
चितवन, ९ असोज । नेपालमा वर्षेनी ३५ हजार मानिसलाई क्यान्सर रोग लाग्ने गरेको तथ्य सार्वजनिक भएको छ ।
चितवनको भरतपुरमा रहेको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले मंगलबार अस्पतालमा पत्रकार सम्मेलन गर्दै नेपालमा हरेक एक लाख मध्ये एक सय २० जनामा क्यान्सर रोग लाग्ने गरेको बताएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डाक्टर विजयचन्द्र आचार्यका अनुसार नेपालमा क्यान्सर रोग लाग्ने मध्ये २० प्रतिशतको मात्रै रोग पत्ता लाग्ने गरेको बताए । केही व्यक्तिको अस्पतालमा उपचार गर्न ल्याउने क्रममा मृत्यु हुने तथा केही व्यक्तिको रोग पत्ता नलाग्दै मृत्यु हुने गरेको आचार्यको भनाइ छ ।
अस्पतालको तथ्यांकअनुसार हाल नेपालमा करिब ६० हजारभन्दा बढी क्यान्सरका बिरामी रहेका छन् । यस्तै क्यान्सरका ८५ प्रतिशत बिरामीहरु अझैपनि स्वास्थ्य सेवाबाट बाञ्चित रहेको विज्ञहरुले बताएका छन् । हाल नेपालमा १५ प्रतिशत बिरामीमात्र अस्पतालसम्म आईपुग्ने गरेको उनीहरुको भनाई छ ।
यी मध्ये ९ हजार पाँच सय जना बिरामी उपचार गर्न अस्पताल सम्म आउने गरेको वि.पि.कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको क्यान्सर अनुसन्धान विभागका प्रमुख भोला सिवाकोटीले जानकारी दिए।
यसमा भरतपुर क्यान्सर अस्पतलामा पाँच हजार बिरामी उपचार गर्न आउने गरेका छन् ।
नेपालमा हालसम्म पनि कति क्यान्सरका रोगी छन् र बर्षे्नि कतिको मृत्यु हुन्छ भन्ने आधिकारी तथ्यांक नभएपनि विश्व स्वास्थ्य संगठनको तथ्यांक मान्ने हो भने वार्षिक २५ देखि देखि ३० हजार नयाँ बिरामी देखा पर्नेे गरेको सिवाकोटीले जानकारी गराए ।
क्यान्सर अस्पताल भरतपुरमा विभिन्न जिल्लाबाट आएका बिरामीमध्ये फोक्सो, पाठेघरको मुख, स्तन, लिम्फग्रन्थी, पेटको, रगत, घाँटीको, मस्तिष्क, दिसा गर्ने नली र छालाको क्यान्सर प्रमुख रुपमा पाइएको छ ।
विश्वमा हरेक वर्ष करिब एक करोड २० लाख नयाँ क्यान्सरका बिरामी भेटिने गरेका छन् । त्यसमध्ये ९६ लाख व्यक्तिको मृत्यु हुने गरेको भरतपुर क्यान्सर अस्पतालले जानकारी दिएको छ ।
क्यान्सर अस्पताल भरतपुरका अनुसार सबैभन्दा बढी फोक्सोको क्यान्सर देखिएको छ । त्यसपछि स्तन क्यान्सर, ठुलो अन्द्रा, छाला र आमाशयको क्यान्सरका बिरामी छन् । नेपालमा वार्षिक पाँच हजार नयाँ क्यान्सर रोगी थपिने गरेका छन् ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सन् २०१७ मा ४ हजार ९ सय ७५ जना क्यान्सरका बिरामीले उपचार पाएका छन् । नेपालमा साढे ९ हजार क्यान्सरका बिरामी फेला परको र बाँकी साढे ४ हजार क्यान्सरका बिरामीले विदेश वा स्वदेशका अन्य अस्पतालबाट सेवा लिएको हुन सक्ने अस्पतालको भनाई छ ।
क्यान्सर लाग्नुको मुख्य कारण आधुनिक जीवनशैलीलाई मानिएको छ । गुणस्तरहीन खानपान, शारीरिक व्यायाम नहुनु र बढ्दो प्रदुषणले क्यान्सर रोगीहरु वृद्धि हँुदै गएका छन् । क्यान्सर नसर्ने रोग भएपनि अल्पविकसित मुलुकका मनिसहरु समयमै अस्पतालसम्म पुग्दैनन् । नेपालमा क्यान्सरबाट बार्षिक कति मानिसको मृत्यु हुने गरेको छ भन्ने अहिलेसम्म तथ्याङ्क निकाल्न सकिएको छैन ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट सन् २०१७ मा एक लाख २५ हजार ४१ जनाले ओपिडि सेवा लिएका छन् । यो संख्या अघिल्लो बर्षभन्दा ३९ हजारले बढी हो । अस्पतालले १ सय ९४ बेडबाट सेवा दिइरहेको भएपनि भदौदेखि बेड थप गरेर ४ सय ५० पु¥याइएको छ । अस्पतालले रेडियोलोजी, ओटी थप गरी यस वर्षदेखि क्यान्सरका बिरामीलाई अन्य अस्पताल रेफर नगर्ने जनाएको छ ।
७० प्रतिशत क्यान्सर खानपानका कारण लाग्ने गरेको छ । क्यान्सर रोगलाई नियन्त्रण गर्नका लागि बी.पी.कोईराला मेमोरियल अस्पतालले ५४ वटा जिल्लाका स्वास्थ्य कर्मीलाई तालिम तथा ३६ जिल्लाका माध्यमिक विद्यालयका १ हजार ५ सय विद्यार्थीमा क्यान्सर रोगथाम सम्वन्धि चेतनामुलक कार्यक्रम गरिएको अस्पतालले जानकारी दिएको छ ।
प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको उपस्थितिमा भरतपुरको क्यान्सर अस्पतालले विविध कार्यक्रमसहित बुधबार १९ औँवार्षिकोत्सव तथा १४औँ क्यान्सर सतर्कता दिवस मनाउँदैछ ।