काठमाडौँ, २५ भदौ – सरकारद्वारा गठित राजनीतिक वार्ता टोलीले नेपालमा द्वन्द्वरत सम्पूर्ण राजनीतिक दललाई वार्तामा आउन आग्रह गरेको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेयले सबै प्रकारका द्वन्द्व निर्मूल गरी सहमतिको माध्यमबाट देशमा शान्ति, सहिष्णुता र पारस्परिक सद्भाव कायम गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

कुनै पनि असहमति, विवाद र द्वन्द्वलाई वार्ताका माध्यमबाट टुङ्गो लगाई शान्ति कायम गर्न सरकार चाहेको छ, उहाँले भन्नुभयो, “सहमति, सहकार्य र वार्ताका माध्यमबाट मुलुकमा दिगो शान्ति कायम गर्न तथा अब मुलुकमा द्वन्द्वको अवस्था छैन भन्ने अनुभूति दिलाउन सरकार सक्रिय छ ।”

संयोजक पाण्डेयले द्वन्द्वरत सम्पूर्ण राजनीतिक दलसंग विगतमा भएका सम्झौतालाई कार्यान्वयन गर्ने र वार्ताका लागि ती दलहरुलाई पत्र पठाउने तथा उनीहरुबाट प्राप्त पत्र ग्रहण गरी अध्ययन थाल्ने बताउनुभयो ।

नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई पक्राउ गरिएको सम्बन्धमा पत्रकारहरुद्वारा सोधिएको प्रश्नको जवाफमा संयोजक पाण्डेयले गृहमन्त्रालयको नियमित प्रक्रियाअनुसार उहाँलाई पक्राउ गरिएको बताउँदै नेकपासँग पनि वार्ता गरिने र वार्ताको दौरान कुनै पनि दमन नगरिने स्पष्ट पार्नुभयो । (रासस

प्रतिक्रिया दिनुहोस !