काठमाडौं । एउटा राजनेताको निर्णयमा परिपक्वता र धैर्यताको अर्थ के हुन्छ ? राजा बहिगर्मनको प्रसंग हेर्दा बुझ्न सकिन्छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले संसदको निर्णयअनुसार नारायणहिटी दरबार छाड्न केही आनाकानी गरेनन् । तर, आफूमा रहेका केही आशंका, चाहना र व्यवस्थापनबारे सरकारसँग सोधे ।

त्यसका लागि तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई नै कार्यान्वयनको अधिकारसहित पठाए । ज्ञानेन्द्रको प्रश्न थियो, ‘म अब कहाँ बस्ने, कता जाने ?’ सिटौलाको जवाफ थियो, ‘हामी उचित व्यवस्थापन गर्छौं, यसमा तपाईंले कुनै चिन्ता लिनै पर्दैन ।’ ज्ञानेन्द्रले आमाको भावनात्मक सम्बन्ध जोडिएको र बुबाको स्मृति पनि रहिरहने कारण नारायणहिटी परिसरभित्रै अवस्थित महेन्द्र मञ्जिल छोडिदिए हुने आग्रह राखे । सिटौलाले, ‘हजुरको मुमा हामी सबैको मुमा हुनुहुन्छ, उहाँको इच्छा पूरा गर्नु हाम्रो पनि कर्तव्य हो’ भन्दै आफ्नो जीवनकालभरि महेन्द्र मञ्जिलमा बस्न पाउने गरी सहमति जनाए । ज्ञानेन्द्र नागार्जुन पठाइए ।

निर्मल निवासमा भन्दा उनी बढीजसो त्यहीं बस्छन् । तर, सहमतिहरु कार्यान्वयन नहुञ्जेल पूर्व श्री ५ का प्रमुख निजी सचिव पशुपतिभक्त महर्जन पटक–पटक शंका पोखेर सोधिरहन्थे, ‘यो निर्णयमा तलमाथि त हुँदैन नि !’ त्यही सरकारमा हो, अहिलेका प्रधानमन्त्री केपी ओली उपप्रधान तथा परराष्ट्रमन्त्री रहेको । ज्ञानेन्द्रले पुर्खाको निशानीका रुपमा श्रीपेच साथमा लाने इच्छा व्यक्त गरेका थिए । तर, ‘यो राष्ट्रको सम्पत्ति हो । यसको संरक्षण सरकारले गर्छ’ भनेर अहिलेसम्म राजदण्ड र श्रीपेच नारायणहिटीभत्रै राखिएको छ ।

गिरिजाले ०६२÷६३ को परिवर्तनपछि प्रहरीको नेतृत्व फेरे पनि सेनाका सेकेण्ड म्यानसम्मलाई समेत चलाएनन् । अर्थात्, राजनीतिमा सहनुपर्छ, धैर्यता अपनाउनुपर्छ भन्ने मान्यता अवलम्बन गरे । फलतः रक्तपातविहीन ढंगले राजाको शान्तिपूर्ण बहिगर्मन सम्भव भयो । तेस्रो संविधान दिवसको सम्मुखमा यी कुरालाई मनन गरी देशमा फेरि पनि सन्तुलित, परिपक्व, सहिष्णु र बचनको पक्का नेतृत्वमार्फत समाजवाद निर्माणमा अग्रसर हुनु जरुरीे छ ।
नारायणहिटीको आम्दानी

राजा बहिगर्मनपछि संग्रहालयका रुपमा विकसित नारायणहिटी दरबारबाट गत आर्थिक वर्षसम्म २३ करोड २४ लाख ५१ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ । ०६६ सालदेखि सर्वसाधारणका लागि खुला गरिएको नारायणहिटी अवलोकन गर्न हालसम्म २७ लाख ३१ हजार ४ सय ८५ जना पुगिसकेका छन् । त्यसक्रममा टिकट बिक्रीबाट २३ करोड नौ लाख ६७ हजार ३ सय र सवारी साधन पार्किङबाट १४ लाख ८४ हजार २ सय ५ रुपैयाँ आम्दानी भएको छ । विद्यार्थीलाई २०, सर्वसाधारणलाई सय, चीनसहित सार्क मुलुकका नागरिकलाई २ सय ५० र अन्य देशका दर्शकलाई पाँच सय रुपैयाँ प्रवेश शुल्क लिने गरिन्छ । ०६६ सालपछि त्यहाँ ११ लाख ४५ हजार पाँच सय १० जना नेपाली विद्यार्थी प्रवेश गरेका छन् । त्यस्तै, १३ लाख ६५ हजार ९१ जना स्वदेशी सर्वसाधारण, एक लाख ५५ हजार पाँच सय ७६ चीनसहित सार्क मुलुकका र ६५ हजार तीन सय आठ जना अन्य मुलुकका अवलोकनकर्ता त्यहाँ प्रवेश गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस !