काठमाडौं । भर्खरै विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) सरकारको पटके नियन्त्रणबाट मुक्त भई बाटो लागिसके । तर, तत्कालिन माओवादी कार्यकर्ता अचम्म मान्दै छन्, आखिर किन रामबहादुर थापा (बादल) प्रकाण्डको पछि यति हात धोएर लागेका होलान् ?
पार्टी एकीकरणको दौरान विभिन्न बैठक र छलफल चल्दा युवा र विद्यार्थीको हकमा जटिलता आयो । अरु कुरा मिल्न छाडेपछि दुबैतिरका युवा कार्यकर्ता बागबजारतिर गफिन थाल्दा बादलसँग पोहोर वैद्य समूह छाडी फर्किएका एकजनाले फ्याट्टै भने– उमा भुजेललाई पनि त्यस्तै गर्नुपर्ने † तत्कालिन एमाले कार्यकर्ताले सोधे, ‘किन ?’ उनीहरुको झगडा रहेछ, करोडको ।

पार्टी फुटेपछि पनि मोहन वैद्यलाई प्रचण्डले खुसुखुसु खर्च दिने रहेछन् । शायद, हिजोआज पनि उनले प्रचण्डबाट पैसा बुझेको हुनुपर्ने ती कार्यकर्ताको अनुमान थियो । तर, प्रकाण्ड गिरफ्तारी प्रकरणपछि प्रचण्डसँग विप्लवहरु सशंकित छन् र कुराकानी हुन छाडेको छ । नत्र, तीन वर्षअघि प्रचण्डले वैद्यलाई रुपैयाँ दिँदा विप्लवलाई बोलाएर जानकारी दिएका थिए । तर, बादल बोलाइएनन् । वैद्यकहाँ पैसा पुगेपछि बल्ल बादलले चाल पाए । विप्लवले त्यसको आधा रकम आफूमार्फत खर्च हुनुपर्ने माग गरे । बादलले वैद्यलाई नदिने भन्दै थए । त्यही दिनबाट हो, बादल र विप्लवबीच चर्काचर्की परेको । पछि वैद्यले आफूसँग एक रुपैयाँ पनि नराखी आधा बादल र आधा विप्लवलाई दिए । विप्लव पैसा पाउनासाथ चीन गए । किन गए ? कसले बोलाएर गए ? यी केही कुरा पार्टीमा भनेका थिएनन् । वैद्यले सोध्दा पनि ‘साथीले बोलाएको’ मात्रै भने ।

स्वभाविक के हो भने, पैसा लगेपछि हिसाब त बुझाउनुपर्छ । एउटा अनौपचारिक बैठकमा कुरा उठ्दा, ‘हामी सैन्य तयारीमा लागेका छौँ । त्यस्तो बेला के–के खर्च हुन्छ भन्ने कुरा नबुझेको यहाँ को हुनुहुन्छ ? के ती कुरा सबै भनिहाल्न मिल्छ ?’ भनिदिए । यो घटनाले वैद्य र विप्लवबीचकै दूरी बढायो । पार्टी एउटै, बाँकी सब गतिविधि फरक फरक । यसमा वैद्यका खास मान्छे बादल, विप्लवकाचाहिँ प्रकाण्ड थिए । पार्टी फुट्ने–फुट्ने बेला भएपछि रकम फिर्ता गर्ने नाममा बादल र प्रकाण्डबीच राम्रै चर्काचर्की चल्यो । ‘सिध्याउँछु’ भन्नेसम्मका कुरा उठे । पार्टी फुट्यो । पैसा फर्किएन । त्यसपछि वैद्यले खर्चका कुरा गर्न छाडे । प्रचण्डले दिन्थे, तर भन्दैनथे ।

त्यसपछि वैद्यले पैसा लिँदा पनि करोड–करोड हैन, खल्तीमा अट्ने र आफूलाई पुग्नेमात्र लिन थाले । पार्टीमा खर्च कसरी चलाउने भनेर कुरा निकाल्दा केही जवाफ दिन छाडे । गाइँगुइँ चल्यो, ‘बूढालाई विप्लवहरुले पैसा पेल्न थालेजस्तो छ ।’ किनभने, यसरी सानो समूह लिएर बस्नुभन्दा विप्लवसँगै एकता गरेर जाने कार्यदिशा अबलम्बन गर्नुपर्ने कुरा निस्कियो । ‘सिध्याउने’ सम्मको कुरा भएको छ । ‘मन मिल्दैन, कार्यशैली मिल्दैन– कसरी एकता गर्ने ?’ बादल समूहको तर्क थियो । तर, वैद्य एकता गर्नैपर्ने पक्षमा झन्झन् दृढ हुँदै गएपछि बादलहरु ‘भोलि एकतामा सामेल नभएर यी बूढाको बेइज्जत गर्नुभन्दा पहिल्यै छाडेर जाऔँ’ भनी प्रचण्डसँग कुरा गर्न थाले ।

चुनावको मुखमा केही साथीलाई सेटल गर्नुपर्ने कुरा पनि सम्भव भएपछि उनीहरु वैद्यबाट ‘विद्रोह’ गरी निस्किए । उतिबेला पैसाको झगडा, त्यो झगडामा प्रकाण्डले ‘सिध्याउँछु’ सम्म भनेको रिस र अहिले बादल गृहमन्त्री भएको बेला † यति कुरा बुझेपछि प्रकाण्डलाई ठूलै अपराधीझैँ अड्डा सारिँदै पूर्वदेखि पश्चिमसम्म घुमाइएको आरोप छ ।
– जनआस्थामा, राजकुमार राईबाट

प्रतिक्रिया दिनुहोस !