वार्षिक एक लाख मेट्रिक टन मात्रै आयात गर्न पाउने गरी सरकारले परिमाणात्मक बन्देज लगाएको छ। राजधानीको अनामनगरस्थित भण्डारी स्टोरमा तोकिएको चिनीको फरक मूल्य। दसैं नजिकिए सँगै विभिन्न ठाउँमा आफूखुसी चिनीको मूल्य राखिँदा उपभोक्ता मारमा परेका छन्। ‘सरकारले चिनी आयातको भन्सार बढाएर ३० प्रतिशत पुर्याउँदा पनि किसानले उखुको भुक्तानी पाएनन्।
न त सरकारले अनुगमन नै गर्यो,’ पूर्वआपूर्तिमन्त्री समेत रहेका लेखराज भट्टले भने, ‘चिनीमा ठूलो आर्थिक चलखेलकै कारण आयात रोकिएको छ।’ आयात बन्देज लगाउँदा १ अर्ब ६९ करोड रुपैयाँको चलखेल भएको सुन्नमा आएको उनले बताए।
‘चिनी उद्योगहरू बोर्डरमा छन्। पारिबाट ल्याएर नेपाली उत्पादनको छाप लगाएर बिक्री हुन्छ। मन्त्रालयको ध्यान किन पुग्दैन?’ उनले भने, ‘ठूलो चलखेल छ। लेखा समितिले छानबिन गर्नुपर्छ।’ लेखा समितिका पूर्वसभापति हृदयेश त्रिपाठीले उद्योगीले सरकारलाई ‘चुना’ लगाए पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सहेर बसेको आरोप लगाए। ‘किसानलाई वर्षौंदेखि चुना लगाएका थिए।
लाचार देखेर यस वर्ष सरकारलाई पनि चुना लगाए,’ उनले भने, ‘चिनीको एकाधिकार एकैठाउँमा सीमित गराए।’ एकाधिकार भएपछि बजार मूल्य बढेको उल्लेख गर्दै उनले यसमा सरकारको प्रमुख भूमिका रहेको आरोप लगाए। ‘५२\५३ रुपैयाँको चिनीलाई ६२ भन्नु निर्लज्जताको हद हो,’ उनले भने, ‘सरकार मूल्यवृद्धिका लागि सहायक सावित भएको छ।’