इटहरी, २० भदौ : इटहरी उपमहानगरपालिकाले सडक सुशासन कायय राख्ने उद्देश्यले आजदेखि आफ्नो उपमहानगरपालिका क्षेत्रमा परेका पूर्वपश्चिम राजमार्ग क्षेत्रको अतिक्रमण एवं अव्यवस्थित पार्किङ क्षेत्र व्यवस्थापन कार्यको प्रारम्भ गरेको छ ।

यही भदौको पहिलो सातादेखि नै सडक अतिक्रमण भएका स्थानलाई खाली गर्ने तथा अव्यवस्थिति बजारलाई व्यवस्थित गर्ने तथा पुराना सवारी साधन सडक आसपासमा जथाभावी राखेर सडक अव्यवस्थित तुल्याउने कार्यको अन्त्य गर्ने उद्देश्यले गठित सर्वपक्षीय समितिको बैठकले दिएको प्रतिवेदन मुताविक उपमहानगरपालिकाले आजबाट सडक अमितक्रमण हटाउन थालेको हो ।

इटहरी उपमहानगरपालिकाले पूर्वपट्टिको सीमा बुढीगङ्गा क्षेत्रबाट सडक अतिक्रमण गरी राखिएको भौतिक पूर्वाधार निर्माण सामग्रीसँगै अन्य अव्यवस्थित थोत्रा सवारी साधन वा सडकमा देखिएको अव्यवस्थित फुटपाथ पसल आदि सबैलाई हटाउन थालेको हो । पहिलो चरणमा पूर्वपश्चिम राजमार्गलाई साढे ८२ फुट कायम गरी सकेपछि उक्त अभियान उत्तर दक्षिण कोशी राजमार्ग क्षेत्रमा पनि प्रारम्भ गर्ने उपमहानगरपालिकाले निर्णय गरेको कार्यदलका संयोजक एवं ६ का वडा अध्यक्ष दीपक गौतमले जानकारी दिनुभयो ।

महानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी, उपप्रमुख लक्ष्मी गौतम, प्रमुख प्रशासकीय अधिकृत छवि रिजाललगायत निर्वाचित वडा अध्यक्ष, विभिन्न राजनीतिक दलका प्रतिनिधि, कार्यदलका सदस्यसहित ठूलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र उपमहानगरकाका सुरक्षाकर्मीसमेत उक्त कार्यमा परिचालित भएका थिए ।

डोजर, लोडर र ट्रकसहितको सडक सुशासन कायम राख्ने अभियान टोलीले लामो समयदेखि सडक अतिक्रमण हटाइ सडक सुशासन कायम गर्न गरेको आग्रहलाई अटेर गर्नेले राखेका सामग्री उठाएर सडक सफा गर्ने कार्यसमेत थालिएको छ ।

उक्त अवसरमा मजदुर नेता गौरी लामा उद्योग वाणिज्य सङ्घ इटहरीका वरिष्ठ उपाध्यक्ष शैलेश विष्ट, व्यवसायी गणेश कोइरालालगायत सर्वसाधारणले सडक सुशासनका लागि उपमहानगरपालिकाले चालेको कदम प्रशंसनीय रहेको प्रतिक्रिया दिँदै उहाँहरुले बजार क्षेत्रको भित्री सडकलाई पनि मापदण्डबमोजिम खाली गर्न जरुरी रहेकामा जोड दिनुभएको थियो ।

सडक अतिक्रमण वा अव्यवस्थित उपयोगलाई व्यवस्थित तुल्याउन परिचालिन अभियानमा संलग्न टोलीले पूर्वपश्चिम राजमार्गको दुवैतिर तोकिएको मापदण्डभित्र राखिएका निर्माण सामग्रीसहित फुटपाथ बजारका ठेला रिक्सा आदिसमेत हटाउने अभियानलाई जोड दिँदै उपमहानगरपालिका क्षेत्रका सडकको निश्चिम क्षेत्रलाई मात्र सवारी पार्किङका लागि अनुमति निर्धाण गरेको सूचनासमेत सार्वजनिक गरेर उक्त स्थानबाहेक अन्यत्र पार्किङ निशेध गरेकोसमेत सर्वसाधारणलाई सूचीत गरेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस !