
काठमाडौँ, १२ असोज । गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपाल भ्रमणमा रहनुभएका भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास सम्बन्धी मन्त्री धमेन्द्र प्रधानले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
गृहमन्त्रालयमा भएको भेटमा नेपाल–भारत द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यको विषयमा छलफल भएको थियो ।
गृहमन्त्री थापाले नेपालको हरेक क्षेत्रमा भारतले गर्दै आएको सहयोग सराहनीय रहेको भन्दै आगामी दिनमा समेत सहयोगको निरन्तरताका लागि आग्रह गर्नुभयो ।
उहाँले नेपाल–भारतको पेट्रोलियम पदार्थ सम्बन्धी निर्माणाधिन परियोजनाहरु छिट्टै सम्पन्न गर्न मन्त्री प्रधानको भ्रमणले सहयोग पुग्ने विश्वाँस व्यक्तगर्नुभयो ।
भारतीय मन्त्री प्रधानले नेपाल र भारतबीच सामाजिक, आर्थिक, सास्कृतिक हरेक क्षेत्रमा ऐतिहाँसिक कालदेखिनै सम्बन्ध रहेको चर्चा गर्दै यो सम्बन्ध थप मजबुत बनाउँदै लैजानुपर्ने बताउनुभयो ।
दुई देशको सहकार्यमा निर्माण भईरहेको पेट्रोलियम पदार्थ सम्बन्धी परियोजनाले दुबै देशका लागि फाईदाजनक रहेको टिप्पणी गर्नुभयो ।
भेटमा नेपालका लागि भारतीय राजदुत रणजित रायपनि सहभागी हुनुहन्थ्यो ।