डिल्लीराम अम्माई, बेल्जियम :
कुनै पनि क्षेत्रको बिकासक्रममा आफ्नै नियमहरुले काम गरिरहेको हुन्छ । मानव बिकासका विभिन्न चरणहरुमा पनि ति नियमहरु आफ्नै प्रकारले लागु भै रहेका हुन्छन । हामी जीवनको आदिमकालबाट कसरी एउटा निर्जीव तत्वहरुको समिश्रण तहदेखि सुक्ष्म जीव हुँदै दुई सुक्ष्म जीवको सामुहिक अन्तरघुलन प्रक्रियाबाट भु्रण र चेतनाबिहिन शिशुसम्म आइपुग्छौ ?
जीव बिकासको त्यहि प्रक्रिया तर फरक किसिमले समाज बिकासको विभिन्न चरणहरुमा लागु हुन्छ । यो बिकासक्रम सरल प्रक्रियाबाट गुज्रिदैन । त्यो अत्यन्त जटिल रुपमा, परस्पर आन्तरिक द्वन्दको कारणले आफ्नो स्वरुपलाई मात्रात्मकबाट गुणमा रुपान्तरण हुँदै जाने प्रक्रिया हा े। प्रकृतिको नियम, जीव बिकासको नियमभित्र रहेर अनुभवको संग्रहबाट चेतना बिकासको प्रक्रियाबाट गुज्रंदै बिपरितहरुबीच संघर्ष र एकता हुँदै आजको मानब बिकास सम्भब भएको हो ।
त्यसमा अलौकिक चेतनाले माथिबाट निर्देशित गरेको भन्ने पुराना दार्श्निकहरुले पदार्थको बिकासक्रमलाई बुझ्न तथा अनुभवजन्य ज्ञान र ज्ञानबाट निर्देशित बिकासक्रमलाई देख्न सकेका थिएनन ।
तर, १८ सौ सताब्दी पछि डार्विन ,एलेक्सिस डी टोकविले,विल्फ्रेडो परेटो, कार्ल मार्क्स, फ्रेडरिक एंगेल्स, लुडविग गम्प्लोविजÞ, फर्डिनेंड टोंनीजÞ, फ्लोरियन जेनिके, थोर्स्तेइन वेब्लेन, हरबर्ट स्पेन्सर, जा‘र्ज सिमेल, जार्ज हर्बर्ट मीड,, चार्ल्स कूले, वर्नर सोम्बर्ट, मैक्स वेबर, एंटोनियो ग्राम्सी, गार्गी ल्यूकास, वाल्टर बेंजामिन, थियोडोर डब्ल्यू. एडोर्नो, मैक्स होर्खेइमेर, रा‘बर्ट के. मेर्टोंन तथा टेल्कोट पार्सन्स लगायतका सामजसास्त्रीहरुले सामाज बिकासको अनुभबजन्य धारणालाई बिकास गर्न सफल भए।
उनीहरुले धार्मिक वक्ता वा पुराना दार्शनिकहरुको पूर्ण अनुशरण गरेनन । पुर्व व्यख्याहरुको समीक्षा मात्र गरे । त्यसलाई आफ्ना अनुसन्धान र अनुभवहरुको तराजुले तौले अव्यवहारिक मान्यताहरुको विकल्प दिदै जीव बिकास, मानब समाज बिकास, चेतना बिकास, सभ्यता बिकास र ब्रम्माण्डीय बिकासका नयाँ नयाँ प्रामाणिक तथ्यहरुको संग्रह गरे । मानब समाज बिकास कसैबाट निर्देशित नभएर स्वतःस्फुर्त अनुभव र संघर्षको परिणाम हो । डार्विनले भने झै मानबको निरन्तर सिकाई, अनुभब र संग्रहित व्यवहारिक ज्ञानको पुस्ता हस्तान्तरण र नयाँ पुस्ताको पनि निरन्तर मानसिक तथा सारीरिक अभ्यासहरुको गुणात्मक परिणाम हो अहिलेको मानब समाज ।
हाम्रो जिज्ञासु स्वभाव, छनोट कला, सुविधामुखी रुझान र ज्ञानको संग्रह गर्ने र व्यवहारिक संघर्षमा प्राकृतिक रुपमै अभ्यस्त क्षमताको कारण हाम्रा पुर्खाहरुझैं हामी गतिशील र अस्थिर छौं । हिजो हाम्रा पुर्खा अफ्रिका, इराक, सिन्ध, गङ्गा, मंगोलिया जस्ता आफ्ना अनगिन्ति सभ्यताको संघर्षका अनुभबहरु सहित नेपाल पसे । आज डार्विनले भनेझैं सजिलोगरी जिउनको लागि युरोप, अस्ट्रेलिया, अमेरिका लगायत सातै महादेशमा छरिएका छौं। । हाम्रा सांस्कृतिक बिशेषताहरु पनि हामीहरु जस्तै गतिशील र परिबर्तनशील छन् । कतिपय लिएर हिडेका छौं, कति छोड्यौं र छोड्ने क्रममा छौं ।
हाम्रा पहिचान पनि विश्व समुदायसंगको अन्तरघुलनले ठाउँ विशेष फरक हुँदै जान्छन । हामी जहाँ र जुन अवस्थामा छौं त्यही अवस्थामा हामी पछिको कुनै पुस्ता पनि रहने छैन । हाम्रो पहिचान समयको गतीसंगै फेरिदै जाने छ । नेपालको स्थानीय संस्कृतिमा पनि मात्रा हुँदै गुणात्मक फरक आउने छ ।
गतिको नियम अनुसार सबै कुरा परिबर्तन हुदै जानु स्वाभाविक र अपरिहार्य हो । त्यो परिबर्तनको मुख्य भूमिका दुई विपरित सभ्यताको अन्तरघुलित अवस्थामा हुने आन्तरिक संघर्ष वा एक फरक बलियो सभ्यताको कमजोर सभ्यता माथि पार्ने प्रभावले तय गर्दछ । त्यसभित्रका नकारात्मक संक्रिणता वा अपरिबर्तनिय जड तत्व स्वाभाविक रुपमा नासिएर जान्छन । मानब बिकास गतिको आफ्नै नियमले चले पनि त्यसमा बिद्यमान आन्तरिक तत्वहरुले महत्वपुर्ण प्रभाब पारिरहेको हुन्छ ।
अनुभवजन्य ज्ञानले काल्पनिक तथा थोपरिएको धार्मिक आदेशहरुमाथि अधिपत्य जमाउदै जाने कुरा नै समाज बिकासको अवस्थाले निर्धारण गरेको अन्तिम बाटो हो
।
बिकासक्रम जहिलेपनि सरलताबाट जटिलतातर्फ गइरहेको हुन्छ । जीवकै कुरा गरौँ । उत्पत्तिकालमा हामी सुक्ष्म हुन्छौं । आमाको गर्भासयमा पानीको फोकाभित्र बिकसित हुँदै जान्छौ । त्यो भन्दा अघिको चरणमा हाम्रा सुक्राणु र डिम्ब पनि पानीमा मात्र जीवित रहन सक्छन र एक कोषीय त्यो जिवाणु उसको बिकासक्रमको अवस्थासँगै जटिल बन्दै जान्छ । शारीरिक बिकास क्रमसंगै उसको मानसिक अवस्था पनि जटिल बन्दै जान्छ । त्यसैले बिकासक्रम सरलताबाट जटिलतर्फ जान्छ भनिएको हो । अहिलेसम्मको प्रमाणिक सत्य पनि त्यहि हो ।
बेल्जियमको बसाइको क्रममा हाम्रा सामाजिक अबधारणामा कसरी रुपान्तरण भैरहेको छ ? त्यसलाई बिचार गरौँ ।
सुरुको अवस्थामा हाम्रा स्वभावहरु अहिले जस्ता थिएनन । हाम्रा गतिबिधिहरु कमसेकम एउटै दिशामा केन्द्रित थिए । युरोपको नेपाली समाज बिकास प्रारम्भिक चरणमा थियो । आफु बाच्ने र स्थापित हुने सामुहिक अभ्यासमा हामी एक थियौं । त्यो अवस्थामा हाम्रो अन्तर संघर्ष आफु स्थापित हुँदै आय आर्जन गर्ने, आएको ऋण तिर्ने र परिवारको भरण पोषण गर्ने बाटोको खोजीमा स्थानीय र कानुनि निकायसंग थियो । नेपालमा भैरहेको गृहयुद्ध अर्को पाटो भएपनि मुलतः नेपालको संघर्षको समर्थन आँफु स्थापित हुनकोलागि नै थियो । त्यो कुरा क्रमश अहिलेसम्मका अभियन्ताहरुको ब्यबहारिक अनुभबले पुष्टि गर्दै आएको छ ।
नेपाली समाज अन्य युरोपमा झैँ बेल्जियममा स्थायी रुपमा स्थापित हुदै आएको छ । हाम्रा धेरै मान्यताहरु हाम्रो दोश्रो पुस्तामा पुग्ने छैनन् किनकि उनीहरुको दरिलो सांस्कृतिक पकड युरोपकै विशेषताभित्र रहने निश्चित छ । हामीले अर्को पुस्तालाई हस्तान्तरण गर्न खोजेका भाषा लगायत धेरै नेपाली विशेषताहरु केहि पुस्तापछि चाहेर पनि जिवित रहने छैनन् ।
संस्कृति पनि गतिकै नियम अनुसार रुपान्तरण हुदै जान्छ । द्वन्दको नियम अनुसार दुवै परस्पर संघर्षरत फरक बिशेषतासंगै लामो समय जिवित रहन सक्दैनन् । स्थानीय तथा बलियो संस्कृतिले सानो समुहको कमजोर संस्कृति खाइदिन्छ ।
त्यसो भन्दैमा परिवर्तनको दायराबाट यहाँको संस्कृति पनि अलग हुन सक्दैन । स्थानीय संस्कृति पनि मात्रात्मक रुपमा नयाँ विशेषतासहित परिमार्जित हुदै जान्छ । त्यसमा थोरै भएपनि संसारभरीबाट बेल्जियम आएका आप्रवासीका सांस्कृतिक हिस्सा थपिदै जान्छन र एक भिन्न संस्कृति बन्ने प्रक्रियामा यहाँको संस्कृति बगिरहन्छ। ।
हाम्रो अहिलेको चरण भनेको युरोपियन विशेषता सहित सांकृतिक ग्लोबलाइजेसनको चरण हो । हाल यो मात्रात्मक रुपमा रहेपनि बैज्ञानिक विशेषता सहित यो प्रक्रियाले केहि कालपछि नयाँ चरणमा प्रवेश गर्ने छ। शुरुवातकालका हाम्रा आनीबानी यहाँको विशेषतासंग अन्तरघुलित हुन मानिरहेका थिएनन । तर मनोगत रुपमा हामीले तुरुन्तै यहाँको विकृत यौन संस्कृतिसंग हार खायौं । त्यो बेला हामीले हाम्रा पारिबारिक सिमा मिचेका थियौं किन ? एउटै उत्तर हो हामी गफ भरिला र सुनौला गर्छौ तर संघर्षमा टिकीरहने आत्माबल कमजोर थियो ।
आफु एक्लै बस्दाको एकांकीपनले हाम्रो चारित्रिक अनुशासनको परिधिलाई एक्कासी मिचिदिएको भन्नु हुन्थ्यो त्यो बेला मित्रहरु । नेपालको बन्द सांकृतिक परिवेशबाट एक्कासी खुल्ला परिबेशमा आउदा हामीलाई झड्का लागेको थियो पनि भन्नु हुन्थ्यो कहिले । हामीमा त्यो झड्काले मानसिक उथलपुथल ल्याइदिएको थियो ’सरि’ भन्न पनि पछि पर्नु हुन्नथ्यो साथीहरु ।
देखेकै कुरा हो, अहिले सामाजिक अभियानका मार्गदर्शक बनेका कति अभियानकर्मीले त्यो बेला नेपालमा भएका आफ्ना परिवार, छोराछोरी र आफन्तको पनि पर्वाह गरेनौं । अहिले आँफुलाई सांकृतिक तपस्वी र महान अभियन्ता भन्न पछि नपरेका मित्रहरु कठिन अवस्थाको संयमताले नै अनुभवजन्य जीवनको मिठो संग्रहलाई निमन्त्रणा गर्ने हो, तितो अनुभब तितै हुन्छ भन्ने कुरा अहिले अनुभव हुँदो हो ।
यी सबै कुरालाई हामीले, सांकृतिक, सामाजिक अनुशासनको साथै नैतिक रुपमा परिपक्क थियौ वा छौ त हामीहरु ?’ भन्ने कुराहरुसंग जोडेर हेर्नु पर्छ ।
हाम्रो युरोपको संक्रमणकालमा हामीले हाम्रा मौलिक विशेषता र सांकृतिक पहिचानहरु अर्को पुस्तालाई हस्तान्तरण गर्ने हैसियत बनाएका छौं वा हामी नै असजिलो बेला सांकृतिकरुपमा धर्मराएका थियौं ? अबको पुस्ताले हामीबाट सिक्ने भनेकै हाम्रो जीवन्त त्यागपुर्ण संघर्षबाट हो, जसले उनीहरुलाई थप जिम्मेवारी र प्रेरणादायी बनाउन निरन्तर आत्मबल प्रदान गर्ने छ । समाज बिकासमा थोरै सकारात्मक योगदान पुर्याउनको लागि सानो हिस्सा हामी आफै पनि हौँ । हामीले भावी पुस्तालाई दुरुस्तै नेपाली संस्कृति हस्तान्तरण गर्न नसकेपनि आफ्नो संस्कार र संस्कृति चाहिं हस्तान्तरण गर्न सक्नुपर्छ ।