चितवन, १७ असोज । गृहमन्त्री रामबहादुर थापाले विकास र समृद्धिका निम्ति सुशासन, शान्ति र स्थयीत्व महत्वपूर्ण पक्ष भएको बताएका छन् ।
यो सरकार निर्माण भएपछि शान्ति र स्थायीत्वका निम्ति महत्वपूर्ण उपलब्धीहरु हासिल भएको थापाले बताए । बुधबार भरतपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गृहमन्त्री थापाले यो सरकार गठन हुनु अगाडि र प्रारम्भिक चरणमा भएको दैनिक जसो हुने विस्फोट, चन्दा आतंकलाई निस्तेज गर्दै शान्ति र स्थायीत्वको लागि सरकराले महत्वपूर्ण कदमहरु चालेको बताए ।

विशेष गरि आर्थिक अपराध, तस्करी, सिण्डीकेट तथा भ्रष्टाचार विरुद्ध सरकारले महत्वपूर्ण उपलब्धी हासिल गरेको गृहमन्त्री थापाको भनाइ छ ।
पछिल्लो समय घरेलु हिंसा वृद्धि हुनुका कारण मदिरा र लागु औषध रहेकोले यसको नियन्त्रण र नियमन गर्नका लागि राज्य लागीपरेको गृहमन्त्री रामबहादुर थापाले बताए ।

लागु औषधका कारण समाजमा विशेष गरि युवाहरु पीडित भएको उल्लेख गर्दै थापाले यसको नियन्त्रणको लागि सरकार र जनता मिलेर अगाडि बढ्ने तयारी गरेको बताए ।   साथै बादलले निर्मला पन्त प्रकरणमा अनावश्यक राजनीतिकरण भएको बताए ।
गृहमन्त्री थापाले गृह प्रशासनले सुक्षम ढङगबाट अनुसन्धान गरिरहेको भएपनि घटनामाथि विभिन्न तरिकाले राजनीतिकरण भएको बताए ।

पन्तको हत्या भएको भोलीपल्टै उच्च स्तरीय अनुसन्धान टोली त्यसतर्फ पठाईएको भन्दै गृहमन्त्री थापाले अपराधीलाई कानुनको कठघरामा ल्याउन गृहमन्त्रालय गम्भिर भएर अघि बढिरहेको जानकारी दिए।

अहिले नै दोषी पत्ता नलागेको भएपनि अवश्य पक्राउ पर्ने उहाँको दावी छ ।

प्रतिक्रिया दिनुहोस !