
आज शनिवार छुट्टीको दिन, पिउनेहरु गर्मीको महिना छ, चिसो वियर पिउने मेलोमेसोमा हुनुहोला । नपिउने बहुराष्ट्रिय कम्पनिले बनाएका कोल्डड्रिक्सको बोतल किन्दै हुनुहोला । त्यो पनि नभए कालो चिया, कालो कफी पक्कै पिउनुहोला । यो त शहरको कुरा भयो ।
गाउँमा भने कुरै अर्को छ । लोकल पिएर हैरान भएपछि, जाँड रक्सी सेवन गरि श्रीमति कुट्न थालेपछि, भएको सम्पति जाँडरक्सीमै फालेपछि कति सहनु । रुकुमका ग्रामीण महिलाहरु समूहमै मिलेर रक्सी फाल्ने अभियानमा लागेका छन् ।
गाउँका महिलाहरुको के काम गर्छन भन्ने प्रश्नको सहजै जवाफ आउन सक्छ, घाँसदाउरा, चुलोचौको लगायतका अन्य घरायसी कामकाज । यो प्रश्नको जवाफ पनि नेपालका धेरै ग्रामीण भेगका महिलाहरुमा लागु हुन सुक्छ तर रुकुमको एक गाउँका महिलाहरु भने यो संगै राज्यले गर्न नसकिरहेको सामाजिक काम गर्न पनि तम्सिएका छन् ।
घरेलु मदिरा उत्पादनलाई राज्यले गैरकानुनी भन्छ तर मदिरा उत्पादन रोकथाक गर्न भने राज्यको खासै चासो देखिदैन । तर रुकुम गरायला गाविसका महिलाहरु भने जाँड रक्सी खोजी खोजी नष्ट गर्ने अभियानमा छन् ।
गाविसको वडा नम्बर १ सिरचौरका महिलाहरु गाविसका घरघरमा पुगी छापा मारेर मदिरा नष्ट गरिरहेका छन् । मदिरा सेवन गरेर पुरषहरले गाउँघरमा होहल्ला, झैझगडा र महिला हिंसा गरेको, जाँड रक्सी खानमा घरमा आर्जन गरेको धनसम्पती सकेर घर चलाउन समस्या भएको र मदिरा सेवनकै कारण लडेर गाउँमा मानिसहरुको ज्यान जान थालेपछि महिलाहरु एकताबद्ध भएर घरघरमा छापा मारि घरेलु मदिरा नष्ट गर्ने अभियानमा जुटेका हुन ।
घट्ना अलि पुरानै हो । गाउँमा महिलाहरुको ठुलै लस्कर थियो ।
सयौंको संख्यामा आक्रमक ढंगबाट महिलाहरु घरघरमा पसेपछि गाउँका पुरुषहरु एताउता भागिरहेका थिए । बाटोमा हिड्ने मानिसहरु पनि कहाँ के भयो भनेर अलमलमा परेर अरु मान्छेलाई के भयो भन्दै बुझिरहेका थिए । गाउँमा कोलाहाल मच्चिरहेको थियो, घरघरमा महिलाहरु पुगेर खानतलासी गर्दै जाँड रक्सी भेटिएको घरमा तान्दै बाहिर पोखिरहेका थिए । त्यो सयौंको संख्यामा रहेको महिलाहरुको अभियानलाई नेतृत्व गरिरहेकी थिईन ६० बर्षीय बृद्धा भुमि पुन ।
पुरुषहरुले जाँड रक्सी खाएर महिलाहरुलाई थिचोमिचो र हिंसा गरेका कारण आफुले गाउँका सबै महिलाहरुलाई सहभागि गराएर जाँड रक्सी खोजीखोजी फाल्ने अभियान गरेको उनले बताईन । ‘हुन त म बुढी महिला हु, तर पनि गाउँमा महिलाहरु माथी जाँड रक्सी खाएर पुरुषहरुले गरेको अत्याचार हेर्न सकिन’ अभियानकी नेतृत्वकर्ता पुनले भनिन, ‘जाँड रक्सी खाएर पुरुषहरुले हिंसा गरेपछि सबै महिलाहरुलाई पिर प¥यो अनि सबै एकजुट भएर यो अभियानमा लाग्यौं ।’
उनका अनुसार गाउँघरमा जाँडरक्सीको ब्यापक सेवनले गाउँघरकी महिलाहरु मात्र पीडित छैनन, बालबालिकाहरुको मनोबिज्ञानमा पनि समस्या भएको छ भने बालबालिकाहरुलाई पठन पाठन गर्न देखि धरधन्दा चलाउन पनि धौ, धौ छ । द्धन्द्धकालमा माओबादीले जाँडरक्सी फाल्ने अभियान गरेर राम्रो काम गरेको स्मरण गर्दै उनले सभ्य समाज निर्माणका लागि यो अभियान निरन्तर गर्नुपर्ने आबश्यकता रहेको बताईन ।
‘घरमा छोराछोरीले कापीकलम किन्ने पैसा माग्दा र श्रीमतिले केहि घरखर्च माग्दा पुरुषले एक पैसा पनि दिदैनन, उनले भनिन, ‘आफुले रक्सी खानलाई जहाँबाट भएपनि पैसा खोज्ने, घरजग्गा बेचेर पनि जाँडरक्सी र जुवातास खेल्ने, हामी ठूलो मारमा परेर यो अभियान थालेका हौं ।’
गाउँमा मदिरा सेवनले महिला हिंसा, होहल्ला र झैझगडा मात्र भएको छैन बर्षेनी धेरै पुरुषहरुको अकालमै ज्यान समेत गईरहेको छ । घरकै मुलीको मृत्यु हुँदा महिला तथा बालबालिहरुका निकै प्रभाबित बनेका छन भने घरमा सिकाउने अभिभावक नहुँदा बालबालिकाहरु पनि कुलतमा फस्दै गएको अभियानमा संलग्न सरला बिक बताउछिन । ‘मदिरा सेवनका कारण लडेर हाम्रो गाउँमा यो बर्ष ४ जनाको ज्यान गैसकेको छ’ बिकले भनिन ।
‘हामीले प्रहरीलाई पनि गाउँमा उत्पादन भएको मदिरा फाल्न र सचेतना फैलाईदिन धेरै पटक अनुरोध गर्यौं, ‘सानोतिनो प्रयास त गरे तर बिचरा ८÷१० जना प्रहरीले के गर्न सक्नु र, त्यहि भएर हामी सयौंका संख्यामा महिलाहरु एकजुट भएर मदिरा खोजी नष्ट गर्ने अभियानमा लागेका हौं, प्रहरीले पनि सक्दो सहयोग गरिरहेको छ ।’ उनका अनुसार यो अभियानमा करिब ५ सय महिलाहरु आबद्ध रहेका छन् भने क्रमशः बिभिन्न वडाहरुमा अभियान थालिने छ ।
घरघरमा गई महिलाहरुले गाउँमा उत्पादन भएको करिब २ सय लिटर महिरा समेत पोखेर नष्ट गरिदिएका छन भने बजारमा अनुमति लिएर राखिएको मदिरा पसलहरुलाई समेत सचेत गराईएको छ ।
गरायला ३ पेदिबजार स्थित अनुमति लिएर राखिएका मदिरा पसलहरुलाई पनि होटल तथा सम्बन्धित पसल भित्र मात्र सेवन गर्न दिन र किनेर बाहिर लैजान नदिन समेत उनीहरुले अनुरोध गरेका छन । ‘पसलमा राखेका रक्सीहरु पनि फाल्ने योजना बनाएका थियौ’ अभियानको नेतृत्व गरिरहेकी पुनले भनिन, ‘यो त अनुमति लिएको हो, यसलाई फाल्न मिल्दैन भन्दै प्रहरीले फाल्न दिएन ।’ घरघरमा गई जाँड रक्सी फाल्ने महिलाहरुको अभियानलाई नियमित मदिरा सेवन गर्ने र त्यसकै व्यवसाय गर्ने पुरुषहरु रुष्ट भएपनि अन्य पुरषहरु भने महिलाहरुले गरेको यो काम स्वागत योग्य रहेको प्रतिक्रिया दिएका छन ।
स्थानीय अलबहादुर पुन महिलाहरुले चालेको यो कदम निकै राम्रो र निरन्तर गर्नुपर्ने अभियान रहेको बताउछन । ‘साँच्चीकै भन्नुपर्ने हो भने त यो अभियान हामी पुरुषहरुले नै गर्नुपर्ने हो । तर एउटा पुरुषले मात्र गरेर झगडाको बिउ मात्र हुन्छ’ उनले भने, ‘महिलाहरुको जस्तो पुरुष एकता छैन किनभने नखाने भन्दा यहाँ खाने पुरुषहरु धेरै छन, महिलाहरुको यो अभियानले केहि हदसम्म मदिरा उत्पादन तथा सेवन नियन्त्रणमा आउने आशा राखेको छु ।’