Bimstec

काठमाडौं–यही भदौ १४ र १५ गते हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चाैंथो शिखर सम्मेलनको तयारीका लागि सदस्य मुलुकका विदेश मन्त्रालयका सचिवहरू सम्मिलित वरिष्ठ अधिकारीको बैठक मङ्गलबार काठमाडौँमा बस्दैछ । बैठकमा सहभागी हुन सदस्य राष्ट्रका परराष्ट्र/विदेश मन्त्रालयका सचिव काठमाडौं आइपुगेका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार वरिष्ठ अधिकारीहरुको यो १९ औँ बैठक हो । बैठकमा शिखर सम्मेलनका सारभूत विषय, सिफारिस गर्ने विषयगत क्षेत्रगत र यस अघिका उपलब्धिको पुनरावलोकन तथा कार्यान्वयनको प्रगति समीक्षा सम्बन्धमा छलफल हुने मन्त्रालयले जनाएको छ ।

बैठकपछि भदौ १३ गते सदस्य राष्ट्रका परराष्ट्र÷विदेश मन्त्रिस्तरीय बैठक हुनेछ भने भदौ १४ र १५ गते राष्ट्राध्यक्ष÷सरकार प्रमुखको शिखर सम्मेलन हुनेछ । वरिष्ठ अधिकारीको बैठकले सुझावसहित प्रतिवेदन मन्त्रिस्तरीय बैठकमा पेश गर्नेछ ।

उक्त सुझावमाथि भदौ १३ गतेको मन्त्रिस्तरीय बैठकमा छलफल हुने छ । बैठकमा बिमस्टेकलाई प्रभावकारी र परिणाममुखी बनाउने, सहयोगका क्षेत्रलाई प्राथमिकताका आधारमा र समूहीकृत गर्ने, संस्थागत सुधार सुदृढिकरणलगायत विषयमा छलफल र परामर्श हुनेछ ।

त्यस्तै गृह मन्त्रालयका अनुसार बिमस्टेक सम्मेलनमा तीन सुरक्षा घेरा हुनेछ । सबैभन्दा भित्री घेरामा नेपाली सेना खटिनेछ । दोस्रो घेरामा नेपाल प्रहरी र तेस्रोमा सशस्त्र प्रहरीको सुरक्षा हुनेछ । राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर सिभिलमा तीनवटै घेरामा छरिएर रहन्छन् । सेना, प्रहरी र सशस्त्रका ‘इन्टेलिजेन्स’ टोली पनि सादा पोसाकमा खटिनेछन् । यसबाहेक भिभिआइपीले आफूसँगै ल्याउने सुरक्षाकर्मी पनि खटिनेछन् । उनीहरू हतियारसहित हुनेछन् । तर, नेपाली सुरक्षाकर्मीकै योजनाअनुसार परिचालित हुन्छन् ।

सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले बिमस्टेक सम्मेलनका लागि आवश्यक सुरक्षा प्रबन्ध पूरा भएको बताए । उनले भने, ‘भिभिआइपी र भिआइपीको सुरक्षा प्रबन्ध सेनाको कमान्डमा हुँदै आएको छ । यसपटक पनि सोही विधिअनुसार सुरक्षा प्रबन्ध मिलाइएको छ । यसको संयोजन भने गृह मन्त्रालयबाट भएको छ । सुरक्षा प्रबन्धका लागि कुनै कसर बाँकी राखिएको छैन ।’

महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख डिआइजी मनोज न्यौपानेले सुरक्षा घेरा तीनभन्दा अझ धेरै पनि हुन सक्ने बताए । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छापिएकाे छ । सम्मेलन अवधिभर सम्मेलनस्थल तथा भिभिआइपी आवागमन क्षेत्रमा सेनाले हवाई गस्ती गर्नेछ । सैनिक प्रवक्ता गोकुल भण्डारीले भने, ‘बिमस्टेक सम्मेलन अवधिभर हवाई प्याट्रोलिङ हुनेछ । विशेषगरी सम्मेलनस्थल तथा भिभिआइपी आवागमन गर्ने क्षेत्रमा हवाई गस्ती हुनेछ ।’

प्रतिक्रिया दिनुहोस !