खिलबहादुर भण्डारी :
सिंहदरबारभित्र पश्चिमपट्टि छ गृहन्त्रालय । मन्त्रालय पश्चिममा भएपनि मोहडा भने पूर्व नै फर्किकएको छ । बास्तुशास्त्र अनुसार पूर्व मोहडा फर्किएको घर राम्रै मानिन्छ । तर बास्तुशास्त्रले राम्रो मानेर मात्र हुदोरहेनछ । जब त्यहाँ कोही पुग्छ नि, बास्तुशास्त्र नमिलेजस्तो, कुर्चिको ग्रहदशा विग्रिएको जस्तो आभास हुन्छ । गृहमन्त्री भएपछि गजवको सुविधा पनि पाइने, जीवनभर एकगाडी सुरक्षाकर्मी । अरुमन्त्री भएर यस्तो सुविधा पाइदैन । त्यसकारण एकचोटी मन्त्री हुनेहरु गृहमन्त्री बन्न खुब रहर गर्छन । अहिले गृहमन्त्रीमा चितवन भरतपुर घर भएका रामबहादुर थापा हुनुहुन्छ । उहाँ कामले होइन, ग्रह बलियो भएकोले केहीसमय अघि खुब लोकप्रिय हुनुभयो । आजकल त्यसको पारो तल तल झरिरहेको छ । हिजोसम्म आउँदा त निकै तल झरिसकेको छ ।
पंचायतकालका गृहमन्त्री, बहुदलकालका गृहमन्त्री, गणतन्त्रकालका गृहमन्त्रीका काम कार्वाही, रवाफ, पूmर्तिमा कुनै कमि छैन । एउटै मुद्धामा अदालतले छोड्न आदेश दिन्छ, गृहमन्त्रालय समात्न आदेशदिन्छ । प्रमाण पुग्दैन, अदालत छोड्छ, गृहमन्त्रालय प्रमाण बटुल्न फेरि समातिरहन्छ, पंचायत र बहुदन अनि तपाइँहरुले लडेर ल्याएको  गणतन्त्रले पनि त्यस्तै कर्म गरिरहने हो भने व्यवस्था किन फेर्न पर्यो र ? प्रकाण्ड यसैको गजवको उहाहरण हो । हिजो संगै कुमजोडेर जनयुद्धमा लागका साथीहरु आज एकजना गृहमन्त्री र अर्को जनवादको लागि अभियानमा जुटिरहदा पटक पटक समातिरहन पटक्कै सुहाउदैन रामबहादुर थापाज्यू । नैतिकता, स्वाभीमान, इमान्दारिता कूर्चिमा बस्नासाथ गायव भइहाल्छ ? कि दोष कूर्चिको हो ?
केही समय गृहमन्त्रीले नै सिण्डिकेट हटाको भनेर डंका पिटियो, मयुर यातायतले बनेपातिरको रुटमा गाडी नहालेको भए, अरनिको यातायातले नरोकेको भए वर्षौदेखि यो क्षेत्रमा भएको सिण्डिकेटको बारेमा न जनतालाई, न गृहमन्त्रीलाई यसको बारेमा थाहा हुन्थ्यो । गाडी किन्दा रुट समेत किन्नुपर्ने यातायात व्यवासायीको मर्का थाहा छैन, सकियो कि सकिएन । उनीहरुले अर्को मर्का र झंन्झन्ट भने व्यहोरिरहनु परेको छ । सडक दूर्घटना हुन्छ, मान्छे घाइते हुन्छन्, उपचार गर्ने पैसो हुदैन, सरकारले उनीहरुको पैसा रहेको खाता रोकेर राख्देको छ । गाडीको क्षति हुन्छ वर्कसपमा बनाएको पैसा तिर्न, क्षतिपुर्ति तिर्न दाम हुन्न, लफडा, झगडा परिरहेको छ ।
ग्राण्डी हस्पीटलकै रिपोर्ट भन्छ ः सडक दूर्घटनाको उपचार गरेकोे बील ५ करोड नाघिसक्यो तर व्यवसायीहरुले तिरिरहेका छैनन् । किनभने उनीहरुको लाखौ हैन, करोडौ रुपैयाँ रहेको बैंक एकाउण्ट रोक्का भएको छ ।
हिजोमात्र भिमदत्तमा गोली चल्यो, किशोरीको बलात्कारपछि हत्या भयो, घटनामा प्रहरी अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै प्रदर्शनमा उत्रिएका सर्वसाधरण जनतामाथि प्रहरीले गोली चलायो । गोली लागेर महेन्द्रनगर भगतपुरका १४ वर्षीय सन्नी खुनाको मृत्यु भयो । केहीदिन अघिदेखि त्यहाँ लफडा भइरहेको छ ।
पंचायतकालमा घुँडाभन्दा तल मात्र गोली हान्न आदेश थियो कानुनमा । तपाइँहरुले संविधानसभाबाट बनाएको त्यो कानुनलाई बदल्नु भयो कि जस्तो लागिरहेछ, किनभने गोली त सिधै छातीमा पो लागेर खुना भाइ ढले कंचनपुरमा ।
जनता बलात्कारी खोज्न, समात्न माग गर्दै सडकमा उत्रेको छन् । सरकार लाठी ठोक्दै खेदिरहेको छ । दमन गरिरहेको छ । हो, जनता सडकमा आउछन, जुलुस, धर्ना गर्छन, हिजो तपाइँ, हामी सबैले व्यवस्थै फाल्न पनि यस्ता जुलुस धर्ना, नेपालबन्द, जक्काजाम कति गर्यौं गर्यौ । संझना त पक्कै होला, कि विर्सनु भयो ? हिजोका पूर्व गृहमन्त्रीहरुले पनि गोली चलाउन निर्देशन दिए, चलाए, दर्जन मानिस मरे । गोलीका आँखा हुदैन भन्ने हिजोका पूर्वगृहमन्त्री र तपाई रामबहादुर गृहमन्त्रीमा के फरक भोर ? कूर्चि दोषी कि गृहमन्त्री दोषी ?
बुझ्नेलाई राम्रो संग थाहा छ, सिण्डिकेटको अन्त्यको जस मजाले तपाईले पाउनु भयो । पुन्पुरो बलियो भएपछि यस्तै हो, तर यो काम तपाईबाट फत्ते भएको होइन, नेपालीमा उखान छ नि, काम गर्ने कालु, मकै खाने भालु, हो कालेहरुले गरेको कामबाट मकै तपाइले खान पाएको मात्र हो ।
रुप राम्रो भएर हुदैन, व्यवहार राम्रो हुनुपर्छ । चिटिक्कको मान्छे तपाइँ, ढगं भने फिटिक्कै भएन । जुल्फी लर्काएर, ठाटिंएर मात्र दुनियाँ चल्दैन, हिजोको कमल थापा, खुमबहादुरहरु जस्तै तपाइको शैली हो भने तपाइँलाई रुसमा पढेको, माओवादी विचारबाट लैस भएको, अच्छा मान्छे भनेर इतिहासले भन्दैन, उही कमल थापाहरुको ड्यागंमा राख्नुपर्ने हुन्छ ।
हिजो विदेश जान लागेका तत्कालीन माओवादीका पूर्ववाल सैनिक लेनिन विष्टलाई विमानस्थलबाटै फिर्ता गरियो । अध्यागमनले सरकारसंग नसोधीकन जान लागको भनेर फिर्ता गरेको छ । माओवादी लडाकुको प्रमाणीकरणका क्रममा कम उमेरका कारण बहिर्गमनमा परेका विष्टलाई गृहमन्त्रालयको आदेशमा अध्यागमनबाट फिर्ता गरेको छ ।
विष्ट द्धन्द्धमा परेका युवाको सामाजिक संलग्नता कसरी बढाउन सकिन्छ भन्ने विषयमा बैककस्थित एशियन रिसर्च फाउण्डेसन भन्ने संस्थाले आयोजित कार्यक्रममा जान लागेका थिए । उनको स्वतन्त्र हिडडूल गर्न पाउने अधिकारमाथि किन बन्देज लगाइयो ? थाहा पाउन सकिएको छैन । यस्तो अन्यया किन गर्नुहुन्छ, विदेश तपाइँहरु मात्र जानुपर्ने हो र ? यस्तो अलोकप्रिय काम गर्न तपाइलाई कसले उकासी रहेको छ ?
आज माक्र्स, लेनिन बुढा भइरहेको भए तपाइँलाई कोर्रा हान्थे, कम्युनिष्टको बदनाम गर्नुभयो भनेर । कम्युनिष्ट, त्यसमा पनि जनयुद्धै लडेको एक योद्धा जो गृहमन्त्रीको कुर्चिमा आसिन हुनुहुन्छ, त्यो कुर्चिमा बसेर जे जे काम गरिरहनु भएको छ, तपाइँले सुहाउने काम गरिरहनु भएको छैन ।
अध्यागमनबाट फिर्ता गरिएका विष्टजीको भनाइ पढ्नु त एकपटक : “जसको लागि म लडेँ, उसैको सरकार भएको बेला मेरो हक खोस्ने ? यस्तो गर्न मिल्छ ?” हिजो तपाइँहरुकै लागि लडने योद्धादेखि किन तर्सनु भयो र बैंकक जान समेत बाटो छेक्नुभयो । यो सारै नहुने काम गर्नुुभयो । म स्वतन्त्र प्रेसको वकालत गर्ने एकजना पत्रकार हुँ, म हजुरलाई अनुरोध गर्छु गृहमन्त्रीज्यू यस्तो काम नगरिस्सोस । तपाईको लोकप्रियता हिजोआज घट्दै गएकोमा म पनि चिन्तित छु, तर मेरो चिन्ताले तपाईलाई छुन्न ।

प्रतिक्रिया दिनुहोस !