दसैँका लागि अग्रिम बस टिकट कहिलेदेखि खुला गर्ने भन्नेमा अन्योल छ । अग्रिम टिकट खुलाउनका लागि आयोजना भएको बैठकमा सिन्डिकेटको चर्चा चलेकाले अन्योल बढेको हो ।
यातायात व्यवस्था विभागले व्यवसायीसँग छलफल गरे पनि टुङ्गो भने लागेको छैन । कहिलेदेखि अग्रिम टिकट खुलाउने भन्ने कुरा सरकारको हातमा रहेको व्यवसायीले बताएका छन् ।
विभागसँगको बैठकमा व्यवसायीले सिन्डिकेट गर्दै आएका यातायात समितिको रोक्का भएको खाता सञ्चालन गर्न दिनुपर्ने र सवारी भाडा समायोजन गर्नुपर्ने माग राखेपछि विभागले मन्त्रालयसँगको बैठकपछि सहमति गर्ने जनाएको छ । व्यवसायीले यातायातको क्षेत्रमा सरकारले निक्कै अप्ठ्यारो पारेको गुनासो गरेका छन् ।
सिन्डिकेटको अन्त्य गर्ने सरकारको निर्णयविरुद्ध व्यवसायीले आन्दोलन गरेपछि सरकारले सबै यातायात समितिका खाता बन्द गरेको छ । साथै सार्वजनिक सवारीसाधन अनिवार्य पञ्जीकरण गर्नुपर्ने नयाँ निर्देशिका लागू भएपछि व्यवसायी निजी कम्पनीमा दर्ता हुन आनाकानी गरिरहेका छन् । हालसम्म जम्मा ३५ सय सवारीसाधन मात्र पञ्जीकरण भएका छन् । नेपालमा ९५ हजार सार्वजनिक सवारीसाधन छन् । दसैँको अवसरमा काठमाडौँबाट लामो दूरीमा चल्ने बसमा एक महिना पहिल्यै टिकट लिनुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस !