काठमाडौं, असोज २० ।  सनातन संस्कृतिमा सामान्यतय बुवा, आमा, हजुरबुबा, हजुरआमाको श्राद्ध गर्ने परम्परा छ। सोह्र श्राद्धमा घरपट्टि र मावलीपट्टि तीन पुस्तालाई पिण्ड दिने चलन छ। सामान्यतय तीन पुस्ता नाघिसकेपछि तर्पण र पिण्ड दिइँदैन।

अर्थात् श्राद्ध गरिँदैन तर, मृत्यु भएको १४२ वर्ष पुगिसकेका तत्कालीन श्री ३ महाराज जंगबहादुर राणाको श्राद्ध गरिँदैछ? कसले गर्छ होला जंगबहादुरको श्राद्ध? गोरखापत्र दैनिकमा प्रकाशित समाचारअनुसार उनको श्राद्ध सन्तानले नभई सरकारले गरिदिने हो।

गुठी संस्थानले कालमोचन घाटमा श्राद्ध गराएर ‘जंगबहादुरको आत्माले वैकुण्ठमा स्थान पाओस्’ भन्ने कामना गर्दैछ। त्यसका लागि ब्राह्मण गोविन्दप्रसाद कोइरालालाई केशमुण्डन गराएर एकछाकी बसाइएको छ।

गुठी संस्थान काठमाडौं शाखा प्रमुख वैकुण्ठ रेग्मीका अनुसार श्राद्धमा दही मालपुवा, केरा मेवालगायत फलफूल प्रसादस्वरूप कालमोचन घाटमा आउने सबैलाई वितरण गरिन्छ। २०२१ सालमा गुठी संस्थान स्थापना भएयता नियमित रूपमा सोह्र श्राद्ध पारेर जंगबहादुरको श्राद्ध गरिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस !