काठमाडौँ, भदौ २५ गते । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको आज सुनुवाइ गर्दैछ । समितिले आइतबार मिश्रविरुद्ध उजुरी दर्ता गर्ने उजुरकर्तासँग छलफल गरेको थियो । समितिले सोमबार बिहान ९ बजे सुनुवाइका लागि मिश्रलाई बोलाएको छ ।

संसदीय सुनुवाइ समितिका सभापति (ज्येष्ठ सदस्य) लक्ष्मणलाल कर्णले प्रस्तावित प्रधानन्यायाधीशलाई सोमबार बिहान ९ बजे सुनुवाइका लागि बोलाइएको बताउनुभयो । कर्णले भन्नुभयो ‘हामीले प्रस्तावित प्रधानन्यायाधीशको सोमबार सुुनुवाइ गर्ने निर्णयअनुसार बिहान ९ बजे बोलाएका छौँ ।’

समितिमा मिश्रविरुद्ध अब तीन उजुरी विचाराधीन छन् । जसमा एक उजुरीमा सशस्त्र प्रहरीका तत्कालीन डिआइजी रञ्जन कोइरलाको मुद्दाको विषय उठाइएको छ । मुद्दामा आफ्ना नातेदारको पक्षमा हुनेगरी आदेश गरेको आरोप लगाइएको छ ।

यस्तै, सोही उजुरीमा प्रस्तावित प्रधानन्यायाधीश मिश्रले अछामको कालिकोटमा भएको डिल्ली स्वाँरसहितका चार जनालाई आर्थिक लाभ लिइ फौजदारी मुद्दामा सफाइ दिएको आरोप पनि लगाइएको छ । यस्तै, एनसेल लाभकर विवाद जारी रहेका बेला लाभांश लैजान दिने आदेश गरेको, सूर्य नेपालको कर छली मुद्दामा कम्पनीलाई नै साथ दिएको पनि सोही उजुरीमा उजुरीकर्ताको आरोप छ ।

यस्तै, अर्का एक उजुरकर्ताले त्रिभुवन विश्वविद्यालयको उप–प्रध्यापकको परीक्षामा प्रश्नपत्र विक्रीको आक्षेप लागेका व्यक्तिका पक्षमा आदेश गरेको आरोप लगाएका छन् । आरोपित व्यक्ति स्वयं परीक्षार्थी समेत रहेको अवस्थामा आवश्यक प्रमाण समेत नबुझी फैसला गरेको आरोप उजुरीकर्ताको छ । यस्तै, अर्का एक उजुरीकर्ताले वैदेशिक रोजगार न्यायाधीकरणले गरेको फैसला कार्यान्वयनको सिलसिलामा मिश्र काठमाडौँ जिल्ला अदालतमा प्रमुख न्यायाधीश रहेका बेला आर्थिक अनियमितता गरेको आरोप लगाइएको छ ।
सुनुवाइपछि समितिले अनुमोदन सम्बन्धी निर्णय गर्नेछ । समितिले प्रस्तावित पदाधिकारीलाई दुई तिहाइ बहुमतबाट अस्वीकृत गर्न सक्नेछ । दुई तिहाइले अस्वीकृत नभएमा अनुमोदन भएको मानिनेछ ।

प्रतिक्रिया दिनुहोस !