माइकल मिलर
सांसद, न्यूर्योक राज्य, अमेरिका
अमेरिका आफैमा आप्रवासीको देश, त्यसमा पनि न्यूयोर्क नेपाली लगायत अन्य दक्षिण एसियाली समुदायका मानिसको घना आवादी भएको राज्य हो । एक अनौपचारिक तथ्यांकअनुसार न्यूयोर्कमा माात्र करिब ५० हजार नेपाली समुदायको बसोबास रहेको छ । सायद यहि तथ्यलाई मध्यनजर गर्दै त्यहाँका जनप्रतिनिधिहरुले नेपाली समुदायलाई लक्षित गरि विभिन्न योजनाहरु निर्माण गरेका हुन्छन् । प्रस्तुत छ, नेपाली भाषामा मोटर ड्राइभिगं लाइसेन्स र नेपाली सामुदायिक भवनकाबारे न्यूयोर्क राज्यका सांसद माइकल मिलरसंग समावेशी अनलाइनको लागि किरण मरहट्ठाले गरेको कुराकानी
तपाइँले नेपालीको लागी एक सामुदायिक भवन निर्माणको लागी संसदमा प्रस्ताव गर्नुभएको थियो, त्यो प्रस्ताव कहाँ पुग्यो ?
वास्तवमा यो संसदमा विधेयक होइन कि मैले रकम प्रस्ताव गरेको हुँ । यो पहिलो प्रकृया हो । तर हामीले यो विषयमा निरन्तर दवाब दिनु जरुरि छ । यसको प्रकृया लामो हुन्छ । सरकारबाट रकम निकासा हुन ४ वा ५ बर्षसम्म लाग्न सक्छ ।
तपाइलाइँ यो गर्न के कुराले प्रेरित गर्यो ?
मेरो क्षेत्र धेरै नेपाली बसोबास गर्ने क्षेत्र हो । रिजउड र यस वरपर बस्ने नेपाली समुदायका नेताहरुले यसबारेमा बारम्बार मसंग कुरा गरेका थिए । नेपाली समुदायको भाषा संस्कृतिको संरक्षणको लागि यो अति अपरिहार्य छ भन्नेबारेमा म आँफै पनि विश्वस्त भएर मैले पहल गरेको हँु ।
तपाइँको जिल्ला ठुलो संख्यामा नेपाली समुदायको बसोबास भएको क्षेत्र हो, नेपाली समुदायको बारेमा तपाइँको के धारणा छ ?
कुनै पनि व्यवसाय वा राजनीतिमा हामी मानिसलाइँ अध्ययन गरेर धेरै सिक्न सक्छौँ । समुदाय र मानिसहरुको बारेमा तपाइले अध्ययन गर्नु जरुरी पनि छ । मेरो विश्लेषणमा नेपालीहरु असल ह्ृदय भएका मानिसहरु हुन् जो सधै अरुलाइँ सहयोग गर्न तत्पर हुन्छन्, त्यो तपाइहरुको ह्ृदयमा छ । नेपालीहरु आफ्नो छरछिमेक र समुदायको विकास र उन्नतिको लागी सदा तत्पर हुन्छन् भन्ने कुरा मैले राम्रोसंग अनुभव गरेको छु । म के भन्न चाहन्छु भने नेपाली समुदायको प्रगतिको लागी केही गर्न पाउदा मलाई खुसी मिल्छ ।
एक अनुभवी र वरिष्ठ राजनीतिज्ञ तथा जनप्रतिनिीधिको हैसियतले दक्षिण एसियाली समुदायको लागी तपाइसंग कुनै विशेष कार्यक्रम छन् की ?
मैले विगत केहि बर्षदेखि नेपाली तथा दक्षिण एशियाली समुदायको हितमा धेरै विधेयकहरु पेश गरेँ र ती मध्ये धेरै पास पनि भए । उदाहरणको लागि हालैमात्र मैले मोटर लाइसेन्सको लागी नेपाली भाषामा प्रकृया गर्न पाउनुपर्ने विधेयक पेश गरेको छु । यसले न्यूयोर्क राज्यमा रहेका सबै नेपालीहरुमा उत्साह आएको छ । यो उनीहरुको मातृभाषाको पहिचानको सवालमा पनि गतिलो कदम हुनेछ । हामीले अन्य भाषाको लागि पनि पहल गरिरहेका छौँ । बंगाली र पंंंजाबी भाषालाई अस्पतालमा प्रयोग गर्ने विल पनि पेश गरेका छौँ । हामी मुस्लिम समुदायसंग पनि काम गरिरहेका छौँ ।
तपाईले नेपालीमा मोटर लाइसेन्सको प्रोसेस सम्बन्धी बिधेयकको कुरा गर्नुभयो, यो विधेयक पारित हुन कति समय लाग्ला ?
यो प्रस्ताव नेपाली समुदायका अगुवाबाट म कहाँ केहि हप्ता अगाडि मात्र आएको हो । मैले संसदमा यो विधेयक पेश पनि गरिसकेको छु । अब नेपाली समुदायको तर्फबाट ठुलो सहयोग चाहिन्छ । धेरै भन्दा धेरै मानिसको यो विधेयकमा हस्ताक्षर हुनु जरुरी छ । र, सदनमा पनि यो विलको बारेमा बहस हुने दिन ठुलो संख्यामा उपस्थित हुन म आग्रह गर्दछु । विधेयकको समर्थनमा जति धेरै मानिसको उपस्थिति देखाउन सकियो त्यति नै छिटो यो विधेयक पारित हुने सम्भावना हुन्छ ।
यसको लागी नेपाली समुदायले के गर्नुपर्छ ?
समुदायका मानिसको यसमा ठुलो भूमिका हुन्छ । आआफ्नो क्षेत्रका एसेम्बलि म्यानहरुलाई पत्र लेखेर यो बिधेयकमा सहयोग गर्ने अनुरोध गर्नुपर्छ । तब मात्र उनीहरुले सभामुखलाई यो बिधेयक अघि बढाउन अनुरोध गर्नेछन् । यहि सभामुखले धेरै मानिसको पिटिसन वा पत्र देखे भने विधेयक अघि बढाउने छन् र यो छिटो पारित हुने सम्भावना रहन्छ ।
मेरो विचारमा यो बिषयमा हिमालयन डेमोक्रेटिक क्लवको उद्घाटनको क्रममा पहिलो पटक गत फेबु्रअरीमा उठेको थियो, अब अरु कति समय कुर्नुपर्ला ?
यो मैले अनुमान गर्न सक्ने बिषय होइन । कुनै पनि बिधेयक पेश भएपछि कति समयमा पारित हुन्छन् भन्ने बारेमा कुनै खास समयसिमा छैन । यो सबै कुरा एसेम्बलि म्यानहरुको समर्थन र नेतृत्व क्षमतामा भरपर्छ । यसमा हामीलाई समुदायको सहयोग अति जरुरी हुन्छ ।
दक्षिण एशियाली समुदायको समाजिक तथा आर्थिक जीवन उकास्नका लागि तपाईको केहि योजनाहरु छन् भने बताइदिनुस न ।
हामीले मुख्य गरि न्यूनतम तलब निर्धारणमा धेरै काम गरेका छौँ । हाम्रो प्रयासबाट यो १५ डलर प्रतिघण्टामा पुगेको छ जुन राम्रो रकम हो । हामीले समुदायको कुनैपनि समस्या सुन्ने र त्यसलाई तत्कालै सम्बोधन गर्ने व्यवस्था गरेका छौँ । वास्तवमा हामीले कुनै निश्चित एक समुदायको मात्र भन्दा पनि समग्र जनताकोे हितमा काम गर्नुपर्ने हुन्छ ।
अमेरिकी राजनीतिको कुरा गर्दा दक्षिण एशियाली समुदायको ज्यादै न्यून सहभागीता रहेको देखिन्छ, त्यसलाइ प्रवर्धन गर्न तपाइको कुनै नीतिहरु छन् की ?
धेरै राम्रो प्रसंग उठाउनु भयो, यसको लागि उनीहरुले कहि न कहिबाट शुरु गर्नुपर्ने हुन्छ जसरी रिजउडका नेपालीहरुले हिमालयन डेमोक्रेटिक क्लब स्थापना गर्नुभयो । मेरो योजना सदैव उनीहरुलाई सहभागी गराउने र माथि लैजाने हुन्छ । कम्तिमा एक जना काउन्टि कमिटिमा हुनुपर्छ जुन निर्वाचित पद हो । तपाइको प्रतिनिधित्वले नै तपाइको समुदायको सरोकारलाई सम्बोधन गर्न सहयोग पुग्ने हो । जव तपाइँ सहभागी हुनुहुन्छ तब न माथि जानु हुन्छ । तपाइँ राजनीतिमा सहभागी हुनपनि चाहनु हुन्न अनि राष्टपति बन्न चाहनु हुन्छ, यो कुरा मिलेन ।
एक सिनियर राजनीतिकर्मीको हिसाबले नेपाल जस्तो नविन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकलाई तपाइ के सुझाव दिनुहुन्छ ?
जनताप्रति इमान्दार बन, सत्य बोल र आफुमा विश्वास गर । यदि तपाइँ राजनीति गर्दै हुनुहुन्छ भने जनताको सेवा तपाइको प्रमुख उद्देश्य हुनुपर्यो तब मात्र तपाइँ सफल हुनुहुन्छ तसर्थ म भन्न चाहन्छु, आफ्नो बारेमा होइन ती मानिसको बारेमा सोच जसलाई सहयोगको जरुरत छ ।
हामीले लोकतन्त्रलाई बलियो कसरी बनाउन सक्छौँ ?
उनीहरु आफैले यसलाई बलियो बनाउने हो । यसको लागि जनप्रतिनिधिहरुले जनतालाई सुन्दर जीवन दिन साधन श्रोतको पहिचान गर्नु जरुरी छ । यदि तपाई जनतालाई सुखी राख्ने प्रयासमा हुनुहुन्छ भने लोकतन्त्र पनि सम्मानित हुन्छ ।
माइक, मलाई विश्वास छ कि तपाई एक कुशल राजनीतिज्ञ हो, तपाईको राजनीतिक गन्तब्य के हो ?
मेरो गन्तब्य भन्नु नै विशाल न्यूयोर्कको डिष्ट्रिक ३८ को एसेम्बलिम्यान बन्नु हो । यो बाहेक मेरो अर्काे उद्देश्य छैन । म मेरो समुदायसंग काम गर्दा खुसी छु र सधै यहि समुदायसंग जोडिएर रहन चाहन्छु । मलाई अमेरिकाको राष्ट्रपति बन्न रहर छैन ।