बीपी साह

काठमाडौं, ।राष्ट्रिय सुरक्षा र हितविरुद्ध बाह्य क्षेत्रबाट हुने गतिविधि नियन्त्रणका लागि राष्ट्रिय अनुसन्धान विभागले ‘काउन्टर इन्टेलिजेन्स डिभिजन’को स्थापना गर्ने भएको छ।

बाह्य क्षेत्रबाट विभिन्न गतिविधि संचालन भइरहे पनि प्रतिरक्षाका लागि नेपालमा शक्तिशाली संयन्त्र नभएको निष्कर्ष निकाल्दै विभागले काउन्टर इन्टेलिजेन्सको स्थापना गर्ने प्रस्ताव अगाडि बढाएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय महातहतमा रहेको विभागले केहीदिनभित्रै स्थापना गर्ने गरी काउन्टर इन्टेलिजेन्स स्थापना गर्ने प्रस्ताव अगाडि सारेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार यसबारे प्रक्रिया अगाडि बढाइएको छ।

हाल सीमित रुपमा विदेशी नागरिक र संस्थाहरुको गतिविधिको पहिचान तथा निगरानी विभागले गरिरहेको छ।  यसैगरी अनुसन्धान विभागले नगर उन्मुख इलाका, राजमार्ग र औद्योगिक तथा सीमा नाकामा संयन्त्र विस्तार गर्ने प्रस्ताव पनि अगाडि सारेको छ।

विभागले हाल सार्वभौमसत्ता, भौगोलिक अखण्डतामा आंच पुर्याउने पक्षहरुको सूचना संकलन, विश्लेषण र सम्प्रेषण गरिरहेको जानकारी दिएको छ।  प्रधानमन्त्री कार्यालयद्वारा संघीय संसदलाई दिइएको जानकारीमा भनिएको छ, ‘संविधान र व्यवस्था विरोधी तथा राज्य विखण्डनउन्मुख पक्षहरुमाथि निरन्तर निगरानी तथा तिनीहरुको रणनीतिक योजना एवं गतिविधि सम्बन्धी सूचना संकलन र सम्प्रेषण गरिँदैछ।’

अनुसन्धान विभागले जातीय, क्षेत्रीय र धार्मिक समूहका नाममा गतिविधि गर्ने समूहहरुको पनि निगरानी गरिरहेको जनाएको छ। वित्तीय अपराध र सीमा क्षेत्रमा हुने गतिविधिलाई पनि नजिकबाट विभागले नियालिरहेको जनाकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस !