
नायब महानिरिक्षकमा ११ दरबन्दी रिक्त रहेकाले पहिलो नम्बरमा बढुवा हुन एसएसपीहरु राजनितिक दौडधुपमा लागेको स्रोत बताउँछ। एसएसपीमा हाल सबैभन्दा सिनियर ब्याच आईजी खनालकै छ। खनालको ब्याचका पूर्णचन्द्र जोशी, विकास श्रेष्ठ, विनोद शर्मा घिमिरे र हरिभक्त प्रजापती एसएसपी छन्। सेवा अवधिका कारण चारै जनाले खनालसँगै अवकास पाउनेछन्। खनालकै वैकल्पिक ब्याचका चार जना पनि एसएसपी छन्।
एसएसपीहरु ठाकुरप्रसाद ज्ञवाली, तारिणीप्रसाद लम्साल, विरेन्द्र श्रेष्ठ र सुर्यप्रसाद उपाध्यायले २०४७ साल असार २७ गते सेवा सुरु गरेका थिए। ज्ञवाली, लम्साल र उपाध्याय २०७३ असार २८ मा एसएसपीमा बढुवा भएका हुन्। २०४९ बैशाख र चैतमा सेवा सुरु गरेका मध्ये २४ जना एक वर्षअघि अर्थात २०७४ सालको साउनमा एसएसपीमा बढुवा भएका थिए।
शैलेश थापा क्षत्री, निरजबहादुर शाही, हरिबहादुर पाल, गणेशबहादुर ऐर, बसन्तकुमार पन्त, प्रकाशजंग कार्की, घनश्याम अर्याल, प्रद्युम्न कार्की, ईश्वरबाबु कार्की, वीरेन्द्र श्रेष्ठ, पुरुषोत्तम कँडेल, डा देवबहादुर बोहरा, दिलीपकुमार चौधरी र राजेशकुमार लाल कर्ण, विश्वराज पोखरेल, धीरजप्रताप सिंह, उत्तमराज सुवेदी, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, सौरभ राणा, रामकृपाल साह, सन्जयराज शर्मा, लोकेन्द्रबहादुर मल्ल, दिवेश लोहनी र उमेश रञ्जितकार एकसाथ एसएसपीमा बढुवा भएका थिए।
शैलेश पहिलो नम्बरमा रहेर बढुवा भएका थिए। निरज, प्रधुम्न र हरि क्रमश दोस्रो,तेस्रो र चौथो स्थानमा थिए। विरेन्द्र श्रेष्ठले २०४७ असार २७ मा सेवा सुरु गरेपनि बढुवामा पछाडि पर्दै गएका थिए।
२०७६ माघ २९ गतेसम्म एआईजी पद रिक्त नहुने भएकाले अबको नयाँ आईजी सोझै डीआईजीहरुमध्येबाट नियुक्त हुने छ। प्रहरी प्रधान कार्यालय रिक्त डीआईजी दरबन्दीका लागि एसएसपीहरुको बढुवा गर्ने अन्तिम तयारीमा छ। ‘ डीआईजी बढुवामा अगाडि को रहन्छ भन्ने आधारमा भावी आईजीबारे निर्क्योल हुने भएकाले एसएसपी साबहरुको दौडधुप बढेको देखिएको छ’, गृह मन्त्रालय स्रोत भन्छ।
आईजी खनाल ब्याचका एसएसपीहरु जसरी पनि डीआईजीमा बढुवा हुन लागि परेका छन् भने उनको बैकल्पिक ब्याचका एसएसपीहरु डीआईजीमा बढुवा भएर पछि ५/६ महिनाका लागि भएपनि आईजी बन्ने योजनामा छन्। २०४९ सालको बैशाख र चैत(वैकल्पिक ब्याच)मा सेवा सुरु गरेका एसएसपीहरुबीच बढुवामा अगाडि रहेर आईजी बन्ने सम्भावना बलियो बनाउने कसरत यतिबेला तिव्र छ।
वर्तमान आईजी खनाल ९ महिनाको अन्तरमा एसएसपीबाट आईजी बनेका थिए। डीएसपीबाट एसएसपी हुँदासम्म पहिलो नम्बरमा रहेका रमेश खरेललाई डीआईजी बढुवामा पछाडि पारेका सर्बेन्द्रले आईजीमा बाजी मारेका थिए। सर्बेन्द्र पनि डीआईजीबाट सोझै आईजी नियुक्त भएका हुन्। यसपछि खरेलले डीआईजीबाटै राजिनामा दिएका थिए।
त्यसअघिको आईजी नियुक्तीमा ठुलै विवाद भएको थियो। सरकारले वरियतामा पछाडि रहेका तत्कालिन डीआईजी जयबहादुर चन्दलाई आईजी नियुक्त गरेपछि पहिलो नम्बरमा रहेका तत्कालिन डीआईजी नवराज सिलवाल सर्बोच्च अदालत पुगेका थिए। सर्वोच्चको फैसलापछि सरकारको निर्णय बदर भएको थियो। कार्य सम्पादन मुल्यांकनमा प्रकाश अर्याल अगाडि रहेको भन्दै सरकारले डीआईजीमा दोस्रो नम्बरमा रहेका अर्याललाई आईजी नियुक्त गरेको थियो। त्यसपछि सिलवालले राजिनामा दिएका थिए।