जीवन जिउने आधार केही परम्परामा छ।
रूख जति नै अग्लो होस् निर्भर जरामा छ।- चक्र कार्की

मलाई मज्जाले घमण्ड गर्न मन लाग्यो। “कतार पूर्ण गजल लेख्छ।” अरबमाथिको दृष्टिकोण फेर्नै नचाहने केही अति पुरातनवादी १६ औँ शताब्दीको सोच भएका लेखक/सर्जक भनाउँदाहरूले अरबलाई दु:ख, पीडा, रोदन, बिछोडभन्दा माथि उठेर हेर्नै सकेनन्। तिनका आँखाले देख्ने भनेको केवल रातो बाकस हो। उनीहरू रातो बाकसको पिछा गरिरहेछन्।

ए राते लेखकहरू!
केही सकारात्मकता खोज, चिन्तन र दर्शन मिश्रित रचना लेख यार अब। नत्र नलेख। पहिला आफूलाई लेख, आफू उठ र मात्र अरूको चिन्ता गर।

“हामीले मात्रै गजल लेख्छौँ। हाम्रा मात्रै गजल गजल हुन्। हाम्रा मात्रै गजल राम्रा, उत्कृष्ट र सूत्रात्मक गजल हुन् भन्ने झुण्डहरूले पनि सिके हुन्छ अब कतारबाट। कतार कुनै पनि कुरामा कम छैन।

सत्य हो अरबमा दु:ख छ। तर सुख कहाँ छ भन त लेखकहरू? अरबमा मात्र मान्छे मर्छन्? नेपाल वा अरू देशमा अजम्बरी छन्? तिमेरूका आँखाले जे देखेँ पनि हज्जारौं दु:ख पीडा पन्छाएर घर व्यवहार चलाउने, सन्तान पढाउने, मीठो मसिनो खाने, राम्रो लाउने भएका छौँ अरबमै बसेर… र बचेको समय आफ्नो रुचि अनुसार केही थोरै सङ्ख्या साहित्यमा लीन छ, समाजसेवामा लीन छ।

नेपालमाजस्तो राजनीतिक झुण्ड, गुठ- उपगुठ, वाद प्रतिवाद, ढुंगा हानाहानभन्दा माथि छ अरबको साहित्य। यहाँका नेपालीहरू नेपाली भाषा संस्कृतिप्रति चनाखो भई संरक्षण र संवर्द्धनमा लागेका छौँ। यहाँ एकै स्वरमा “हामी नेपाली हौँ” भन्ने आवाज गुन्जिन्छ।

संरक्षण, संवर्द्धन गर्ने र आवाज उठाउने क्रममा निरन्तर लागि रहेको छ अनेसास कतार र नवोदित वाचनालय कतार। हरेक महिनाको दोस्रो शुक्रवार रचना वाचन गर्दै यसपालि ८५ औँ रचना वाचनसम्म आइपुगेको डबलीले केही पृथक गर्ने सोच्यो। त्यसैले नेपाली गजलका गजल पिता मोतीराम भट्टको जन्मजयन्तीको अवसर पारेर “एक मोती गजल अनेक” नाम दिएर अनेसास नवोदितले ८५औँ वाचन श्रृंखला आयोजना गर्‍यो। जसको लागि कतारमा श्रम गर्दै कलम चलाइरहेका पाँच गजलकारलाई मोतीको सामु उभ्यायो सेप्टेम्बर १४ तारिखका दिन पाँच-पाँच गजलका साथ।

बिदा मिल्ला नमिल्ने दोधार हुँदै गर्दा बिदा मिल्यो। दोहा जाने भएँ। साथीहरूलाई निम्तो गरिरहेँ। यो क्रममा नूलाई कम समय छुट्टियो। उनी रिसाइन्। “कता हराएको हो? यस्तो गरेपछि साह्रो हो रिस उठ्ने” उनको यतिविधि प्रेमिल म्यासेजलाई मज्जाले बेवास्ता गरेँ। साँझ वा भोलि त फकाइहाल्छु नि तर दोहाको कार्यक्रम छुटे त छुट्यो/ छुट्यो। ईश्वर सरलाई फोन गरेँ, लागेन। शेखर सरले पैसा छोड्न आउनु भो। क्या मज्जा हिँड्ने साइतमा पैसा लिएर, हिँड्न पाइने।

केहीबेरमा ईश्वरसँग दोहा हानिएँ दिनको साढे बाह्रतिर।
कसरी भन्ने भन्दै आत्तिइरहेका ईश्वर सरलाई नआत्तिन भन्दै दोहा पुगेको हामी कार्यक्रम स्थलमा उक्लिन ढिला गर्नै मन भएन। उसो त त्यो चर्को घाममा कता अलमलिनु, भित्र छिर्‍यौँ।

जीवन बहुत आनन्दमय लागिरहेछ अचेल। सप्राइजहरू थमाइरहन्छ अनेक बहानामा। टपफम भित्रिने बित्तिकै एक सप्राइजलाई अँगाल्न पाइयो। जोसँग लामो परिचयसँगै कतारभित्रिएपछि भेट्ने ठुलो इच्छा थियो। त्यति मात्र कहाँ भेट्ने समय तोकेर पनि भेट्न नसकेका हामी मोतिजयन्तिको दिन भेटियौँ। त्यो सप्राइज हो, प्रिय सर टपन जिएमलाई अङ्कमाल गर्न पाउनु। सर! “पर्खिन पर्ने रहेछ, दिन आउँदो रहेछ।” हामी पो हतार गरिरहेका थियौँ।

बिस्तारै साथीहरूको आगमन बढ्दै गयो। हामी कार्यक्रम हलभित्र छिर्‍यौँ। धेरै जनाको उपस्थितिसँगै कार्यक्रमको तयारी हुँदै गर्दा म पनि सामेल भएँ। प्रविधिले अलिक साथ नदेला कि जस्तो भएर पलेटी कसेर गजल वाचन गर्ने कुरालाई एकापट्टि राखेर सदा झैँ उभिएर वाचन गर्ने भनी उही किसिमको सजावटतिर लाग्यौँ।

कार्यक्रमको लागि तीर्थ दाइको सीप भनौँ वा ब्यानर भित्तामा टाँस्दै समयभन्दा पन्ध मिनेट ढिला कार्यक्रम सुरु गर्‍यौँ। जसको लागि संयोजक तथा सञ्चालकको भूमिकामा सगौरव खडा भए प्रिय दाइ प्रेम भट्टराई। गत वर्ष दाइका शिशा गजलले उचालेको त्यही हल हो। आज दाइको सञ्चालनमा अरूले उचाल्न पाउने भएका छन्। अहो! यहाँबाट सिकुन् जो कसैले पुस्ता हस्तान्तरण भन्ने लाग्यो। प्रेम दाइको आवाजले कार्यक्रमलाई सभ्यता र औपचारिकता दियो। कार्यक्रमका विशिष्ट श्रोताको रूपमा आसन गरे डा.राजेश कुमार पौडेलले।

Ishor Rai Narayan Nirzal Bhandari Dilip Parajuli, Chakra Karki र Santosh Adhikari गजलकारहरू आआफ्ना खातापातासहित आसन ग्रहण गरे। आहा! मञ्च भरिलो भयो। संस्कार कहाँ छोड्न सकिन्छ र मुख्य दिनका मुख्य व्यक्तिहरूलाई नाम प्रिन्ट सहितको खादाले सम्मान गर्‍यौँ।

विशिष्ट श्रोता, नवोदित वाचनालयका अध्यक्ष, अनेसासका अध्यक्ष, सल्लाहाकार तथा विशिष्ट व्यक्तिहरूको एक साथले नेपाली गजलका शिखर पुरुष युवा कवि मोतीराम भट्टको तस्बिरमा माल्यार्पण गर्दै दीयो जलाइयो। तालीको गडगडाहटले वातावरण उत्साहमा परिणत भयो।

यो वाचन डबलीको छुट्टै विशेषता भनेको समयमै कार्यक्रम सुरु हुनु र भाषण रहित हुनु हो। थोरै औपचारिकताका लागि स्वागत मन्तव्य सहित गजल पिता मोतीराम भट्टको जीवनी सार संक्षेपमा सुनाए नवोदितका निवर्तमान अध्यक्ष्य लेख कार्की ज्यूले। त्यसपछि हामी तुरुन्त दिनको आकर्षणतिर धकेलियौँ छातीमा हात राखेर देश सम्झिंदै एकै स्वरमा राष्ट्रियगान गाउँदै।

हातमा गजल लिएर मञ्चमा आसीन पाँच गजलकारहरूको हात काँपी रहेको र अब के होला कसको पालो पहिलो होला भन्ने प्रश्नले मुहारको मुद्रामा छाप हानेको बेला हामी श्रोताहरू उसै गरी आतुर थियौँ को पहिला आउलान् र कस्तो गजल सुनाउलान्, कस्तो प्रतिक्रिया पाउलान् भनेर। यो अन्योलता चिर्न प्रेमदाइले उच्चारण गरेको पहिलो नाम हो – नारायण निर्जल भण्डारी।

१,
नारायण भण्डारीलाई मैले दोहा आएरै चिनेको हूँ। अझै भनौँ नवोदितले चिनायो। एकदमै प्रखर गजल लेख्ने र गजललाई मीठो तरीकाले गाउने नारायणबाट मैले भरपुर अपेक्षा गरेको भनेकै गायन थियो; तर उनले कुनै पनि गजललाई गायन नगरीकनै वाचन गरे। वाचन कला पनि वहाँको बिछट्टै राम्रो छ। मैले बारबार प्रशंसा गरेकै हो वहाँको वाचनको। मैले अरूलाई भन्दाखेरि “दर्शकसँग आँखा जुधाएर वाचन गर्दा राम्रो हुन्छ” भन्छु; तर स्वयम् आफ्ना कुनै पनि रचना मुखाकार हुन सकेनन्। कपीमा हेर्दा र दर्शकतिर हेर्दा कति औँ पटक झुक्किएर वाचन खल्लो भएको अनुभव आफ्नै कविता वाचनले सम्झाइरहँदा नारायणको वाचनमा नलठ्ठिने दर्शक कोही थिएनन्। उनी प्रस्तुत हुँदा र औपचारिक बनिरहँदा स्वर लुकाइरहेका थिए। बिस्तारै सेरहरूको आक्रमण सँगै गर्जिन पुगे, चाहिँदो रहेछ पनि। तर वाचन चैँ अलिक छिटो-छिटो भएको हो कि भन्ने लागेको हो। पहिलो पटक भएर पनि होला।

वहाँका वाचित गजलहरूको म समीक्षा गर्न सक्दिनँँ। यो हो वहाँको गजलमा विचारहरू स्पष्ट छन्, आक्रोश छन् , सतर्कता छन्, गजल सेरबाटै जीवन नियालेका यिनका सेरहरूमा जनयुद्धको चोटहरू पनि छन्, सम्बन्धका सम्मान र टकराबहरू छन् । भन्नै पर्दा गजललाई गजलै बनाउन गजलको अध्ययन गर्नैपर्छ यिनले तर व्यक्ति भने बहुत शालीन हुन् अध्ययनशील छन् पक्कै, म्युजिकल्लीका खल नायक पनि हुन्। पटक पटक वान्स मोर पाएका नारायणका केही सेरहरू यस प्रकार छन्।

गरिबहरू यहाँ अघाउँदैछन् चाबुक निलेर।
किन अघाउँदैनन् नेता अझै मुलुक निलेर।

तिम्रो मायाको अमृत पिएर म तड्पिदैछु,
को भन्छ अमृत भन्दा विष खतरनाक हुन्छ ?

आफ्नो सौन्दर्यता ढाकी राख्नू जवानी जोगाइ राख्नू,
यी पत्थर मनका मान्छेहरूमा फूलको नजर पाइँदैन।

यस कारण म मेरी नानीलाई खेलौना किनिदिन्छु,
बच्च्पन बितिसकेपछि उसमा खेल्ने रहर पाइँदैन।

तिमी मेरी हुँदै होइनौ भनौँ भने पनि ,
बस सिन्दूर छ आधार तिमीसँग मेरो।

माया प्रेम पनि किनबेच हुने यो दुनियाँमा,
मात्र आमाको माया मात्र अनमोल देखिन्छ।

सहरका अस्पतालमा त आई सी यु हुन्छ,
गाउँमा त मुस्किलले सिटामोल देखिन्छ।

अरूलाई हेरेर पनि चित्त सजिलै बुझाइन्छ ,
यो भिडमा सबैको जिन्दगी डामाडोल देखिन्छ।

२,
ईश्वर राई उनी मञ्चमा उभिए। औपचारिक बने।सम्झनुपर्ने, सम्बोधन गर्नुपर्ने र धन्यवाद भन्नुपर्ने सबैलाई भने र गजल तर्फ लागे। राईका गजल सुनिरहँदा मेरो आँखामा नाचिरहेको व्यक्ति हुन् दीप मिलन। जो छोटो समयमै छन्दोबद्ध कवितामा राम्रो प्रगति गरेका छन्। निक्कै गौरव लाग्छ उनका छन्दोबद्ध कविता पढ्दा, जातिय कुरा जोडिए जोडियोस्। यो कुरा गर्नु कति जायज हो थाहा छैन तर सधैँ एउटै कुराले सताउँथ्यो र चिमोट्थ्यो। नेपालका विभिन्न कार्यक्रमहरूमा सुन्थेँ “संस्कृत पढेकाले मात्रै छन्दमा लेख्न सक्छन्।” म दीप मिलनको उदाहरण दिन चाहान्थें। शास्त्र नपढेरै पनि, संस्कृत नपढेरै पनि उनले छन्दका कविता बान्की मिलाएर लेख्छन्।

त्यस्तै ईश्वर राई मंगोलियन हुन्। उनको नेपाली बोलाई समेत शुद्ध छैन। ईमन्दारीताका साथ भन्ने हो भने सायद संस्कृतको स पढेका छैनन् उनले। अघोषित रूपमा ब्राह्मणहरूले मात्र छन्दमा लेख्न सक्छन् भन्ने कुरालाई मजाले चिरिदिए मोतिजयन्तीमा राईले। “साधना गर्न सके जसले जे पनि पढ्न सक्ने, जसले जे पनि लेख्न सक्ने सिद्ध गरिदिए।” सदा श्रृंगारिक गजल मात्र प्रस्तुत गर्ने भएकाले ‘सिरिंगारिक ईश्वर’ भनेर चिनिने उनले पाँच गजलमध्ये चार गजल नै सूत्रमा लेखेेेेका रहेछन्। यति मात्र हैन मैले माथि नै भने ‘हामीले मात्रै गजल सूत्रमा लेख्छौँ, लेख्न सक्छौँ भन्ने अहङ्कारीहरूको आँखामा उनले ठूलो ढुङ्गा फाले।

एक स्वतन्त्र , दुई मुतकारिब, एक बसीत र एक पञ्चचामरमा लेखेर आफ्नो साधनाको क्षेत्रफल
कत्रो छ मज्जाले देखाए। गजल सूत्रमा लेख्ने, तरन्नुममा वाचन गर्ने यत्तिको सर्जक कतारमा हामीसँग भएपछि हामी मात्रै हौँ भन्नेहरूले सिकुन् चुपचाप लेखिरहेको छ कतारले पनि भनेर।

मान्छेको जात प्रशंसा चाहँदो रहेछ। प्रशंसामा रमाउँदो रहेछ। उनले पञ्चचामरको गजल वाचन गर्नु अघि मेरो एक गजलको मतला पनि गुन्गुनाए। यसरी भनौं गजल पिता मोतिरामले मेरो गजलको स्वाद पनि लिए। धन्यवाद ईश्वर सर।

उनका पाँच गजलमा प्रेम, पीडा, देशप्रेम, ठट्टा, व्यंग्य, सम्मान, सपना सबै-सबै मिश्रित छन्। इमान्दारिताका साथ भन्ने हो भने अझै कति हो कति मेहनत गर्नु पर्ने देखिन्छ। शब्दसँग भरपुर खेल्न सिक्नै पर्छ र पनि मीठो गायकीका कारण वोन्स मोर भनिएका राईका सेरहरू यस प्रकार छन्।

पुजेको छ सबले यहाँ हेर ढुङ्गा,
बनायो त मान्छे शिलाले बनायो।

भएको छ सास्ती गरौँ के म आमा,
मुटुभित्र दरबार खियाले बनायो।

चन्चले अनि सुन्दर रैछिन् मेरी साली,
दिदी माथि आउन सौता बनी यसपालि।

दिएको छु ज्यानै मुटु यो धरालाई,
चिरी हेर छाती निशानी छ प्यारो।

खुसी जिन्दगीको छ मेरो स्वदेशमै,
छ प्यारीको काखै सिरानी छ प्यारो।

आफ्नो हुने छैन कोही यो धरामा संगी,
आफ्ना गुनासा र यो पीडा बतायौ भने।

नमान्नु जात नै ठुलो सबै समान छौँ सखी,
छ रङ्ग एक रक्तको कहाँ छ भिन्न जातको।

३,
जब कार्यक्रम सञ्चालक प्रेम दाइबाट दिलीप पराजुलीको नाम उच्चारण भयो। हलमा एकाएक कोलाहल मच्चियो अर्थात् उनी कटाक्ष, तिखो र ठट्यौली गजल लेख्न माहिर छन्उ। उनी ईश्वर राईलाई सदा जित्छन् तर गजलकै हिसाबमा न्वरण गरिएको छैन उनको।

मीठो औपचारिकता, सम्मान र आभार व्यक्त गर्दै पराजुलीले पनि आफ्ना सेरहरू सुनाए। उनका सेरमा माया प्रेम, देश, सीमा, सम्बन्ध, उमेर, बैँस, जोस सबै-सबै तिखा शब्दहरू मार्फत कटाक्ष गरिएका छन्। उनी हरेक गजलमा कुनै एक सेरमा देश र सीमा अटाउँछन्।

गजलजस्तो कोमल विधाको लागि अलिक गहिरिएर विम्ब, प्रतीक र शब्दसँग खेलेर कोमल तरिकाले छातीमा तीर चलाए हुन्थ्यो भन्ने लाग्छ तर पनि आआफ्नो शैली र पहिचान हुँदो रहेछ। उनलाई दिलीप पराजुलीको पहिचान दिएका केही सेरहरू यस प्रकार छन्।

छातीभित्र दुख्ने देश जाती होला उसै दिन,
च्यातिएका देशका अभाव सरकारले सिएपछि।

सातै रङ्ग इन्द्रेणीको भरि दिउँला जीवनमा,
खनी खोस्ररी डुलाएर माया गरौँ भन्छे ।

युवा पलायन रोक गरी खाने माहोल बनाऊ,
सबै भेदको अन्त्य भोक, लेख्न मन छ भित्रैबाट।

पराईले सीमा मिच्दै जङ्गे पिलर सारे अरे,
खुकुरीको धार देखाई खेद्न मन छ भित्रैबाट।

वर्षौदेखि शीतल दिने वरपिपलको रुख डाली,
अनेक जातका फल फलाउने हजार भेटिन्छन्।

उता देशको चाल हेर्दा फुट्न खोज्छ मेरो छाती,
आफू चढ्न अर्को ढलाउने हजार भेटिन्छन्।

मेची काली रुन्छ सधैँ, गाह्रो हुँदा सास फेर्नलाई,
सिमानाको जङ्गे पिल्लर हलाउने हजार भेटिन्छन्।

४,
कार्यक्रम हुँदा पटक-पटक आँखा जुधेका हुन्
सन्तोष अधिकारीसँग। पाँचैजना मध्ये अचाक्ली भरोषा गरेको गजलकार हुन् उनी। गृह जिल्ला भएरै यतिविधि आशा गरेको भए म पनि नातावादमा गनिएको स्वीकार्छु। सन्तोष मञ्चमा उभिँदा स्वयम् आफू उभिएको महसुस गरिरहेको थिएँ। त्यसैले पनि होला कोठाभित्रको चकचक बाहेक बाहिर कतैबाट फेसबुक लाइभ र अरूको लाइभ नजोडिरहेको मैैैले उनको वाचन लाइभ दिन हतार गरें। त्यसै बेला नेट खोल्दा हो उता नू भन्नी महारानी झनक्क झन्केको म्यासेज देखेको पनि। एकछिन् उनलाई बिर्सिएर म सन्तोषमा समाहित भएँ। यतिबेलासम्म महारानीले म्यासेज सिन गरेकी छैनन्।

पूरापूर गजललाई तरन्नुममा, पूरापूर गजल बहरमा,लय पनि नयाँ-नयाँ, हरेक सेरमा दार्शनिक भाव, यी बुडाले लुट्नु लुटेका हुन्। म उनको गजलको समीक्षा पटक्कै गर्न सक्दिनँँ। न सुझाव दिन नै तर पनि बुडाले बढि नै छुटको प्रयोग गरेका हुन्। मलाई त्यति जाती लाग्दैन जसले कता कति भद्दा बनाएको हो। कसैले पनि याद गरेनन् उनको गजलमा काफिया दोहोरिइरह्यो भन्ने कुरा र कतै मात्रै नपुगेका कुरा। किनकी गजलको भाव र उनको विचार, दर्शन र गायनले सबका सब मोहित थियौँ।

सायद कार्यक्रम भरी वहाँकै पालोमा होला सबका सबले एकै स्वरमा स्वर मिलाएको। यसरी स्वर मिलाउँदा एक अर्काप्रतिको सम्मान र प्रेम पनि झल्किंदो रहेछ। पुरै हल गुन्जाएका हुन् उनले। पटक-पटक वान्स मोर मात्रै हैन एउटा सिंगै गजल दोहोर्याएका पनि हुन्। उनी सराबी बनिरहेका थिए सेरहरूमा। यिनी अरूभन्दा बिलकुल फर लाग्थ्यो सराबी सेरका कारण। बिना टिकाटिप्पणी उनका गजल सेरहरू यसप्रकार छन्।

अात्मा जलेर हो की बोतल सारा पिएछ।
अाँखाभरि खरानी राखेर दौडिएछ।

केही अवश्य होला तिमीले ईमान राखे,
यही बुझेर नर्क स्वर्गमा छुट्टिएछ॥

अाफ्नै कुकर्म लेख्ने कस्तो सुकर्म मिल्यो?
अाफ्नै कलम सदा झैँ लेख्दैन रोकिएछ।

जित्नेछु धर्ती सोचे रित्तो स्वयं हुने हो।
ठूलो छ लाग्न पहिले सानो स्वयं हुने हो।

प्रश्नै नभेटिएलान् ज्ञानको भकारीभित्र,
सेतो नदेख्नलाई सेतो स्वयं हुने हो॥

अाँखा रहेछ गहिरो साह्रै कुरूप भन्यौ,
ऐना अगाडि तस्विर अाफ्नो स्वयं हुने हो।

जस्तै सजाय सोचौँ उनले बाटो बिराए,
रोकेर राकिदैन नासो स्वयं हुने हो।

अाशा गरेर हुन्न सबको नजरमा पर्न,
फाटे सिलाइ गर्दा टालो स्वयं हुने हो।

सुशील भद्र शालीन उदाहरण दिन्छन्।
सधैँ अोठमा नै ती बोली दबिन्छन्।

नजरमा नजर लौ जुधाइदे सन्तोष,
कहाँ भाव सारा गजलमा कहिन्छन्।

यस्तो मानिन्छ साथी पिउँदैन अाइदिन्छ।
बोतल सुँघेर सङ्गै जो लर्खराइदिन्छ॥

कैदी बनेर मात्रै जीवन बुझेर अायो।
रजनी थुनेर मात्रै सूर्य उदाइदिन्छ॥

सारा खराब भन्नु भन्दा प्रथम यो सोचौँ।
ऐना अगाडि बोले बोली दबाइदिन्छ॥

काटेमा एकधर्को लंका पुगिन्छ बुझ्नू।
बन्धन रहेछ खाँचो प्रष्टै बताइदिन्छ॥

झुप्रो सिँगार्न अायो अाफ्नै कुटुम्ब सोच्दा।
कमजोर भेद पाई झुप्रै हटाइदिन्छ।

क्षणिक प्राप्ति भएमा नै दुखी मान्ने कोही हुन्न।
नदीलाई किनार जस्तै न हो जान्ने कोही हुन्न॥

नजर बग्नै छाडेका हुन् रहस्य यो बुझेदेखि।
उजाड रुखको सहारामा शितल मान्ने कोही हुन्न॥

उडाइयो सगरमाथि लिई धागो नियन्त्रणमा।
भए चङ्गासरि जीवन माथि तान्ने कोही हुन्न॥

किनिएको बजार जस्तै मनोरञ्जन भए नारी।
यी दाषी हुन् उदाशीको समान मान्ने कोही हुन्न॥

नबोले मन हुने अस्थिर बोले खतरा शरीरको हो।
जमाना बदलियो कस्तो सहि छान्ने कोही हुन्न।

जहाँ हेर्छन् मेरा अाँखा भिडैभीडको भिडैभीड छन्।
म हूँ घर भत्किए जस्तो शिला हान्ने कोही हुन्न॥

५,
मीठो बोल्ने, कम बोल्ने एक शालीन व्यक्ति हुन् चक्र कार्की। मोतिजयन्ती विशेष सामूहिक गजल वाचनमा अन्तिम तथा पाँचौँ तथा मकता गजलकारको रूपमा उभिए गजलकार चक्र कार्की। अन्यथा नसोचियोस् मैले वहाँलाई लेखनमा नचिनेको रहेछु। कस्ता होलान् वहाँको गजल जो अन्तिम गजलकारको रूपमा छन्। मकता बन्न सक्छन् त? एक छिन् यो प्रश्न ममा दौडिरहेको थियो।

तर मञ्चमा उक्लिएर औपचारिकता पुरा गर्दै आफ्ना सेरहरूमा गर्जिन के पुगेका उनका गजल त विष्णुको चक्रजस्तै शक्तिशाली पो रहेछन्। विशेष गरी प्रवास, प्रेम, समाज, परिस्थिति सहजै उतारिएका यिनका गजल यो डायरीको सुरुमा राख्ने सेर मकता गजलकारबाटै वाचन भयो। म आँफैले पटक पटक वान्स् मोर भनेँ।

हाम्रै अभिमतले चुनिएर ठाउँ छोडी जानेहरूलाई
अपराधी बचाउने सोध्नुछ ,के-के छन् योजना भनेर?

“जीवन जिउने आधार केही परम्परामा छ।
रुख जति नै अग्लो होस् निर्भर जरामा छ।”

अचेल असल मान्छे पाइँदैन महलमा,
हजुरले खोजे जस्तै मान्छे टहरामा छ ।

बाँकी छ सुनाउनै पर्ने, महत्त्वपूर्ण फैसला,
अझै अपराधी बाहिर साक्षी कठघरामा छ।

उसले यो मुटुमा छोएपछि हो धड्कन बढेको,
भो नछुनुस् हजुरले पनि जीवन खतरामा छ।

मनसुन रोकिएपछि उदास छन् आशाहररू,
यो खडेरीको खबर न इन्द्र न अप्सरामा छ।

तिम्रो सिंंंदूरको इज्जत राख्नकै लागि हो,
मैले जीवन साटेको पनि राहदानी सँग ।

तिमी टाढिनुको कारण पनि भर्खर बुझ्दैछु,
सङ्गत मिल्दैन रहेछ आगोको पानीसँग ।

गजललाई गजलजस्तै बनाउन, गजलको सम्मानकै खातिर पनि उनले एउटा गजल गाए। गजल लेखन, वाचन र गायनमा पुगेपछि आशा छ कसैको पाउ नपरी स्वयम् गजलको अध्ययनमा डुब्नेछन्, गजलको मर्म बुझ्नेछन्, र पुन: पूर्ण गजल लेख्नेछन्।

थियो एउटा खास आशा तिमीमै,
मुनामै मलाई चुँडायौ नजरमा ।

यो गजलमा आइपुग्दा असाध्यै प्रसन्न भएको हुँ म। यति विधि सकारात्मकता नेपाली वरिष्ठ भनिएका कहलिएका लेखकहरूमा किन आउन्न? उनीहरूका आँखाले रातो बाकस बाहेक किन अरू देख्दैन। अरबबाट प्रत्यक्ष परेका सकारात्मक असरहरूलाई उनी गजलमा यसरी उन्छन्।

ऐलेसम्म साथ दिइरहेछ यो शरीरले पनि,
टारेकै हो सानो तिनो दु:ख जागिरले पनि ।

आजकल परदेश पनि घर देश झैँ लाग्छ,
अनेक हौसला थपिरहेछ मुदिरले पनि ।

पराइ भूमिमा बस्नुको मज्जा बेग्लै छ मित्र,
सम्झिन्छन् घरकाले पनि, मुसाफिरले पनि ।

खुसी लाग्छ अझै यहाँको असल पाटो देख्दा,
यहाँ कमाएर जीवन धान्छन् फकिरले पनि ।

हामीले दु:ख गरेको अरूको खुसीकै लागि हो,
जसरी अरूलाई खुसी राख्छ अबिरले पनि।

अन्तमा,
यसरी सभ्य र भव्य रूपमा पाँच गजलकारका गजल वाचन भए, सुन्नेहरूले मजा लिए, बीचमा उठ्नेहरूले पछुताए। कार्यक्रमलाई क्यामेरामा कैद गर्ने तिलु बाबा र प्रदीप सर बीचबीचमा अगाडि अगाडि हिँडेको कुराले पनि कत्ति छोएन यसपालि।

हल्ला भयो, रचनामा केन्द्रित भएनौँ भनेर बारबार गुनासो गर्ने म, कुरा बुझेँ । रचनाले रहेछ हल्ला गर्ने की शान्त बस्ने भन्ने कुरा। ध्यान पूर्ण रूपमा वाचकतिर मोडिएको थियो। सानातिना हल्ला बलीको बोको बनेका थिए। रचना वाचन हुँदा खाना, चिया नबाँडौँ भन्ने मैले, कतिखेर चिसो आएछ, कतिखेर पिइएछ पत्तो पाइनँ। यति बेसुर भएर रचना सुनेको पहिलोपल्ट हो।

उसो त कतार आएर खाता पाता समाएर उपस्थितिको हाजिर लिँदै हिँडेको पनि पहिलोपल्ट हो। सदा पाहुनाजस्तो भैइन्थ्यो। सचिव पदको आसन खाएपछि खाता लिएर हिँड्दा लाग्यो पदमा बसेर काम गर्न गाह्रै छ।

रचनाले यसरी पागल बनाएछ, पहिलोपल्ट भेटेको टपन सरलाई समेत वास्ता गरिएनछ। पछि केही समय मागेर गफ गरेँ। त्यतिन्जेल फोटो सेसन भयो। र सुरु भयो अर्को कार्यक्रम। त्यो भन्दा पहिले हँसिला, रमाइला विशिष्ट श्रोताबाट वाचन कार्यक्रमको समापन गरियो।

पत्रकार गणेश बन्जाडेको सक्रियतामा नयाँ अनेसास गठन हुने भयो। श्यामराज रानाभाट निवर्तमान बन्न पुगे। कति सजिलै प्रेम दाइ अध्यक्षमा चुनिए। बडि बन्यो। मोतीजयन्तीमा गजल मात्रै सुनेनौँ गजलको विकासमा सहयोग गरिरहेको संस्थाले अर्को नयाँ जोस पायो। यो कुराबाट सिक्नु पर्ने के छ भने सानो सानो पदका लागि मारामार गर्ने नेपालीहरू केही त सिक कतारबाट । कति सजिलै तयार हुन्छ यहाँ समिति,चाहे नवोदित होस् चाहे अनेसास।

अनेसासका नव कार्यसमितिलाई हार्दिक बधाई। पाँच गजलकारलाई हार्दिक धन्यवाद। यस्तो लाग्यो यी पाँच जनालाई अब वर्ल्ड टुरमा लिएर हिँडौँ र हरेक सहर तताऔँ। सपना ठुलो देख्न पर्छ भन्छु, मैले देखेँ। जहाँ गजलको लागि चाहिने सम्पूर्णता छ भने किन नसकिने.. सकिन्छ।

सामान्य भलाकुसारी हुँदै सबै बाहिरिन थाल्यौँ। हरिदेवी कोइरालालाई भेट्न गल्फ प्याराडाइजतिर पनि लाग्यौँ। ओहो! नेपाली चेलीहरू…कसले भन्ने हो अरबमा दुख छ…? पहिलो चोटि सेल रोटी र खीर खाना पाइयो। कोठा गएर के जाडु पनिउँ बजाउनु बरु त्यहीँ दुइटा रोटी बजाएँ। हामी जुन कामले गएका थियौँ खाजातिर भुल्नाले त्यो काम बनेन, हामी सबै निस्कियौँ।

तीर्थ दाइ, श्यामराज सर, ईश्वर सरसँग कोठा हानिएँ। एकै छिन् तीर्थ दाइको कुटीमा पसियो। देश,साहित्य र जीवनका बारेमा भलाकुसारी भए। विविध कुरा गर्दै कोठा फर्कियौँ।

यसपालिको दोहा अत्यन्तै रमाइलो र फरक भयो। तीज सकिएर पनि यतिबेलासम्म महारानीबाट सारी लगाएको तस्बिर आएको छैन। निराश हुने र?

प्रतिक्रिया दिनुहोस !