्रदेशको विभिन्न नाकामा चार सय ७९ महिलालाई तस्करी हुनबाट रोकेको छ । पशुपतिनगर नाकामा एक सय ९५, काँकडभिट्टामा एक सय ४६ र जोगवनीमा एक सय २० महिलालाई रोकेर अविभावकको जिम्मा लगाइएको हो ।
प्रदेश १ का विभिन्न जिल्लाबाट दुई सय ११ महिला र बालबालिका हराएको निवेदन परेको छ । यति धेरै संख्यामा महिला र बालबालिका कता हराउँछन् ? भारतमै लगेर बेचिन्छन् या कहाँ जान्छन् ? कसैले गम्भीरता देखाएको देखिन्न । सीमामा प्रहरीको उपस्थिति कम भएकाले मानव बेचविखन बढ्दै गएको सरोकारवालाको भनाइ छ ।