बसन्त गिरी :
कपिलवस्तु , भदौ १५
कपिलवस्तुको निग्लीहवालाई प्रदेश नं. ५ कै नयाँ पर्यटकीय गन्तव्यको रुपमा छनौट गरिएको छ ।
पर्यटन मन्त्रालयले देशका ७ वटा प्रदेशका प्रमुख पर्यटकीय गन्तव्य विकास गर्ने उद्धेश्य अनुुसार प्रदेश ५ मा निग्लीहवा छनौटमा परेको हो । विश्व सिमसारमा सूचिकृत जगदीशपुर ताल, कनकमुनी बुद्धको जन्मस्थल, अशोक स्तम्भ र बुद्धकालिन संरचना सगरहवा ताल रहेको निग्लीहवालाई प्रदेश ५ कै नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकसित गरिने मन्त्रालयले जनाएको छ ।
संघीय सरकारले सरकारले सीमित क्षेत्रमा केन्द्रिकृत भएको पर्यटन गतिविधिलाई विस्तार गर्ने उद्देश्यका साथ सातवटै प्रदेशमा नयाँ पर्यटकीय गन्तव्य छनोट गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातै प्रदेशमा पर्नेगरी नमूना पर्यटन गन्तव्य पहिचान गरी पर्यटन विकास क्षेत्र निर्माणको गुरुयोजना तयार गरेको हो ।
पर्यटन मन्त्रालयले हालै सार्वजनिक गरेको प्रगति प्रतिवेदन अनुसार प्रदेश नं १ मा इलामको सन्दकपुर, प्रदेश नं २ मा धनुषाको धनुषाधाम, प्रदेश नं ३ मा मकवानपुरको कुलेखानी (इन्द्रसरोवर), गण्डकी प्रदेशमा कास्कीको पञ्चासे, प्रदेश नं ५ मा कपिलवस्तुको निग्लिहवा, कर्णाली प्रदेशमा मुगुको रारा र प्रदेश नं ७ मा कञ्चनपुरको भातगाउँलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने भएको छ ।
सरकारको चालु आवको बजेट र नीति तथा कार्यक्रममा परेको सो योजना कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाएको प्रति जिल्लाबासी हर्षित बनेका छन् । उहाँले नमूना पर्यटकीय गन्तव्य विकास गर्न निग्लीहवा छनौट हुनु समग्र जिल्लाको पर्यटन प्रर्बद्धन हुने जिल्लाबासीको भनाई छ । बर्षौ देखि ओझेलमा परेको कपिलवस्तुको पर्यटकीय क्षेत्रमा बल्ल केन्द्र सरकारको आखा परेकोमा आफुहरु आशावादी भएको पूर्व मन्त्री तथा सांसद वृजेश गुप्ताको भनाई छ । “यो प्रदेशको मात्र होइन देशकै प्रमुख पर्यटकीय गन्तव्य हो, अहिले सम्म विभिन्न कारणले तल परेको मात्रै हो” उहाले भन्नुभयो ।
पर्यटन मन्त्रालयले नयाँ गन्तव्य छनोट गरि आवश्यक कार्यान्वयनका लागि पर्यटन विभागलाई जिम्मेवारी दिइसकेको छ । पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले नमूना पर्यटकीय गन्तव्य विकासका लागि आवश्यक प्रक्रिया अघि बढाइएको बताउनुभएको छ । “सात प्रदेशमा पर्यटकीय गन्तव्य निर्माणका लागि गुरुयोजना बनिसकेको छ, अब टेण्डर प्रक्रिया अघि बढाउँछौँ” उहाले टेलिफोनमा भन्नुभयो । नमूना गन्तव्यका लागि ५ करोड रकम विनियोजन गरिएको छ।
निग्लीहवामा सबै भन्दा बढि आर्कषित गर्ने विश्व सिमसारमा सूचिकृत जगदीशपुर जलाशय क्षेत्र र निगलीहवा स्थित अशोक स्तम्भ रहेका छन् । ताल १५७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । शिचाई प्रयोजनको लागि निर्माण गरिएको उक्त तालमा अहिले २ सय बढि प्रजातीका चरा तथा जीवहरु पाइन्छन् । यसै गरि कनकमुनी बुद्धको जन्मस्थलको प्रमाणको रुपमा रहेको निग्लीहवा स्थित अशोक स्तम्भ अर्को महत्वपूर्ण क्षेत्र हो । निग्लीहवामा रहेका दर्जनौ बुद्धकालिन अवशेषहरु उत्खनन् गरिए यो देशकै उत्कृष्ट पर्यटकीय तथा धार्मिक गन्तव्य बन्ने कपिलवस्तु नगरपालिका वडा नं. ९ का अध्यक्ष शिव वाग्ले बताउनुहुन्छ ।