काठमाडौं । सरकारी कागजात कीर्ते गरी ७० करोडको सम्पत्ति हत्याएको काण्ड सुनेर हप्ताअघि नै जिब्रो टोकियो । तर, २० अर्बमा काम सक्छु भन्ने कम्पनीको कागजात तलमाथि पारेर ४९ अर्बमा सकिने गरी सरकारी सम्झौता बनाइँदैछ । र, यो पनि प्रहरीकै अनुसन्धानको मामिला बनिरहेको छ ।
कास्कीको वीरेठाँटीदेखि मुस्ताङस्थित मुक्तिनाथ मन्दिरसम्म केबुलकारको ८५ दशमलव ५ किलोमीटर यात्रा हुने परियोजनामाथि भएको घोटालाको प्रसंग हो यो । शंकरमान डंगोल संस्थापक अध्यक्ष रहेको मुक्तिनाथ दर्शन सेवा प्रालिबाट सरकारी कागजात कीर्ते गरेबापत अध्यक्षसहित दुईजना सञ्चालक निकालिएका छन् । तर, न निकालिएका अध्यक्ष यसबारे जानकार छन्, न उनको हस्ताक्षर र निर्णय पुस्तिका कतै छ ।

तर, कम्पनी रजिष्ट्रारको कार्यालयका कर्मचारीसँगको मिलेमतोमा नयाँ व्यवस्थापन समितिका पदाधिकारीले शेयर प्रमाणपत्र हात पारिसकेका छन् । उक्त कम्पनीमा पहिला शंकरमानसहित योगेन्द्रचन्द्र पालिखे, प्रकाशबहादुर सिंह, हरिप्रसाद तम्चा, पुष्करमान श्रेष्ठ, दिवाकरकुमार ओझा, रोशन सहनी र तुलसीमान सिंह सञ्चालक थिए । तर, रोशन र तुलसीमान विदेशमा रहेको र अध्यक्ष शंकरमानले राजीनामा दिएको भन्दै नक्कली कागजात पेश गरी शेयर बिक्रिको प्रमाणपत्र तयार पारिएको उजुरी परेको छ । नयाँ व्यवस्थापनमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीका छोरा पूजनराजसहित प्रकाशबहादुर सिंह, योगेन्द्रचन्द्र पालिखे, राजेन्द्र प्रधान, सविन खड्का, अरुणकुमार सुवेदी, मेजरमान गोपाली र दीपक महर्जन रहेका छन् । अहिले यही कम्पनी घोटालाको मुद्दा बोकेर डंगोल अदालतदेखि प्रहरीसम्म धाइरहेका हुन् । उनले कम्पनीको शेयर खरिद, विक्रि गर्ने सम्बन्धमा कहीँ–कतै, कुनै सहमति नजनाएको र हस्ताक्षरसमेत नगरेको जाहेरीमा उल्लेख गरेका छन् ।

अचम्म के छ भने, यो परियोजनाअन्तर्गत जम्मा २० अर्बमा मुक्तिनाथसम्म पुग्ने केबुलकार तयार हुन्छ । तर, कीर्ते गरी खडा भएको व्यवस्थापनसँग हालै लगानी बोर्डले गरेको सम्झौतामा ४९ अर्बको लागतमा परियोजना सम्पन्न गर्ने उल्लेख छ । शंकरमान अध्यक्ष हुँदाको व्यवस्थापनले २० अर्बमा परियोजना सम्पन्न हुने भने पनि नयाँ खडा गरिएको व्यवस्थापनले गत वैशाखमा गरेको पत्रकार सम्मेलनमा ३४ अर्बमा काम सकिने बताएको थियो । तर, असोज २ गते लगानी बोर्डसँग सम्झौता गर्दा ४९ करोडको हिसाब कसरी निस्कियो ? अनुसन्धानकर्मी नै अचम्ममा छन् । यसमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद लामिछाने पनि मुछिएको बताइन्छ ।

उक्त केबुलकार ६ वटा खण्डमा विभाजन गरेर निर्माण गर्ने लक्ष्य राखिएको छ । वीरेठाँटीदेखि घोरेपानीको भाग १३ दशमलव ३ किलोमीटर लामो हुनेछ । घोरेपानीदेखि तातोपानी खण्ड १२ दशमलव ७ किलोमीटर र तातोपानीदेखि लेतेसम्म १६ दशमलव ४ किलोमीटर लामो हुने बताइएको छ । एकैपटक मुक्तिनाथसम्म पुग्न असहज हुने भन्दै बीचमा यात्रुलाई ओरालेर अर्काे डिब्बाबाट लैजाने योजना छ । लेतेदेखि जोमसोमबीच मार्फामा यस्तो ट्रान्जिट राखिने योजना छ । लेतेदेखि जोमसोमसम्मको यात्रा २३ दशमलव ९ किमी लामो हुनेछ । जोमसोमदेखि कागबेनीसम्मको खण्ड ८ं.२ किमी र कागबेनीबाट मुक्तिनाथसम्मको खण्ड ९ किलोमीटर लामो हुनेछ । वैशाखमा भएको पत्रकार सम्मेलनमा जनाइएअनुसार, केबुलकार प्रतिसेकेण्ड २ मीटरदेखि १२ मीटरका दरले चल्ने छ । तर, यो गति हावाको चापमा निर्भर रहने छ ।
००००

प्रतिक्रिया दिनुहोस !