काठमाडौं । बेलायतका दक्षिण एसिया विभाग प्रमुख ग्यारेथ बेलीले अध्यक्ष प्रचण्डसँग आज बिहान भेटवार्ता गर्नुभएको छ । अध्यक्ष निवास खुमलटारमा भएको उक्त भेटमा नेपाल र बेलायतका बीच भएका सहयोग र सम्बन्धका बारेमा चर्चा भएको थियो ।

अध्यक्ष प्रचण्डले राजनीतिक परिर्वतन पश्चात देशमा आएको आर्थिक समृद्धि लहर र त्यसका आधारहरु बारे स्पष्ट पार्नुभएको थियो । उहाँले भन्नुभयो, ‘नेपालमा लामो समय पश्चात राजनीतिक स्थिरता कायम भएको छ, यो नै नेपालको आर्थिक विकासका लागि सबैभन्दा बलियो आधार हो ।’

अध्यक्षले नेपालमा जलविद्युतको प्रचुर सम्भावना भएको बताउनुहुँदै विश्वका धेरै लगानीकर्ताहरु यहाँ लगानी गर्न इच्छुक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी लगानीकर्ताको सुरक्षा र लगानीको ग्यारेन्टी गर्न योजना बनाईरहेका छौं ।’

पर्यटनको उत्तिकै सम्भावना भएको उल्लेख गर्दै दुई ठूला जनसंख्या भएका देशका पर्यटकको गन्तव्य पछिल्ला दिनमा नेपालमा बढ्दै गएको उहाँको भनाई थियो । अध्यक्षले भन्नुभयो, ‘पर्यटन क्षेत्रको विकासका लागि भौतिक पूर्वाधारको निर्माण हाम्रो पहिलो सर्त हो ।’

प्रतिक्रिया दिनुहोस !