तनहुँ ११ भदौ
: पहाडकी रानी भनेर चिनिने बन्दिपुरमा पर्यटन तथा साँस्कृतिक महोत्सवको आयोजना गर्न लागेको छ । आयोजक समितिले सोमबार दमौलीमा पत्रकार सम्मेलन गरी यहि भदौ २२ र २३ गते दुई दिन पर्यटन तथा साँस्कृतिक महोत्सव २०७५ गर्न लागिएको जानकारी दिएको हो ।
उक्त महोत्सवको बन्दिपुर गाउँपालिका,बन्दिपुर युनेस्को क्लव, रोट्र्याक्ट अफ दमौली र ड्याप्स नेपालको संयुक्त आयोजनामा महोत्सव गर्न लागिएको हो । प्रकृति र संस्कृति अर्को पिढीको लागि संरुक्षण गरौ भन्ने मूल नाराका साथ बन्दिपुर क्षेत्रलाई पर्यटकीय हबको रुपमा विकास गर्न महोत्सवको आयोजना गरिएको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो ।
उक्त महोत्सवमा लाखे नाच, डोकोनाच,कौरा, र त्यौली, तीज गीत, देबी नाच झ्याउ गुरुङ संस्कृति,तामाङ सेलो, थारु नाच, गन्र्धव गीत, सोराठी र ठाडो भाका लगायतका स्थानीय साँस्कृतिक प्रस्तुति रहने अध्यक्ष थापाले बताउनुभयो ।
महोत्सवमा गीतकार बद्री पंगेनी, मरिष्का पौडेल, कृष्ण कँडेल, सुप्रिया कटुवाल, सुपरस्टार राजेश हमाल, गीतकार कृष्ण थापा, बलबीर थापा लगायतका राष्ट्रिय कलाकारहरुको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । महोत्सवमा जिल्लाका प्रतिनिधी सभाका सदस्य, प्रदेश सभाका सदस्य र १० वटै स्थानीय तहका प्रमुख उप्रमुखहरुको समेत सहभागिता गराइने सो अवसरमा जानकारी गराइएको थियो ।
त्यसैगरी विश्वकै ठुलो गुफा सिद्धगुफा भित्र टेबल टेनिस टुर्नामेन्ट खेल हुने बताइएको छ । महोत्सवमा करिब १८ लाख खर्च हुने र एक लाख बढि आन्तरिक एवं बाह्य पर्यटक भित्राउने लक्ष्य राखिएको बन्दिपुर युनेस्को क्लव क्लवका अध्यक्ष टिकाराम पनेरुले जानकारी दिनुभयो । पर्यटकीय एवं साँस्कृतिक क्षेत्रको उजागर गर्न महोत्सवले थप उर्जा दिने विश्वास आयोजक समितिले लिएको तनहुँ पर्यटन तथा साँस्कृतिक महोत्सवका प्रवक्ता बिष्णुकान्त घिमिरेले जानकारी दिनुभयो ।