व्यक्तिगत जीवनलाई नियाल्ने फुर्सद निकाल्न नजान्ने नेतामध्य एक हुन् भरतपुर महानगरकी मेयर रेनु दाहाल ।
पार्टी राजनीति होस् वा जननिर्वाचित प्रतिनिधि भएपछि आफूले पाएका पदीय जिम्मेवारी पूरा गर्न हरेक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्न कुनै कसर बाँकी नराख्ने मेयर दाहाल आफूलाई कामले नै चिनाउन रुचाउँछिन् ।

“म आफ्नो काम र जिम्मेवारीप्रति कसैले प्रश्न गर्ने मौका दिन्नँ, मलाई चिन्नेहरुले यसरी नै चिन्छन्”, उनले भनिन् “यो मेरो सिद्धान्त नै हो ।”
आफूले बाल्यकाल र किशोरावस्था बिताएको चितवनमा करिब २५ वर्षपछि नेतृत्वकर्ता बनेर फर्किदा उनका अतितका स्मरण ताजा बनेका छन् ।

पटिहानीको धनौजी प्राथमिक विद्यालय र तत्कालीन अमर मावि (हालको अमर उच्च मावि) मा सँगै अध्ययन गरेका थुप्रै सहपाठी अहिले भेट भएका छन् । अन्तरमुखी स्वभावकी रेनु राजनीति गर्ने भइन् रे भन्दै दंग पर्ने साथी पनि छन् उनका । साथी भएकै नाताले थुप्रैले स्थानीय तह चुनावका बेला सहयोग गरे । निकै ठूलो गोल रहेको परिवारमा आफन्तजनसँगको पुनर्मिलन पनि अद्भूत लागेको छ रेनुलाई । तर, उनी आफ्नो पदीय दायित्वलाई प्राथमिकतामा राख्न चुक्दिनन् । महानगरपालिकाको मेयर भएपछि सामान्यदेखि ठूला कामहरु पनि भनसुनको आधारमा गराउन चाहनेहरु, उनको काम गराईको कडा मिजासमा पर्ने गरेका छन् । उनले भनिन्, “म गलत गर्दिनँ र गलत गर्न पनि दिन्नँ ।”

दुई सन्तानकी आमा रेनुले निकै सन्तानसँग निकै कम समय बिताएकी छन् । छोरीलाई दुई वर्ष र छोरालाई दुई वर्ष हुर्काएपछि सासूससुराको हेरचाहमा छोडी राजनीतिमा सक्रिय रहेकी रेनु अहिले पनि सन्तानसँग रमाउने, घुम्ने समय निकाल्न जान्दिनन् । “उनीहरु घुम्न जाने, चाडपर्व, जन्मदिन जस्ता विशेष अवसर मनाउनेजस्ता रमाइलोमा सामेल होस् भन्ने चाहन्छन् । तर, म मेसो नै मिलाउन जान्दिनँ”, उनले भनिन्, “सामाजिकरुपमा हिँडेपछि केही छुट्छ भनेर सम्झाउने गर्छु ।”

उनकी २० वर्षीया छोरी प्रतिभा पाठक बीबीए अध्ययनरत छिन् । दश वर्षीय छोरा प्रवल ६ कक्षा पढ्छन् । उनीहरु काठमाडौंमा हजुरबुवा र हजुरआमासँग बस्छन् । रेनु र उनका श्रीमान् अनिलकुमार पाठक चितवनमा बस्छन् ।

आमाको व्यस्तताले छोराछोरीमा कति प्रभाव पर्छ भन्ने कुराको ठूलो उदाहरण उनको परिवारमा छ । आमा चितवनमा चुनाव लड्ने र जिते चितवनमै बस्ने थाहा पाएर उनका छोराले रेनुलाई चुनाव हारे हुन्थ्यो भने । उनीहरुको पढाइ काठमाडौंमै भएको कारण आमासँग बस्न नपाउने भो भन्ने डर उनलाई लागेछ । “२०७४ सालको स्थानीय तह निर्वाचनको बेला मलाई मेरो छोराले चुनाव हारोस् भन्ने कामना गरेको थियो”, उनले मुस्कुराउँदै भनिन्, “उसलाई मसँग बस्ने समय मिल्दैन भन्ने चिन्ता रहेछ, उसको बालमनोविज्ञानमा आघात नपर्ने गरी सम्झायौं, अहिले सबै ठीक छ ।”

छोरी प्रतिभा राजनितिबारे जानकारी राख्दिनन् । तर, आफ्नी आमा भरतपुर महानगरको मेयर भइसकेपछि केही चासो दिन थालेकी छन् । देशका अन्य मेयर÷उपमेयरका बारेमा साथीहरुले गरेका टिकाटिप्पणीबारे आमालाई सुनाउँदै आमालाई सधैं तारिफयोग्य काम गर्न हिम्मतसमेत दिने गर्छिन् । “धेरैको बारेमा ‘नेगेटिभ’ गफ हुन्छ, हजुरको त तारिफ मात्र सुनेको छु, सधैं यस्तै काम गर्नु है भन्दै साथीहरुले गरेका गफ सुनाउँछे”, दाहालले भनिन्, “उसका कुराले मलाई थप ऊर्जा मिल्छ ।”

बीबीए पढ्न अमेरकिा जान चाहेकी छोरीलाई रेनुले नै रोकेर नेपालमै अध्ययन सुरु गराएकी हुन् । देश बनाउन विदेश गएर होइन नेपालमै रहेर परिवर्तन ल्याउनुपर्छ भन्ने उनको मान्यता छ । “आफ्नै सन्तान विदेश पठाउने नेताले जनताका सन्तान पठाउन कसरी रोक्ने ?”, उनले भनिन् ।

२०५२ साल फागुन एक गते देशमा जनयुद्धको घोषणा भएपछि बाबु पुष्पकमल दाहाल प्रचण्ड पूर्णतः भूमिगत भए । बाबुसँगै आमा सीता दाहाल पनि राजनीतिकै लागि घर छाडेर हिडिन् । पटिहानीको अमर मा.वि.मा दश कक्षामा पढ्दै गरेकी रेनु, ९ कक्षामा पढ्ने बहिनी गंगा र ८ कक्षामा पढ्ने भाइ स्व. प्रकाशलाई लिएर काठमाडौंको गोंगवु सर्नुप¥यो । त्यहींको एक विद्यालयमा भाइ बहिनीको पढाइ सुरु गरी पार्टीकै एक कार्यकर्ताको रेखदेखमा ५ महिना जसोतसो बसेका उनीहरुलाई ६ महिना नबित्दै सास्तीपूर्ण जीवन बिताउनुपर्ने अवस्था आयो । त्यसपछि सबलेै पढाइ छोडेर बाबुआमासँगै भूमिगत भए ।

रेनुमा त्यसबेलासम्म राजनीतिक आत्मजागरण भने भइसकेको थियो । देशका अन्य नेताहरुले आफू जतिसुकै राजनिति गरेपनि आफ्ना सन्तानलाई विदेश पठाएर शिक्षा र सुखसयलमा राखेको देखेको बताउने रेनुले आफूहरुलाई बाबुले सँगै हिँडाएकै कारण देशको वास्तविक समस्यालाई नजिकबाट नियाल्न सकेको बताउँछिन् । “देशको शिक्षामा परिवर्तन ल्याउन चाहनेले आफै पनि देशको शैक्षिक वातावरणमा रहन आवश्यक छ”, उनले भनिन्, “म मेरा दुबै सन्तानलाई यहीँ शिक्षा आर्जन गर्न प्रेरित गर्छु ।”

२०३३ साल असार २२ गते जन्मिएकी रेनुको बिहे १८ वर्षमै भएको हो । जनयुद्ध सुरु भएको ठीक एक वर्ष पुग्नै लाग्दा २०५३ साल माघ २७ गते रेनु र बहिनी गंगाको एकैदिन बिहे गरी बाबुआमाले छोरीको जिम्मा सुम्पिए । आफूहरु जनयुद्धमा होमिएका कारण उनीहरुलाई छोरीको चिन्ता थियो । त्यसैले सानै उमेरमा छोरीप्रतिको दायित्व पूरा गरे । बिहेको सोचाइ पनि नभएका बेला पार्टीले नै निर्णय गरी उनीहरुको बिहे गरिदिएको थियो । जनयुद्धकालीन राजनीतिक र पारिवारिक परिवेशको हिसाबले पनि त्योबेला बिहे आवश्यक रहेको रेनुको भनाइ छ ।

भूमिगत राजनीतिको क्रममा भारतमा रहेका पुष्पकमलले आफ्ना सहयोगी टेकबहादुर पाठकका छोरालाई आफ्नी छोरी सुम्पिएका थिए । भूपू सैनिक रहेका प्रचण्डका सम्धी पाठकले त्यो समयमा माओवादी नेतृत्वलाई पहिलोपटक बन्दुक चलाउन सिकाएका थिए भने बुहारी रेनुले पनि ‘सेल्फ डिफेन्स’ (आत्मसुरक्षा)को क्लास लिएकी थिइन् । बाबु ‘होलटाइम’ (पूर्णकालीन) राजनीति गर्ने हुँदा मध्यम वर्गीय परिवारमा आर्थिक अभाव कम गर्न मामाघरमा हुर्काइएकी रेनुले राजनीतिक वातावरणमा घुलमिल हुने मौका निकै कम पाएपनि आफैमा जागृत राजनीतिक जागरणले यसतर्फ तानिदै गइन् । संयोगवश घरतर्फबाट पनि सहयोग मिलेपछि उनी पूर्णतः राजनीतिमा प्रवेश गरिन् ।

भारतमा रहँदा अखिल भारत नेपाली महिला संघ केन्द्रीय अध्यक्ष, रोल्पाका कठिन उकाली ओरालीमा पार्टीको सहइञ्चार्जको भूमिका र २०६४ सालदेखि स्थानीय तह निर्वाचनसम्म काठमाडौंमा पार्टी सचिवको भूमिकामा आफूलाई खरो सावित गरेकी रेनु अहिले देशभरकै महानगरको पहिलो महिला मेयर हुन् ।

२०७४ सालको स्थानीय चुनवमा रेनुलाई भरतपुर महानगरको मेयर पदमा उम्मेद्वार बनाउँदा बाबुको करण पदमा आउन लागेको आरोप लगाइयो । तर, यस्तो भ्रम फैलाउनुलाई विरोधी पक्षको कमजोर हत्कण्डा भन्न रुचाउँछिन् उनी । “हरेक बाबुआमा आफ्नो सन्तानले आफ्नै पेशाकर्मलाई निरन्तरता देओस् भन्ने चाहन्छ । तर, सन्तानमा त्यो हुटहुटी र गर्न सक्छु भन्ने आँट नभई सम्भव हुन्छ र ?”, उनले प्रश्न गरिन् । रेनु को हुन् र उनको नेतृत्व कस्तो हुन्छ भन्ने छनकसम्म नपाएकाहरुले अहिले आएर चिनेको उनले बताइन् ।

रेनुको काँधमा आफूलाई मात्र नभई सबै महिला सक्षम छन् र नेतृत्व लिन सक्छन् भन्ने सावित गर्ने जिम्मेवारी छ । अधिकांश समय भरतपुरको स्वरुप परिवर्तन, समृद्ध शहर निर्माणका योजना, गर्न सकिने कामबारे जानकारी लिने तथा कार्यान्वयनका लागि सक्दो पहल गर्न उनी तल्लिन रहन्छिन् । महिलाहरुमा पुरुषभन्दा बढी लगनशीलता, इमानदारिता र पारदर्शीता छ भन्ने मान्यता मेयर दाहालको छ । “देशमा अहिलेसम्म महिलाले सम्हालेका कुनैपनि भूमिकामा दायित्व पूरा गर्न नसकेको आरोप लागेको छैन नि होइन र ?”, उनले प्रश्न गर्दै भनिन्, “महिला भएरै महिलाको पक्षमा बोलेको होइन तर यो नै यथार्थ हो ।”

यही सिद्धान्त, अनुभव र मान्यताले भरतपुरलाई महिलाले हाँकेको समृद्ध महानगर बनाउन उनी रातोदिन खटिरहेकी छन् । भन्नेहरुले भन्छन्, रेनुसँग विकास अवधारणा छैन, उनीसँग रणनीतिक कौशल छैन । तर, यस्ता कुरामा रेनुलाई कुनै मतलब छैन । भन्छिन्, “भन्नेले जे भनून्, काम गरेर देखाउने हो, गरिरहेकी छु ।”

तीन प्रश्न
१.जीवन के हो ?
जीवन एक निरन्तर प्रक्रिया हो, जहाँ हर कदममा संघर्ष छ । आरोह अवरोहको संगम हो जीवन ।
२. संघर्षलाई कसरी परिभाषित गर्नुहुन्छ ?
मुक्ति या मृत्यु भनेर जनयुद्धमा होमिएका थियौं । देशमा अहिले आएको युगान्तकारी परिवर्तन माओवादी आन्दोलनकै देन हो । मृत्युलाई पनि जितेर आएको संघर्षको प्राप्ति सन्तोष गर्न लायक छ भन्न सक्ने भएका छौं । यद्यपि संघर्षको स्वरुप भने फेरिइरहेकै हुन्छ ।
३.जीवनमा सफलता प्राप्ति भनेको के हो ?
हामीले व्यक्तिगत जीवनभन्दा पनि समाज, देश र जनताको लागि भनेर काम गरेका हौं । हाम्रो कर्मको फल हामीले मात्र नभई आम जनताले पनि भोग्ने हुदाँ संघर्षले कस्तो प्रभाव पा¥यो, जनता सन्तुष्ट छन् कि छैनन् भन्ने कुरामा अर्थ राख्छ । उनीहरु सन्तुष्ट छन् भने त्यही नै सफलता हो ।

प्रस्तुतिः प्रमिता ढकाल

प्रतिक्रिया दिनुहोस !