सल्लेरी, असोज १ गते । सोलुखम्बुको साप्ताहिक हाटबजारमा पछिल्लो समय आलुको अभाव भएको छ । फल्ने बेला आलुको दाम छैन भन्दै कृषकले आलु बिक्री गर्न नमान्दा आलुको मूल्य बढेको स्थानीय व्यापार दिनेश राईले बताउनुभयो ।

बजारमा आलुको मूल्य बढ्नुको कारण यस वर्ष आलु कम उत्पादन भएको कृषक जीवनकला राईले बताउनुभयो । उहाँका अनुसार बीउका लागि भण्डारण गरेर बाँकी रहेको आलु मात्र कृषकले बजार लैजाने गरेको भए पनि यस वर्ष बीउका लागि भण्डारण गर्दा बेच्ने आलु नै कृषकसँग नभएको हो ।
साप्ताहिक रूपमा लाग्ने हाटबजारमा आलुको अभाव भएकाले उपभोक्ता महँगो मूल्यमा आलु किन्न बाध्य छन् । यो वर्ष आलुको उत्पादन कम भएकाले पनि आलु बजारमा कम भएको हुनसक्ने व्यापारी सविन राईको भनाइ छ । सदरमुकाम सल्लेरी बजारमा प्रतिपाथी १२० रुपियाँमा कारोबार भइरहेको आलु अहिले १६० रुपियाँ पुगेको छ ।

बजारमा आलु कम मात्रामा आएका तथा बाहिर जिल्लाबाट आयातित आलु पनि वर्षात्का कारण सहज रूपमा आयात हुन नसक्दा समस्या भएको व्यापारी सविन राईले बताउनुभयो । कृषकको बारीमा नै आलु कम उत्पादन भएकाले बजारमा आवश्यक मात्रामा आउनु नसकेको उहाँले बताउनुभयो । यता उपभोक्ता भने व्यापारीले मूल्य बढाउनका लागि आलु लुकाएर बढी मूल्य कायम गरेको आरोप लगाएका छन् ।

Print

प्रतिक्रिया दिनुहोस !