धेरै वर्षदेखि आफूकहाँ राखिएको मान्छेलाई कामबाट निकाल्नुस्, भएभरको श्रीसम्पत्ति आफ्नो बनाएर हिँड््छ † यस्तै एकजना चोरमाथिका चण्डाल फेला परेपछि कम्पनी रजिष्ट्रार कार्यालयका चारसहित गिरोहका १२ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युुरो (सिआइबी) ले पक्राउ गरेको छ ।
पीडित हुन्, एकजना मारवाडी । व्यापार–व्यवसाय सबै नेपालमा, तर नागरिकता नभएका । व्यापार सुकेर चल–अचल सम्पत्तिसहित ७० करोडका मालिक थिए । त्यसअघि उनीसँग करिव तीन सय करोडको चल–अचल सम्पत्ति । पछि पत्ता लगाए, धेरै वर्षदेखि आफूकहाँ काम गर्न राखिएको मान्छेका कारण डुबेका रहेछन् । पहिला चप्पल पनि फाटेको लगाउँथे । हेर्दाहेर्दै एक करोडको गाडी चढ्ने भए ।

ब्रेकफास्टदेखि रातिको डिनरसम्म पाँच तारे घटीका होटलमा नलिने । मारवाडीचाहिँ व्यापार चौपट भएर नयाँ व्यवसाय थाल्ने कि इण्डियातिरै लाग्ने भन्ने चिन्तामा । यसैबीच, उनले आफ्नो व्यापारिक अधोगतिका कारण मानिने कामदारलाई कामबाट निकाले । तर, शीरदेखि पैतालासम्मका सबै रौँ, दाग चिनेका ती कामदारले पनि त्यत्तिकै किन छाड्थे र † मारवाडीले विश्वास पनि कतिसम्म गरेका भने बैंकको चेकमा आफ्नो सही पनि तिनै कामदारले गरिदिन्थे । यस्ता विश्वासिला व्यक्तिलाई कामबाट निकालेपछि उनले मारवाडीसँग बाँकी ७० करोड सम्पत्ति रहेको कम्पनी, घर, जग्गा सबै आफ्नो बनाउन खोजे । त्यसका लागि कम्पनी रजिष्ट्रार कार्यालयका हाकिमदेखि लेखन्दाससम्मलाई पैसामै आफ्नो बनाए । साहुको सही आफैँ गर्थे । सम्पत्ति कहाँ, कुन र कति भन्ने सबै कण्ठ थियो ।

कम्पनी नामसारि भयो, साहुले थाहा पाएनन् । अघिपछि कर कार्यालयले कर ताकेता गथ्र्यो, यसपालि त्यसो पनि गरेन । डुबेको व्यापारी भनेर करले छाड्ने कुरा त आउँदैन † किन यस्तो भयो भनेर उनी अचम्ममा परिरहेका थिए । तर, जब सतुंगल र बालुवाटारमा रहेको घर जग्गा अर्कोलाई बेच्ने गरी बैना गरियो, अनि फसे काम गर्ने विश्वासिला व्यक्ति । मालपोतबाट एकजना कर्मचारीले सतुंगलको जग्गा बैना गरे÷नगरेको बारे विश्वस्त हुन फोन गरेपछि उनी छाँगाबाट खसेझैँ भए । प्रहरी, प्रशासन सब गुहारे । त्यसपछि अज्ञात नम्बरका फोनबाट मार्ने, काट्ने र सन्तान नै नाश गरिदिनेसम्मका धम्की आउन थाले । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले कम्पनी रजिष्ट्रारको कार्यालयमा ती मारवाडीको कम्पनी नामसारिसम्बन्धी अभिलेख खोज्यो ।

मारवाडीको सही प्रहरीले उनलाई देखायो । भने, ‘सही त मेरो हो, तर मेरो यस्तो सही फलानाले मात्र गर्नसक्छ । उसलाई कामबाट निकालिसकेँ ।’
यसपछि प्रहरीले मारवाडीका पहिलाका कामदारमात्र समातेन, कम्पनी रजिष्ट्रारको कार्यालयका दुईजना कम्प्युटर अधिकृतसहित शाखा अधिकृतहरु उमेशमान जोशी र नारायण पोखरेललाई नियन्त्रणमा लियो । उनीहरुले उपसचिवहरु गंगाधर पौडेल र धर्मराज रोकायाको नाम पोलेका छन् । शाखा अधिकृत र कम्प्युटर अधिकृतहरु समातिएपछि उपसचिवहरु भागे । अहिलेसम्म फरार छन् । प्रहरीसँग हिरासतमा अहिले ६ जना व्यक्ति छन् । तीमध्ये चारजना कर्मचारी, एकजना मारवाडीकहाँ पहिला काम गर्ने व्यक्ति र अर्का त्यहीँका लेखन्दास ।

ब्यूरोले टोलीले चुनदेवी बस्ने भारतीय नागरिक राम नीरञ्जन जटियाको नाममा रहेको शङ्कर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको नक्कली कागजात बनाई ठगी गर्ने मकवानपुरका राजनप्रसाद लम्साल, काठमाडौँका नीरजकुमार मानन्धर, हिमाल महर्जन, राजकुमार तामाङ, चिरीबाबु महर्जन, रामेछापका जीतबहादुर मगर, मोरङका पूण्यप्रसाद खरेल र बाराका अमृत थापामगरलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सानुराम भट्टराईले जीतबहादुर मगरलगायत व्यक्तिले शङ्कर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको शेयरधनी, सञ्चालक र कम्पनीको अध्यक्ष जीतबहादुर मगर हो भनी इलेक्ट्रिकको नाममा रहेको बालुवाटार, सतुङ्गल, म्याग्दी र नुवाकोटको जग्गा बेचबिखन गरेर ठगी गरेको अनुसन्धानमा खुलेको जानकारी दिनुभयो ।

इलेक्ट्रिकका सञ्चालक एवं अध्यक्ष रहेका जटियाको घरबाट सो कम्पनीको कागजात चोरी गरी जटियाको नाममा रहेको शेयर खरिद गरी कम्पनी रजिष्ट्रार कार्यालयका कर्मचारी समेतको मिलेमतोमा आफ्नो बनाएर ठगी गरेका थिए । कम्पनी रजिष्ट्रार कार्यालयमा सहायक रजिष्टार पदमा कार्यरत नारायणप्रसाद पोखरेल र उमेशमान जोशी तथा सोही कार्यालयमा आइटी शाखामा करारमा कार्यरत दुई कर्मचारी भने फरार रहेको ब्यूरोले जनाएको छ ।

पक्राउ परेकालाई विद्युतीय अपराध, चोरी, ठगी तथा सङ्गठित अपराधमा अनुसन्धान गरी, अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा पेश गरेको ब्यूरोले जनाएको छ ।

७१ ट्याक्सी नियन्त्रणमा

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बढी भाडा लिने ७१ ट्याक्सीलाई नियन्त्रणमा लिएको छ । महाशाखाले आज विशेष अभियान सञ्चालन गरी उपत्यकामा भनेको स्थानमा जान नमान्ने, राज्यद्वारा तोकिएकोभन्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने र मिटर बिगार्ने ७१ ट्याक्सीलाई नियन्त्रणमा लिएको हो ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले बढी भाडा लिई यात्रुलाई दुःख दिने ट्याक्सीका चालकलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । “महाशाखामा ट्याक्सीले यात्रुलाई ठगेको गुनासो धेरै परेपछि विशेष अभियान सञ्चालन गरेका हौँ”, उहाँले भन्नुभयो । उहाँले यात्रु ठग्ने ट्याक्सीलाई कारवाहीका लागि निरन्तर अभियान सञ्चालन गर्ने बताउनुभयो ।

महाशाखाले विशेष अभियान सञ्चालनका लागि ८० ट्राफिक प्रहरी खटाएको छ । नियन्त्रणमा लिइएका ट्याक्सीलाई यातायात व्यवस्था विभागद्वारा प्रत्यायोजित अधिकार प्रयोग गरी रु तीन हजारसम्म जरिवाना गर्ने महाशाखाले जनाएको छ । यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा १० हजार ६४५ ट्याक्सी सञ्चालनमा छन् ।
–––

प्रतिक्रिया दिनुहोस !