काठमाडौँ, १७ भदौ ः यती एयरलाइन्सको विमान दुर्घटनाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ११ घण्टादेखि बन्द रहेको छ ।

नेपालगञ्जबाट २१ यात्रु बोकेर काठमाडौँ आइपुगेको यतीको कलसाइन नाइन एन एएचडब्लुको जेट स्ट्रिम विमान गए राति अवतरणको क्रममा धावनमार्गमा चिप्लिएको थियो । शनिबार राति ८ः३० बजे भएको उक्त घटनापछि विमानस्थल अवरुद्ध थियो । दुर्घटनामा कुनै मानवीय क्षति भएन ।

घाँसे मैदानमा धस्सिएको विमानलाई नेपाल नागरिक उड्डयन प्राधिकरण, यती एयरलाइन्सका प्राविधिकलगायतको टोलीले तानेर रनवेतर्फ लगिसकेको विमानस्थल कार्यालयले जनाएको छ ।

केहीबेरमा सञ्चालनमा आउने

अवरुद्ध विमानस्थल केहीबेरमै सञ्चालनमा आउने भएको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार प्राधिकरण, विमानस्थलको फायर फाइटिङका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतको संयुक्त टोलीले लगातारको प्रयासपछि विमानलाई अहिले धावनमार्गबाट पार्किङतर्फ लगिएको छ । सरसफाइपछि अबको २० मिनेटभित्र विमानस्थल सञ्चालनमा आउने उहाँको भनाइ छ ।

अवरुद्ध विमानस्थल अबको केहीबेरमा पुनः सञ्चालनमा आउने विमानस्थलका प्रमुख एयर ट्राफिक कन्ट्रोलर अफिसर सीताराम भण्डारीले जानकारी दिनुभयो । विमानस्थलबाट गए रातिदेखि नै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द भएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस !