काठमाडौं, असोज २० । आउँदो दुई वर्षभित्र गर्ने भनिएको महाधिवेशनका लागि आकांक्षीको सूची लामो छ । अहिले शीर्ष नेताहरुबीच देखिएको विवादको खास कारण पार्टीमा कसको वर्चस्व रहने भन्ने ‘छद्म लडाइँ’ नै भएको आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
नेताहरूका अनुसार ‘छद्म लडाइँ’ कै रिहर्सलका रूपमा प्रदेश, जिल्ला र जनवर्गीय संगठनहरूको एकतासम्बन्धी विवाद सतहमा आएको हो । चार महिनाअघिको एकताले उत्साह सिर्जना गरे पनि त्यसपछि अन्य काम अल्झिएका छन् । यसले कार्यकर्ताको उत्साह बिस्तारै मर्दै गइरहेको पार्टीका नेता बताउँछन् । एकता प्रक्रियामा सक्रिय भएका नेकपाका स्थायी समिति सदस्य जनार्दन शर्माका अनुसार नेताहरूले पार्टी एकता र कार्यकर्ताको भावना नै नबुझी आफ्नो ढंगले चल्न थालेका छन् । कमिटी प्रणाली बिर्सेर गलत निर्णय हुन थालेको उनको बुझाइ छ ।