टंक कुवर :
धनगढी । कैलालीे जिल्ला समन्वय समितिका प्रमुखले आफ्नो सम्पुर्ण पारिश्रमिक गरिव जेहेन्दार बालबालिकाकाको शिक्षाका लागि सहयोग गर्ने भएका छन् । समन्वय समितिका प्रमुख सुर्यबहादुर थापाले आफ्नो कार्यकाल अवधिभर पाउने सम्पुर्ण पारिश्रमिक उनीहरुको शिक्षाका लागि खर्चिने भएका हुन् ।
गरिब घरका एकसय बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने उद्देश्यले प्रमुख थापाले आफूले मासिक रुपमा पाउँदै आएको पारिश्रमिक खर्च गर्ने बताए । जिल्लाभरका जहाँसुकैका बालबालिका हुन् मैले एकसय जना बालबालिकाको शिक्षाका लागि खर्च गर्नेछु, थापाले भने ।
जिल्ला शिक्षा समितिका अध्यक्ष समेत रहेका प्रमुख थापाले बालबालिकाको खुद भर्नादर ९७ दशमलव ७ पुगेको तथ्यांकले देखाएकोले कैलालीमा विद्यालयको पहुँच भन्दा बाहिर र गरिव जेहेन्दार अझै धेरै बालबालिका रहेको बताए । प्रमुख थापाले जिल्ला शिक्षा तथा समन्वय इकाइ कैलालीबाट कार्यविधि बनाएर जिल्लाका १३ वटै स्थानीय तहसंग समन्वय गरि बिद्यालयमा रहेका र पढनवाट बाहिर रहेका बालबालिकाको शिक्षाका लागि खर्च गरिने थापाले बताए ।
प्रदेश ७ मा धेरै बालबालिका विद्यालयको पहुँचमा आउन नसकेको बताउँदै थापाले भने आर्थिक अभावका कारण विद्यालय जान नसकेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ । मैले कैलालीबाट सुरुवात गरेको छु, अन्य जनप्रतिनिधिहरुले पनि आफ्नो ठाउँबाट विद्यालय बाहिर रहेका गरिब घरका बालबालिकाहरुलाई शिक्षाको पहुँचमा ल्याउन पहल गर्नुपर्छ उनले भने ।
थापाले एकसय बालबालिकालाई विद्यालयमा भर्ना गरी प्रति बालबालिकालाई दैनिक रुपमा ३० रुपैयाँ खाजा खर्चको व्यवस्था पनि गरिएको जानकारी दिए । मंगलबार जिल्ला समन्वय समितिको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी प्रदेश ७ का सभामुख अर्जुनबहादुर थापाले बिद्यालय जान नसकेका बालबालिकालाई शैक्षिक सामग्री, जुत्ता, स्कुल ड्रेस, झोला वितरण गरे । कार्यक्रममा बोल्दै सभामुख थापाले समन्वय समितिका प्रमुख थापाले गरेको महान कार्यको प्रसंशा गर्दै विद्यालय बाहिर रहेका बालबालिका शिक्षाको पहुँचमा ल्याउन सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए । उनले प्रदेश ७ मा गरिबीका कारण विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन विशेष कार्यक्रम ल्याउनुपर्ने बताए ।