
नबराज छत्कुली :
धादिङ – गोरखाको सामागाउँबाट काठमाडौं जाँदै गर्दा बेपत्ता भएको अल्टिच्युड एअरको हेलिकोप्टर नुवाकोट जिल्लाको मेघाङ गाउँपालिका वडा नं १ बर्सुङचेतको मैलुङपाखाको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी उपरीक्षक बसन्त कुवरका अनुसार घटनास्थलमा ५ जनाको शव भेटिएको छ भने १ जनालाइ अचेत अवस्थामा उद्धार गरिएको छ ।
घटनास्थलमा ६ जनाको शव भेटिएपनि कसैको शनाखत हुन नसकेको कुँवरले टेलिफोनमा जानकारी दिएका छन् । विहानैदेखी बाक्लो कुहिरो लागेकाले दुर्घटना स्थल पहिचान गर्न प्रहरीलाइ समस्या भएको थियो । हेलिकप्टरमा ७ जना सवार भनिएपनि १ यात्रुको अवस्था भने अज्ञात रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा भेटिएको शवलाइ काठमाण्डौ लैजाने तयारी भइरहेको कुँवरले जानकारी दिए ।
शनिबार बिहान ६ः५७ मा उडेको कल साइन ९ एन–ए–एल–एस को हेलिकोप्टर उडेको केही बेरमा सम्पर्क बिहिन भएको थियो । काठमाडौँबाट पर्यटक लिई आज बिहान गोरखाको सामागाउँ पुगेको हेलिकोप्टरले पर्यटक छाडी त्यहाँबाट क्याप्टेन सहित ७ जना यात्रु लिएर काठमाडौँका लागि उडेको एयरलाइन्सले जानकारी दिएको छ ।
हेलिकोप्टरमा क्याप्टेन निश्ल केसी सहित जापानी नागरिक हिरोमी कोनाफी, रामेछापका डिल्ली बहादुर गुरुङ, दोलखाका हिरा सेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका–२ ल्होकी गामी डोल्मा डिक्की, साम्दोका छोवाङ नुर्बु र सिन्धुपाल्चोकका सुनिल तामाङ सवार रहेको अल्टिच्युड एयरलाइन्सले जानकारी दिएको छ ।