अञ्जली थापा

हेटौंडा, प्रदेश नम्बर ३ को सभामुख, विपक्षीदलका नेता, सत्तापक्षको मुख्य सचेतक, समितिका सभापति, विपक्षीदलका प्रमुख सचेतक, दलका प्रमुख सचेतक, सत्तापक्षको सचेतक, विपक्षीदलका सचेतक र प्रदेशसभा सदस्यहरुको पारिश्रमिक निर्धारण भएको छ । प्रदेशसभाको बैठकले पारिश्रमिक निर्धारण गरेको हो ।

तीन नम्बर सभाको सभामुखलाई मासिक पारिश्रमिक (तलब) ५३ हजार, उपसभामुख र विपक्षी दलको नेताको ५० हजार प्रस्ताव गरिएको छ । प्रदेश नम्बर ३ को प्रदेशसभाको आज बसेको बैठकमा सत्तापक्षको मुख्य सचेतक, समितिका सभापति र विपक्षी दलका प्रमुख सचेतकको ४९ हजार, दलका प्रमुख सचेतक, सत्तापक्षको सचेतक र विपक्षी दलका सचेतकको ४७ हजार र प्रदेश सभा सदस्य (सांसद)को ४५ हजार प्रस्ताव गरिएको छ ।

प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक २०७४ माथि प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेलले पेश गर्नुभएको प्रतिवेदनमा अन्य सुविधाहरु समेत थप गरी प्रस्ताव गरिएको छ ।

सभामुखलाई मासिक रुपमा पारिश्रमिक ५३ हजार, अतिथि सत्कार १० हजार, सञ्चार सुविधा ५ हजार, निजी सचिवालय २ हजार गरि न्यूनतम ७० हजार पाउने भएका छन् । त्यसका साथै आवास, सवारी साधन र फर्निचरसहित सभामुखले बैठक भत्ता प्रतिदिन १ हजार, भ्रमणभत्ता प्रतिदिन २ हजार ५ सय, सवारी ईन्धन मासिक १ सय ५० लिटर, मोविल त्रैमासिक १० लिटर, बिजुली, धाराको बिल अनुसार, विदेश भ्रमण भत्ता प्रतिदिन २ सय अमेरिकी डलर र यात्रा विमा १० लाखको रहने पनि प्रस्ताव गरिएको छ ।

उपसभामुखलाई मासिक रुपमा पारिश्रमिक ५० हजार, अतिथि सत्कार ५ हजार, सञ्चार सुविधा ३ हजार, निजी सचिवालय १ हजार ७ सय ५० गरि कम्तीमा ५९ हजार ७ सय ५० रुपैंया पाउने भएका छन् । आवास, सवारी साधनसहित उपसभामुखले बैठक भत्ता प्रतिदिन १ हजार, भ्रमणभत्ता प्रतिदिन २ हजार, सवारी ईन्धन मासिक १ सय २५ लिटर, मोविल त्रैमासिक ५ लिटर, बिजुली, धाराको बिल अनुसार, फर्निचर ५० हजार, विदेश भ्रमण भत्ता प्रतिदिन १ सय ७५ अमेरिकी डलर र यात्रा विमा १० लाख पनि रहने प्रस्ताव गरिएको छ ।

त्यस्तै, विपक्षी दलको नेतालाई मासिक रुपमा पारिश्रमिक ५० हजार, अतिथि सत्कार ४ हजार, सञ्चार सुविधा २ हजार, निजी सचिवालय १ हजार ७ सय ५० गरि कम्तीमा ५७ हजार ७ सय ५० रुपैंया पाउने भएका छन् । सवारी साधनसहित विपक्षी दलको नेताले बैठक भत्ता प्रतिदिन १ हजार, भ्रमणभत्ता प्रतिदिन २ हजार, सवारी ईन्धन मासिक १ सय २५ लिटर, मोविल त्रैमासिक ५ लिटर, बिजुली, धारा मासिक २ हजार, आवास सुविधा २५ हजार, फर्निचर ५० हजार, विदेश भ्रमण भत्ता प्रतिदिन १ सय ७५ अमेरिकी डलर र यात्रा विमा १० लाख पनि रहने प्रस्ताव गरिएको छ ।

सत्तापक्षको मुख्य सचेतक, समितिका सभापति र विपक्षी दलका प्रमुख सचेतकले जनही मासिक रुपमा पारिश्रमिक ४९ हजार, अतिथी सत्कार ३ हजार, सञ्चार सुविधा २ हजार, निजी सचिवालय १ हजार ७ सय ५० गरि कम्तीमा ५५ हजार ७ सय ५० रुपैंया पाउने भएका छन् । त्यस्तै, सवारी साधनसहित सत्तापक्षको मुख्य सचेतक, समितिका सभापति र विपक्षी दलका प्रमुख सचेतकले बैठक भत्ता प्रतिदिन १ हजार, भ्रमणभत्ता प्रतिदिन २ हजार, सवारी ईन्धन मासिक १ सय २५ लिटर, मोविल त्रैमासिक ५ लिटर, बिजुली, धारा मासिक २ हजार, आवास सुविधा २५ हजार, फर्निचर ५० हजार, विदेश भ्रमण भत्ता प्रतिदिन १ सय ७५ अमेरिकी डलर र यात्रा विमा १० लाख पनि रहने प्रस्ताव गरिएको छ ।

प्रदेश सभाका दलका प्रमुख सचेतक, सत्तापक्षको सचेतक र विपक्षी दलका सचेतकले जनही मासिक पारिश्रमिक ४७ हजार, अतिथी सत्कार ३ हजार, सञ्चार सुविधा १ हजार ५ सय, निजी सचिवालय १ हजार २ सय गरि कम्तीमा ५२ हजार ७ सय रुपैंया पाउने भएका छन् ।
त्यस्तै, सवारी साधनसहित सत्तापक्षको मुख्य सचेतक, समितिका सभापती र विपक्षी दलका प्रमुख सचेतकले बैठक भत्ता प्रतिदिन १ हजार, भ्रमणभत्ता प्रतिदिन २ हजार, सवारी ईन्धन मासिक १ सय २५ लिटर, मोविल त्रैमासिक ५ लिटर, बिजुली, धारा मासिक २ हजार, आवास सुविधा १५ हजार, फर्निचर ५० हजार, विदेश भ्रमण भत्ता प्रतिदिन १ सय ७५ अमेरिकी डलर र यात्रा विमा १० लाख पनि रहने प्रस्ताव गरिएको छ ।

प्रदेश सभा सदस्य(सांसद)ले जनही मासिक पारिश्रमिक ४५ हजार, अतिथी सत्कार ३ हजार, सञ्चार सुविधा १ हजार ५ सय गरि कम्तीमा ४९ हजार ५ सय रुपैंया पाउने भएका छन् । त्यस्तै, प्रदेश सांसदले बैठक भत्ता प्रतिदिन १ हजार, भ्रमणभत्ता प्रतिदिन २ हजार, बिजुली, धारा मासिक २ हजार, आवास सुविधा १५ हजार, फर्निचर ५० हजार, विदेश भ्रमण भत्ता प्रतिदिन १ सय ७५ अमेरिकी डलर र यात्रा विमा १० लाख पनि रहने प्रस्ताव गरिएको छ ।

सवारी साधनको सुविधाको व्यबस्था नगरिएकाले प्रदेश सांसदले प्रतिदिन १ हजार रुपैंया पाउने व्यबस्था गरिएको छ भने प्रदेश सभा सचिवालय भएको स्थानमा घर भएका सांसदले भने आवास सुविधाको आधा रकम अर्थात् ७ हजार ५ सय रुपैंया मात्र घर मर्मत सुविधा पाउने प्रस्ताव समेत गरिएको छ ।
साथै सभामुखलाई स्वकीय सचिवको रुपमा उपसचिव, शाखा अधिकृत, कम्प्यूटर अपरेटर, कार्यालय सहयोगी १–१ जना र हलुका सवारी सवारी चालक २ जनाको प्रस्ताव गरिएको छ । उपसभामुख र विपक्षी दलको नेतालाई स्वकीय सचिवको रुपमा नायब सुव्वा, कम्प्यूटर अपरेटर, कार्यालय सहयोगी र हलुका सवारी सवारी चालक १–१ जनाको सुविधा प्रस्ताव गरिएको छ । त्यस्तै, सत्तापक्षको मुख्य सचेतक, समितिका सभापति, विपक्षी दलका प्रमुख सचेतक, दलका प्रमुख सचेतक, सत्तापक्षको सचेतक र विपक्षी दलका सचेतकलाई जनही स्वकीय सचिवको रुपमा नायब सुव्वा र हलुका सवारी सवारी चालक १–१ जनाको सुविधा दिने तयारी गरिएको छ भने प्रदेश सभा सदस्य(सांसद)का लागि एक जना नायब सुव्वास्तरको स्वकीय सचिव राख्न पाउने प्रस्ताव गरिएको छ ।

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहालले प्रदेशको दुग्ध विकास बोर्ड स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक २०७५ माथि समितिले तयार गरेको प्रतिबेदन आईतबारै प्रदेश सभा बैठकमा पेश गर्नुभएको थियो ।
३ विधेयक छलफलका लागि विधेयक समितिमा

३ नम्बर प्रदेश सभाको आजकोे बैठकले ३ विधेयकलाई दफावार छलफलका लागि विधेयक समितिमा पठाउने सर्वसहमत निर्णय गरेको छ । बैठकले प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले प्रस्तुत गर्नुभएकोे प्रदेश संस्था दर्ता सम्बन्धमा कानूनी व्यवस्था गन बनेको विधेयक र प्रदेश प्रकोप व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तथा सामाजिक विकास मन्त्री युवराज दुलालले प्रस्तुत गरेको प्रदेश स्वास्थ्य सेवा सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक २०७५ लाई सर्वसहमत रुपमा दफावार छलफलका समितिमा पठाएको हो ।

प्रतिक्रिया दिनुहोस !