दीपेन्द्र भण्डारी-
टीकापुर, १६ असोज÷कैलाली जिल्लाको भजनी अन्तर्गतका मरिया, गुलरिया लगायतका ठाउँबाट तस्करी बढेको छ । चाँडपर्व नजिकिँदा तस्करी बढेको हो । दैनिकरुपमा लाखौ रुपैयाँको राजस्व चुहावट भई रहेको छ । प्रहरीले रकम असूली गर्दै तस्करीमा छुट दिँदै आएको छ ।
रकम असुलिकै लागि बिभिन्न प्रहरी अधिकृतहरुले घुमुवा राखेका छन् । धेरै जसो प्रहरी अधिकृतले रकम असुलिकै लागि मात्र घुमुवालाई प्रयोग गर्ने गरेका छन् । माग अनुसार तथा समयमै रकम दिने तस्करलाई त कुन बाटो तस्करीको सामान लग्ने भनेर सल्लाह समेत प्रहरीले नै दिने गरेको समाचारस्रोत बताउँछ ।
हाल सबै भन्दा बढी कपडा र किराना सामान बिना भन्सार नेपाल भित्र्याइने गरिएको छ । सामान भित्र्याउँदा सबै भन्दा बढी मोटरसाइकल प्रयोग गरिएको स्रोत बताउँछ । धेरैजसो तस्करीमा संलग्न व्यापारीले सामान भित्र्याउदा दुई नम्बर मोटरसाइकल प्रयोग गर्ने गरेको बताइएको छ ।
भजनीबाट भित्र्याइएको तस्करीको सामान टीकापुर सम्म ल्याइने गरिएको छ । बाणी हुँदै नारायणपुरबाट भित्रि गाउँ हुँदै टीकापुर सम्म पुगाउने गरिएको बताइएको छ ।
नारायणपुर बजार संग जोडिएका गाउँहरु प्रहरी चौकी सत्तीको इलाकामा रहेका छन् ।
यसैगरी केहि दिन अघिमात्र स्तरोन्नती भएको सत्ती छोटी भन्सार कार्यालय खक्रौलाले यस आर्थिक वर्षको साउनमा ४२ लाख १४ हजार २ सय ६४ रुपैयाँ राजस्व संकलन गरेको छ ।
यसैगरी भदौमा ३० लाख २९ हजार ९ सय ९६ रुपैयाँ र असोज १ गतेदेखि १५ गते सम्म ८ लाख ६० हजार ५ सय ५७ रुपैयाँ राजस्व संकलन गरेको भन्सारका नायव सुब्बा अमृत घिमिरेले बताए । घिमिरेका अनुसार हाल सम्म सत्ती छोटी भन्सारको नामबाटै प्रज्ञापनपत्र काट्ने गरेको बताए । विभागले अब एक÷दुई दिनमा १६ जना कर्मचारी खटाउने छ । तर नजिकै आएको चाँडपर्वले दशैपछि सम्म ती कर्मचारी उपस्थित हुन सक्ने घिमिरेले जानकारी दिए ।