हेटौंडा, १८ असोज । तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नीति निर्माणमै भ्रष्टाचार रहेको बताएका छन् । भ्रष्टाचार नियन्त्रण सम्बन्धी मुख्यमन्त्री कार्यालयले सञ्चारकर्मीहरुसँग बिहीबार हेटौंडामा गरेको अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् ।
ऐन नियम मिलाएर संस्थागत रुपमा हुने भ्रष्टाचार नियन्त्रण नभएसम्म देश विकास नहुने उनको भनाई छ । त्यसको लागि निर्मम भएर सरकार प्रस्तुत हुने पौडेलले बताए । ‘हाम्रो ऐन निमय नै भ्रष्टाचार गर्ने प्वाल राखेर बनेको हुन्छ, अनि करी भ्रष्टाचार नियन्त्रण हुन्छ’, उनले भने, ‘नीतिगत तहमा हुने भ्रष्टाचार सबैभन्दा चुनौतीको विषय हो ।’
ठूला विकासका आयोजनाहरुमा भ्रष्टाचारको लागि ठूलो ठाउँ राखेर काम सुरु हुने गरेको मुख्यमन्त्री पौडेललेका दाबी छ । सार्वजनिक खरिद ऐनका गलत प्रावधानहरुका कारण बढि नीतिगत भ्रष्टाचार भएको उनले बताए ।

तीन नम्बर प्रदेश सरकार भ्रष्टाचार नियन्त्रणमा प्रतिबद्ध रहेको पौडेलको भनाई छ । कार्यक्रममा बोल्दै प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले भ्रष्टाचार नियन्त्रणको लागि सबैले अआफ्नो ठाउँबाट प्रयास गर्नुपर्ने बताए ।

तीन नम्बर प्रदेशका मुख्य सचिव आनन्दराज ढकालले भ्रष्टाचार अभावले नभई गलत नियतले हुने बताए । कार्यक्रममा मुख्यमन्त्री कार्यालयकी सचिव इन्दिरा दाहालले कार्यपत्र प्रस्तुत गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस !