– सन्तोष क्षत्री –
दोहा, कतार
लोक गायिका हरिदेवी कोइरालाले यसपालीको तीजमा कतार बासी दिदिबहिनीलाई नचाएकी छिन् । कास्की आदर्श सेवा समाज कतारले नेपाली नारीहरुको महान् चाड तीजको अवसरमा शुक्रबार आयोजना गरेको सांस्कृतिक कार्यक्रममा कोइरालाले दिदीबहिनीलाई तीजगीतमा नचाएकी हुन ।
कार्यक्रमको प्रमुख अथिति समेत रहेकी कर्णप्रिय स्वरकी धनी वरिष्ठ लोकगायिका, साहित्यकार एवं प्राज्ञिक ब्यक्तित्व कोइरालाले प्रदेशिएकाको वेदना समेटिएको पाइन खबर, घर फर्की आउनुहोस मेरो हजुर…’ बोलको गीत गाउदै कार्यक्रमको उद्घाटन गरेकी थिइन ।
सांस्कृतिक कार्यक्रमको सिलसिलामा बिदेश भ्रमणको लागि पहिलोपटक कतार आएकोमा दिदीबहिनी र दाजुभाइको उपस्तिथि आफुले अपेक्षा गरे भन्दा पनि बढी रहेको भन्दै कोइरालाले आफू नेपालमै रहेको अनुभुत भएको बताइन् । बिदेशको ठाउँमा रहेर पनि नेपाली गीत संगीत प्रति व्यक्तगरेको मायाको लागि धन्यवाद दिदै कार्यक्रममा दिदीबहिनीको उल्लेखनीय उपस्तिथिले आफू अन्नपूर्ण, माछापुच्छ्रे हिमाल र फेवातालको छेउमै रहेको अनुभुति मिलेको बताइन् ।
कार्यक्रममा गायिका कोइरालाले तीज गत झलझलि सम्झौली आमा…’ झिल झिल सितारा परदेशी हुनाले भैयो बितारा….. लगाएतका दर्जनौ लोकप्रिय गीत प्रस्तुत गरेकी थिइन ।
कार्यक्रममा सहभागीले तीजका गीत संगीतमा बिकृति बढीरहेको बेला लामो समय सम्म नेपाली लोक गीतको क्षेत्रमा सक्रिय पोख्रेली साहित्यकार एवं प्राज्ञिक ब्यक्तित्व कोइरालाको गीत सुनेर बर्सौ पहिलेको तीजको झलको मिलेको बताए । कास्की आदर्श सेवा समाजका अध्यक्ष बिश्वबन्धु थापाले वरिष्ठ लोक गायिका कोइरालाले नेपाली गीत संगीतमा पुर्याउनु भएको उल्लेखनीय योगदानको सम्मानको लागि आयोजित कार्यक्रममा दिदीबहिनीको सहभागिताले कार्यक्रम ऐतिहासिक बनेको बताए ।
कास्की आदर्श सेवा समाजका उपाध्यक्ष एवं फेवा सांस्कृतिक परिवारका संयोजक प्रकाश बिकले स्वागत गरेको कार्यक्रमको संचालन सचिव खुशीमान गुरुङ र फेवा सास्कृतिक परिवारका सचिव सावित्री गिरिले गरेका थिए ।
कतारको दोहास्थित शालिमार दरबार रेस्टुरेन्ट बिन महमुदमा सम्पन्न तीज कार्यक्रममा फेवा सांस्कृतिक परिवारका कलाकार संगै विभिन्न स्थानीय कलाकारले नृत्य प्रस्तुत गरेका थिए ।