काठमाडौं, असोज १२ ।   प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको एकपक्षीय नीतिप्रति असहमति जनाएका छन्।   संयुक्त राष्ट्रसंघको ७३ औं महासभालाई बिहीबार राति सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकपक्षीय नीतिको विपक्षमा उभिएको जानकारी गराएका हुन्।

उनले बहुपक्षीय सद्भाव विश्वको आवश्यकता रहेको बताए। ‘विश्वस्तरका समस्या समाधान गर्न साझेदारी र सहयोगको नीति अपनाउनुपर्छ’, उनले भने, ‘नेपाल मानवअधिकारको संरक्षण, सुरक्षा र समानताको पक्षमा रहेको छ।’

 

 

 

नेपालले  तिनै तहको निर्वाचनपछि प्राप्त गरेका राजनीतिक उपलब्धिबारे पहिलो पटक विश्व फोरममा जानकारी गराउँदै प्रधानमन्त्री ओलीले वार्ता, आपसी सद्भावका कारण शान्तिप्रक्रिया सफल भएको जानकारी गराए। प्रधानमन्त्री ओलीले बिम्स्टेक र सार्कले क्षेत्रीय विकासमा सहयोगी हुने बताए।

त्यस्तै ओलीले आतंकवादको सँधै विपक्षमा रहेको बताउँदै विना शत्रुता, सबैसँग मित्रताको पक्षमा नेपाली परराष्ट्र नीति रहेको प्रधानमन्त्रीको भनाइ छ। उनले स्वतन्त्रताको लडाइँमा रहेका यमन, सिरिया, प्यालेस्टाइनका जनताको मागको सुनुवाइ हुनुपर्ने बताए।

नेपालको संविधान लोकतन्त्र, स्वतन्त्रता, शक्तिको बाँडफाँड, स्वतन्त्र न्यायालय, आवधिक चुनावलगायतका विषयमा स्पष्ट रहेको बताए। नेपालमा ४१ प्रतिशत महिला निर्वाचित जनप्रतिनिधि भएको र अझै ९ प्रतिशतले सहभागिता बढाउन सरकार प्रतिबद्ध रहेको जानकारी गराए।

प्रतिक्रिया दिनुहोस !