– टंक कुवर-
धनगढी – विजया दशमी २०७५ को अवसरमा धनगढी उपमहानगरपालिका वडा नं.१३ ले प्रथम वडा स्तरीय भेट्रान्स पुरुष भलिबल प्रतियोगिता यही असोज २५ गतेबाट शुरु गर्ने भएको छ ।

असोज २५ गते देखि २७ गतेसम्म चल्ने सो प्रतियोगितामा ३० वर्षभन्दा माथिका उमेर समूहका पुरुषहरुले भाग लिन पाउने वडा नं. १३ का वडा अध्यक्ष बिजयराज जोशीले पत्रकार सम्मेलन गरी जानकारी दिए ।

प्रतियोगितामा १९ वडाका १९ टिम र थप १ आयोजक वडा टिम र धनगढी उपमहानगरपालिकाको थप १ टिम गरी २१ टिमले भाग लिने उनले बताए ।
प्रहरी प्रशासन क्षेत्रमा आबद्ध खेलाडी,अन्तर्राष्ट्रिय र बिदेशी खेलाडीले खेल्न नपाउने प्रावधान रहेको जोशीले बताए । प्रतियोगिता राजपुर स्थित जनता राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ भने प्रतियोगितामा करिब ३ लाख खर्च हुने र सो खर्च आयोजकले नै ब्यहोर्ने जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई २५ हजार,द्वितीयलाई १५ हजार पुरस्कार घोषणा गरिएको छ भने उत्कृष्ट खेलाडीलाई ५ हजार र उत्कृष्ट सटर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट रेजरलाई जनही रु २ हजारका दरले पुरस्कार घोषणा गरिएको वडा अध्यक्ष जोशीले जानकारी दिए ।

उनले भलिवल प्रतियोगितामा लामो समयसम्म योगदान गरेका पूर्व राष्ट्रिय खेलाडीलाई पनि सम्मान गरिने बताए । खेलको उद्घाटन धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप बहादुर ओडले गर्ने र खेल अवधिभर खेलाडीका लागि प्राथमिक उपचार, ग्लुकोज पानीको ब्यवस्था गरिनुका साथै सम्पूर्ण सहभागी खेलाडीका लागि १ पटक खानासमेत रहेको आयोजकले जनाएको छ । यो वर्ष प्रतियोगिता सफल भए हरेक वर्ष प्रतियोगिता शुरु गरिने अध्यक्ष जोशीले जानकारी दिए । पत्रकार सम्मेलनमा पूर्व भलिवल खेलाडी प्रेमराज जोशीले प्रतियोगिताको राष्ट्रिय निर्णायक (रेफ्री) भागिराम बखरिया, बिष्णु बहादुर चौधरी, श्यामलाल राना, घुमन राना रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस !