दीपेन्द्र भण्डारी :
टीकापुर, ११ भाद्र÷कैलाली र बर्दिया जोड्ने कर्णाली नदीमा निर्मित पुल जोखिममा परेको छ ।
बर्दिया तर्फको पुलको भागमा कर्णाली नदीको कटान र पुलको पूर्वी भागमा प्वाल परेपछि पुल जोखिममा परेको हो ।
आइतबार पुल निर्माण कम्पनीका व्यक्तिहरु आएर पुल मर्मत शुरु गरेका छन् । पुल निर्माण कम्पनीका प्रदिप चापागाईले समावेशी अनलाइनसंगको कुराकानीमा भने–‘हामीले पुल नदी कटानमा छ भनी जानकारी पाए पछि मर्मत गर्न आएको हौ ।’ उनले भने–‘बर्षायाम पछि यसलाई व्यवस्थितरुपमा मर्मत गर्छौ ।’
३ वर्षअघि निर्माण सम्पन्न कर्णाली पुलको पूर्वी भागको तटबन्ध कमसल खालको भएका कारण उच्च जोखिममा परेको स्थानिय बासिन्दा बताउँछन् ।
पुलसँगै जोडिएको तटबन्धका जालीसहित ढुंगा कर्णाली नदीले बगाएको स्थानियले बताए ।
यस सम्बन्धमा टीकापुर उद्योग बाणिज्य संघका निवर्तमान महा सचिब धु्रबराज खत्रीले पुलको ७ सय मिटर अगाडी र पछाडी डबल ब्यान्डिङ जाली सहितको तटबन्धन नहुँदा नदी कटान नरोकिएको हो ।
जसको परिणाम स्वरुप पूर्व पट्टीको भागबाट कटानी भई पुल जोखिममा पर्न गएको र यसमा पुल निर्माण कम्पनीले अग्रिम शतर्कता नअपनाउदा यो समस्या सिर्जना भएको खत्रीले बताए ।
हुलाकी सडक संगै रहेको कर्णाली पुल करिब ४५ करोडको लागतमा निर्माण भएको थियो । पुलको लम्बाई ५ सय ३१ मिटर रहेको छ ।
कर्णालीको सतह बढेपछि पुललाई निकै क्षति पुग्ने स्थानिय गोपाल साउँद बताउँछन ।
कर्णाली नदीले टीकापुर नगरपालिका वडा नं. ८ श्रीलंकाको जमिन तिब्ररुपमा कटान गर्दै आएको छ । तटबन्ध अभावका कारण नदीले जमिन कटान गर्दै आएको हो ।
नदी कटानबाट बालाराम भण्डारीको करिब १ बिघा जग्गा कटान भई सकेको र कटान जारी रहेको स्थानियले बताए ।
यसैगरी बिष्णुदत्त उपाध्याय, गोपाल साउँद लगायत श्रीलंकाका थुपैको जमिन नदी कटानमा परेको छ र कटान जारी छ । नदी कटान तथा बढीको त्रासका कारण श्रीलंकाका बासिन्दाले २०४० सालदेखि लगातार बिस्थापित हुनु परेको थियो ।
बिस्थापित परिवार टीकापुर, लम्की, बौनिया, बचेला, रानीकुण्डा लगायतका ठाउँमा बसोबास गर्दे आएका छन ।
तस्विरः बर्दिया जिल्ला तर्फ पुलको किनारको भाग प्वाल परेको अवस्थामा ।