काठमाडौँ, असोज १७ गते । काठमाडौँ उपत्यका प्रवेशको मुख्य नाका नागढुङ्गा सडक केही दिनका लागि रातिको समयमा अवरुद्ध भएको छ ।
नागढुङ्गादेखि पिपलाबोटसम्मको सडक कालोपत्रे गर्नुपर्ने भएकाले साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म सडक अवरुद्ध भएको जानकारी सडक विभागले दिएको छ ।

विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठका अनुसार, यातायात सेवा सञ्चालनमा समस्या नहोस् भन्नका लागि रातिको समयमा सडक कालोपत्रे गर्ने कार्य भइरहेको छ । कालोपत्रे गर्ने कार्य सोमवार रातिबाट नै शुरु भएको छ ।
विभाग अन्तर्गतको सडक डिभिजन कार्यालयले सात दिनभित्रमा नागढुङ्गा सडक कालोपत्रे गरिसक्ने दावी गरेको छ तर महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने दशैँको मुखमा सवारी जामको समस्या बढ्ने भएकाले तीन÷चार दिनभित्र सम्पन्न गर्न आग्रह गरेको छ ।

‘एकैसाथ दुई/ तीन वटा मेसिन प्रयोग गरी सडक कालोपत्रे गर्दा तीन दिनभित्र सकिने अनुमान गरिएको छ,’ महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्तले सडक कालोपत्रे गर्नका लागि ट्राफिक व्यवस्था मिलाइएको बताउनुभयो ।
दशैँको पूर्वसन्ध्यामा सात दिनसम्म रातिको सवारी आवागमन अवरुद्ध गर्दा कलंकीदेखि धादिङको नौबिसेसम्म थेग्नै नसकिने जामको समस्या हुन सक्ने कतिपयको आशङ्का भएपनि पन्तले भने सडक निर्माण छिटो गर्न जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !