काठमाडौं । पूर्व लडाकु लेनिन विष्टलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले गृह मन्त्रीसंग २४ घण्टे स्पष्टिकरण साेधेका छन् । अाजकाे नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ । उनले गृह मन्त्री रामबहादुर थापालाई पूर्व लडाकु विष्टलाई विमानस्थलबाट फर्काउनुको कारण सहित २४ घण्टा भित्र लिखित स्पष्टिकरण दिन निर्देशन दिएका हुन् ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा गत असार २३ गते नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अपराधीलाई जस्तै गरेर फर्काइएको थियो ।

विमानस्थलबाट प्रहरीले कोइरालाई प्रधानमन्त्री निवास वालुवाटारमा आघा घण्टा राखेर बिदेश जान रोक लगाएको थियो । कोइरालाई बिमानस्थलबाट फर्काएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको तीव्र आलोचना भएको थियो । तर सोमवार प्रधानमन्त्री निवासमा सम्पदाकहरुको भेटघाटमा प्रधानमन्त्री ओलीले पूर्व लडाकु विष्टलाई बिमानस्थलबाट फर्काइएको घटनाको विषयमा गृह मन्त्रीसंग लिखित स्पष्टिकरण मागेको बताएका छन् ।

कार्यकारी प्रधानमन्त्रीले आफू मतहत रहेका निकायले गरेको काम कारवाहीप्रति चित्त नबुझेको अवस्थामा सिधै बोलाएर स्पष्टिकरण लिने अधिकार छ । प्रधानमन्त्री ओलीले उपकुलपति कोइरालाई बिमानस्थलबाट फर्काएको घटना सेलाउन नपाउदै पूर्व लडाकु विष्टलाई फर्काएको विषयमा भने असन्तुष्टि जनाएका छन् । पूर्व लडाकु बिष्ट प्रकरणमा प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापाबीच असमझदारी बढ्दै गएको छ ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारका हालका मन्त्रीहरु मध्ये गृहमन्त्री थापाले साढे ३३ किलो सुनकाण्डको उच्चस्तरीय छानबिन समिति गठन गरेर दोषीलाई कानुनी दायरमा ल्याउने काम गरेका थिए । गृह मन्त्रीकै पहलमा बर्षोदेखि यातायात क्षेत्रमा रहेको सिन्डिकेट हटाउने काम सम्पन्न भएको थियो भने काम नगर्ने ठेकेदारलाई कारवाही गर्न एक्सन लिएपछि बर्षोदेखि अलपत्र विकास निर्माणको कामले गति लिन शुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !