हेटौंडा, ३ असोज । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले संविधान दिवस ऐतिहासिक भएको बताउनुभएको छ ।
चौथो संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले ऐतिहासिक दिनलाई सबैले राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक पटक गर्दै आएको दिनको रुपमा स्मरण गर्नुभएको छ ।
ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै ऐतिहासिक आन्दोलनहरुमा शाहदात प्राप्त गर्ने सम्पूर्ण शहीद तथा बेपत्ता र पीडित नागरिकहरुलाई सम्मान गर्नु हामी सबैको कर्तव्य रहेको उहाँको धारणा रहेको थियो ।

उहाँले भन्नुभयो–‘ हामी अहिले संविधानको कार्यान्वयनको चरणमा छौ । यस क्रममा संविधानले परिकल्पना गरे बमोजिम तीनवटै तहको निर्वाचन सम्पन्न भई कार्यकारीणी र विधायिकी निकायको गठन भएको पनि केही समय व्यतित भइसकेको अवस्था रहेको छ । नेपालको सन्दर्भमा संघीय राज्य प्रणाली नयाँ प्रयोग हुन सक्ला तथापि यसको सफल अभ्यास मार्फत जनतालाई यथासम्भव उनिहरुको निकटबाट सेवा र विकासको प्रवाह गर्ने, प्रत्येक नागरिकलाई आफ्नो विकासको आवश्यकताको छनौट गर्ने अवसर प्रदान गर्ने, निक्षेपणको माध्यमद्वारा अधिकारको विकेन्द्रीकरणलाई जनस्तरसम्म पु¥याउने र सरकारका तहहरुबीचको स्वस्थ्य प्रतिष्पर्धा मार्फत तिब्र संमृद्धिलाई सुनिश्चित गर्ने जस्ता विश्वव्यापी मान्यताहरुलाई सार्थक तुल्याउन सरकारसँगै सबै राजनीतिक दल, निजीक्षेत्र, सहकारी र नागरिक समाजले हातेमालो गरी सहकार्यका साथ अघि बढ्नुपर्ने आवश्यकता छ ।’
संविधानले सभ्य, सुस्कृत र एउटा आदर्श समाज निर्माणका लागि मार्गदर्शन गर्दछ र ती मार्गदर्शनहरुलाई आत्मसात गर्न सकियो भने मात्र हामीले समृद्ध राष्ट्र निर्माण गर्ने र सम्मानसाथ जीवनयापन गर्ने लक्ष्य पूरा गर्न सक्ने मुख्यमन्त्री पौडेलले बताउनुभयो ।

नेपालको संविधानले एकात्मक राज्यको अन्त्य गर्दै बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक तथा भौगोलिक विविधतालाई आत्मसात गरेको छ । त्यसैगरी संविधानले विविधताबीचको एकता, सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै सबै प्रकारका विभेद अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने संकल्प लिएको बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले भन्नुभयो–‘संविधानले जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिवद्ध रहि समृद्ध राष्ट्र निर्माण गर्ने अठोट लिएको छ ।’
उहाँले नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित गर्दै यो संविधानले नागरिकका मौलिक हक र कर्तव्यलाई अक्षुण राखेको बताउनुभयो । संघीय राज्य प्रणाली मार्फत राष्ट्रिय एकता सुदृढीकरण गर्न र सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागितामा दिगो आर्थिक विकासको लक्ष हासिल गर्न संविधानले मार्ग प्रशस्त गरेको समेत उहाँको भनाई थियो ।

उहाँले संविधानले संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने गरी प्रदेश सरकरले दिशानिर्देश गरेको बताउनुभयो ।

कार्यक्रममा ३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, भौतिक पुर्वाधार विकास मन्त्री केशव स्थापित, उद्योग, पर्यटन, वन तथा वाताबरण मन्त्री अरुण नेपाल, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, भूमी व्यबस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जेलामा, सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रमुख सचिब आनन्दराज ढकाललगायत सहभागि थिए । कार्यक्रम अघि निकालिएको यालीले हेटौंडा बजार परीक्रमा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !