
इन्दिरा चाम्लिग, बेल्जियम :
खाँदाखाँदा चौतारीको वरले मोटायौ
लाज छैन, जनताको करले मोटायौ
दैनिक युवाको लास भित्रिने देशमा
संवेदनाहीन टपराको दरले मोटायौ
भोकै गोठाला गाई, भैसी चराउँदा
तिमी घिउ, कुराउनी र तरले मोटायौ
धनले अघाएनौ मनले अघाउँनेमाझ
धनी भएर गरिबको भरले मोटायौ
अरू हिलोमा, आफू महंगो गाडीमा
सुविधा बटुल्ने नेताको थरले मोटायौ
खाँदाखाँदा चौतारीको वरले मोटायौ
लाज छैन, जनताको करले मोटायौ