दाङ, २४ भदौ – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई दाङको अदालतमा उपस्थित गराइएको छ । शुक्रबार बेलुका दाङ ल्याइएका विश्वकर्मालाई आज दिउँसो अदालतमा उपस्थित गराएर आठ दिनको म्याद थप गरिएको छ ।

यही भदौ २० देखि २७ गतेसम्म म्याद थप गरिएको अदालतका स्रेस्तेदार गम्भीर रानाले बताउनुभयो । थप गरिएको म्यादमध्ये अब तीन दिनमात्रै बाँकी छ । अदालत परिसरमै पत्रकारसँग सङ्क्षिप्त कुरा राख्दै विश्वकर्माले सरकारले राजनीतिक पूर्वाग्रह लिएर झुठो मुद्दाको खेती गरिरहेको बताउनुभयो ।

म्याद थपपछि उहाँलाई जिल्ला प्रहरी कार्यालयमै थुनामा राखिएको छ । गत मङ्सिरमा तुलसीपुरमा भएको बम काण्डमा उहाँ मुछिएको आरोप छ ।

प्रदेश र सङ्घको निर्वाचनका क्रममा मङ्सिर १२ गते नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा सहभागी निर्वाचनसभालाई लक्षित गरी बम विष्फोट भएको थियो । सभास्थलबाट ५०० मिटरको दूरीमा भएको विष्फोटमा २३ वर्षीय म्यादी प्रहरी विनोद चौधरीको मृत्यु भएको थियो ।
––– (रासस)

प्रतिक्रिया दिनुहोस !