दीपेन्द्र भण्डारी :

टीकापुर, १८ भाद्र÷टीकापुर नगरपालिका वडा नं. ७ मा डल्फिन अवलोकन भ्रमण तथा डल्फिन उत्सव २०७५ सोमवार सम्पन्न गरिएको छ । टीकापुर नगरपालिका, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाको संयुक्त आयोजनामा सो कार्यक्रम भएको हो । कार्यक्रममा नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारी प्रमूख अतिथी रहेका थिए ।

प्रमूख अतिथि अधिकारीले यो क्षेत्रलाई डल्फिन क्षेत्रको हिसाबमा विकास गर्दै २ वर्षमा यो ठाउँको मुहार फेरिने बताए । यो क्षेत्रलाई डल्फिन संरक्षण क्षेत्रकोरुपमा अगाडी बढाउने समेत मन्त्री अधिकारीले बताए ।

खक्रौला भन्सारको स्तर उन्नती भएर मूल भन्सार भइ सकेकोले अब तत्काल लम्की खक्रौला सडक खण्डलाई ४ लेन सडक निर्माणको लागि पहल गर्न स्थानीयलाई आग्रह गरे ।

द्वन्द्व पश्चात बन्द अवस्थामा रहेको टीकापुर क्षेत्रको विकासको लागि टीकापुरको विमानस्थल संचालनको लागि समेत सरकारले अध्ययन गरिरहेको बताए । साथै उनले चाँडै टीकापुर विमानस्थल समेत संचालनमा ल्याइने बताए ।

छिमेकी मुलुक भारतका नजिकका पर्यटकीय क्षेत्रहरु र नेपालभित्रका अन्य पर्यटकीय क्षेत्रहरुसँग जोडेर एउटा सर्किट निर्माण गर्नुपर्ने भन्दै उनले टीकापुर ७ सत्तिस्थित पद्म प्रकाशेश्वर महादेव मन्दिर भएर भारतबाट मानसरोवर सम्मको यात्रा गर्ने पुरानो ऐतिहासिक पदयात्राको बाटो खोल्न भारत सरकारसँग छलफल अगाडि बढाउने समेत बताए ।

कार्यक्रममा डल्फिन संरक्षणको क्षेत्रमा विशेष योगदान पु¥याएको भन्दै बेलायती नागरिक मिष्टर जोन, स्थानीय संरक्षणकर्मी भोजराज श्रेष्ठ, गायिका एवम् संचारकर्मी चाँदनी मल्ल र त्रि.वि. का प्रोफेसर डा. मुकेश चालिसेलाई सम्मान पत्र सहित सम्मान गरिएको छ ।

जिल्ला समन्वय समिति कैलालीका संयोजक सूर्यबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा संघीय सांसद झपट बहादुर रावल विशिष्ट अतिथि रहेका थिए ।

टीकापुर नगरपालिका नगर प्रमुख तपेन्द्र बहादुर रावलले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन टीकापुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धु्रवराज आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !