– लक्ष्मीप्रसद पंगेनी –
सदाका दिन झैँ विद्यालय चलिरहेको थियो । सबै कक्षाहरुमा शिक्षकहरु पढाउन व्यस्त थिए । विद्यालयको वातावरण शान्त थियो । पहिलो घन्टीमा कक्षा नभएकोले म अफिसमा बसेर विद्यार्थीका गृहकार्य जाँच गर्दै थिएँ । प्रधानाध्यापक कक्षा १० को अतिरिक्त कक्षा संचालनकोलागि विद्यार्थीका अभिभावकहरुसंग छलफल गरिरहनु भएको थियो । यत्तिकैमा विद्यालयको गेट अगाडि ‘टिट् ….टिट्.. ’ गर्दै एउटा जिपले हर्न बजायो ।
‘‘जिल्लाबाट अनुगमन आएजस्तो छ, तपार्इंहरु बस्दै गर्नु, को रहेछ हेरेर आउँछु्र ।’’ भन्दै प्रधानाध्यापक बाहिर निस्कनु भयो । ‘‘प्रहरीको गाडी पो रहेछ ! किन आयो प्रहरी आज हाम्रो विद्यालयमा ? ए, कृष्ण भाई, जाउ त गेट खोल्न ।’’ प्र.अ. चिच्याउनु भयो ।
कार्यालय सहयोगी कृष्ण दौडिदै गेट खोल्न पुगे । हामी सबै बाहिर निस्कियौं ।
‘‘सबैलाई नमस्कार ! यस विद्यालयको प्र.अ. को हुनुहुन्छ ?’’ पाखुरामा दुई वटा तारा टल्किएको प्रहरीले हातमा डण्डा घुमाउदै सोध्यो ।
हामी सबैले नमस्कार फर्कायौं र दयाराम सरतिर फर्किदंै हामीले एकै स्वरमा भन्यौ, ‘‘उहाँ नै हुनुहुन्छ, यस विद्यालयको प्र.अ ।’’
आफ्नो डण्डाले टाउको कन्याउँदै प्र.अ.तिर फर्कदै प्रहरीले भने, ‘‘सर, हजुरलाई जिल्ला प्रहरी कार्यालयबाट पक्राउ पुर्जी जारी भएको छ, यी लिनुस पत्र ।’’
प्र.अ.को अनुहार रातो पिरो भयो । उहाँ अलि आत्तिए जस्तो देखिनुभयो ।
‘‘किन होला, सईसाप् ?’’ प्र.अ.ले सोध्नुभयो ।
‘‘सबै कुरा पुर्जीले बोल्छ, प्र.अ.ज्यू, बरु छिटो जाउँ ।
केटा हो ! सरलाई सीट खाली गरिदेओ ।’’ सईले आदेश दिए ।
दयाराम सर अलि अफ्ठ्यारो मान्दै प्रहरीको गाडीमा बस्नु भयो र गाडी हिड्यो ।
मैले छिमेकी विद्यालयका केही प्र.अ.हरुलाई फोन गरें । सबै प्रहरी कार्यालय जाने निधो भयो । तुरुन्तै हामीहरु जिल्ला प्रहरी कार्यालय अगाडि जम्मा भयांै । हामी गेट भित्र प्रवेश गर्दै गर्दा गेटमा रहेका दुई जना प्रहरीले हामीलाई रोके ।
‘‘कहाँबाट आउनु भयो ? के काम थियो, हजुर ?’’ एउटा प्रहरीले सोध्यो ।
हामीले जवाफ दिन नपाउँदै अर्को प्रहरीले सोधिहाल्यो, ‘‘हजुरहरु नेता हो कि क्याहो ? यसो हेर्दा त नेता जस्तो देखिनुहुन्छ नि !’’
हामी गललल्ल हास्यांै । ‘‘हामी शिक्षक हांै, हाम्रो एक जना शिक्षकलाई प्रहरीले पक्रेर ल्याएको रहेछ । त्यही भएर आएको । बरु कुन कोठामा राखेको छ होला भाई ?’’
‘‘के हो सर त उमेरकै हुनुहुन्छ कि क्याहो ?’’ एउटा प्रहरीले व्यंग्य गर्दै भन्यो ।
‘‘होइन भाई, त्यस्तो होइन । सोच्न पनि पाप लाग्छ । के भनेको त्यस्तो ?’’ मैले भने ।
‘‘ए ल ल ! उ त्यो ५ नं कोठामा जानुस ।’’
५ नं कोठाको अगाडि पुग्दा नपुग्दै ‘‘ए ए तपाईहरु कता ? डिएसपीसाप् खाना खाएर यसो आराम गारिबक्सेको छ । अहिले जान मिल्दैन ।’’ भन्दै लामो जुँगा भएको हवल्दारले रोके ।
‘‘सरहरू, हो यतै बेन्चतिर बस्नुहोला आधा घण्टा जती । के गर्ने, नियम कडा छ ।’’
‘‘हैन हवल्दारसाप, अलि छिटो भेट्न मिल्दैन र ? अलि हतार थियो ।’’ हामीले अनुरोध गर्यौ ।
‘‘प्रहरी चौकी आएपछि सबैलाई यस्तै हो, सबैलार्ई हतार हुन्छ । के गर्ने, जागिरको सवाल छ ? नियम त सबैले मान्नै पर्यो नि, हैन र हजुर ?’’ हवल्दारले हास्दै भने ।
‘‘के गर्ने, आफ्नो कार्यक्षेत्र परेन ! सरहरु, आउनुस यतै बस्दै गरौं ।’’ मैले हेडसरहरुलाई अनुरोध गरें ।
हामी तोकिएको समयसम्म कुर्न बाध्य भयांै ।
‘‘हैन, दयाराम सरलाई अकस्मात प्रहरीले किन पक्रेछ आज ? के गरेछन् बुढाले त्यस्तो ?’’ पहिलो हेडसरले सोध्नुभयो ।
‘‘खोइ, गाँइगुईं त केही पनि थिएन । एकै चोटी पुलिस आयो, पुर्जी थमायो अनि लिएर आयो । मलाई पनि केही थाहा भएन सर । केही हप्ता अगाडि कक्षा ९ र १० का छात्राहरुको टोलीले हेडसरलाई एउटा मागपत्र दिएका थिए । ‘माग पुरा नभए कडा आन्दोलन हुन्छ नि फेरी’ भन्दै थिए छात्राहरुले । कतै तिनीहरुले नै उजुरी त गरेनन् ?’’ भावुक हुँदै मैले भने ।
‘‘पक्राउ नै पर्ने गरी के गरेछन् त दयाराम सरले ? विद्यार्थीहरुले के गरेछन् त त्यस्तो माग ?’’ दोश्रो हेडसरले जिज्ञासा राख्नुभयो ।
आधा घण्टाको आपसी कुराकानीपछि ‘‘हवल्दारसाप ! भएन र टाइम ?’’ मैले मुख फोरें ।
दुई जना सुरक्षाकर्मी सहित डिएसपी आफ्नो कार्यकक्षमा प्रवेश गरे । एउटा सुरक्षाकर्मीको हातमा फाइल थियो भने अर्कोको हातमा बन्दुक ।
‘‘जय नेपाल सर !’’ हवल्दारले डिएसपीलाई सलुट ठोके ।
हामीलाई इसारा गर्दै हवल्दारले हामीलाई भित्र जान आदेश दिए । हामी विस्तारै भित्र छिर्यौ ।
‘‘सर, जय नेपाल !’’ हामीले पनि प्रहरीकै शैलीमा डिएसपीलाई अभिवादन गर्यौ ।
‘‘जय नेपाल, जय नेपाल !’’ हामीलाई हेर्दै नहेरिकन अभिवादन फर्काए उनले । फाइलमा हस्ताक्षर गर्न व्यस्त देखिन्थे उनी ।
‘‘के काम पर्यो भन्नुस त ?’’ डिएसपीले हामीलाई सोधे ।
‘‘हाम्रो हेडसरलाई आज पुलिसले पक्रेर ल्याएछ । के कारण रहेछ ? यसो बुझांै भनेर आएको सर ।’’ मैले मुख खोलें ।
अकस्मात हिन्दी गीतले कोठा गुन्जयमान भयो । डिएसपीले मोबाइल उठाए । गीत बन्द भयो ।
डिएसपी फोनमा बोल्दै भने,‘‘जय नेपाल ! के भयो ? भोली मन्त्री आउने रे ? कति बजे ? दुई बजे पो ! के काम रहेछ ?’’
‘‘कार्यकर्ता भेटघाट छ रे’’ फोनमा उताको आवाज सुनियो ।
‘‘भोली घर जाउँ भनेको, फेरी मन्त्री आउने रे ! हैन, यी काम चलाउ मन्त्रीहरु कति भ्रमण गर्छन् हो सरकारी खर्चमा ? क्या मोज छ ! नेता पो हुनु पर्छ कि क्या हो ?’’ डिएसपीले आफ्नो असन्तुष्टि पोखे ।
‘‘भईहाल्छ नि सर ! राजिनामा दिने अनि पार्टी प्रवेश गर्ने । कति त सांसद नै भई सके रे ! सर भन्दा तल्लो पोस्टको मान्छे सांसद भएपछि सरले सलुट ठोक्न पर्ला जस्तो छ अब !’’ हवल्दारले क्रमभंग गरे ।
हामी मुसुमुसु हास्यौ ।
‘‘चुप लाग ।’’ डिएसपी कड्किए ।
‘‘जय नेपाल साप् !’’ हवल्दारले सलुट ठोके ।
‘‘अँ साच्चै, के काम थियो रे तपाईहरुको ?’’ डिएसपी बल्ल हामीतिर फर्के ।
‘‘सर, हाम्रो विद्यालयको हेडसर पक्राउ पर्नु भएछ ।’’ टाउको कन्याउदै मैले भने ।
‘‘के नाम हो हेडसरको ?’’
‘‘दयाराम जोशी, सर ।’’
फाइल हेर्दै, ‘‘दयाराम…, दयाराम…., अँ, नाम त दयाराम रहेछ ! काम भने निकै निर्दयी रहेछ नि सरको, हैन ?’’ डिएसपीले हामीलाई सोधे ।
‘‘के गर्नु भएछ र सरले, डिएसपीसाप् ?’’ हामीले एकै स्वरमा प्रति प्रश्न गर्यौ ।
‘‘सरमाथि ठुलो आरोप छ, त्यत्रो ८० जना छात्राहरुको माग पुरा नगर्ने ? उनीहरुको आवाजलाई नसुन्ने ? यस्तो पनि हुन्छ कहीं ? जेल हाल्नै पर्ने मान्छे होइछ नि उहाँ !’’ डिएसपीले अलि कडा कुरा गरे ।
‘‘कुरा के हो, डिएसपीसाप् ? माग के हो ? आरोप के हो ? त्यो त भन्नुस पहिले ।’’ हामीले कुरा खुलस्त राख्न माग राख्यौं ।
‘‘मैले के भनौ र ! तपाईहरुकै हेडसरलाई सोध्नुस् ।’’ डिएसपीले अझै कुरा खोलेलन् ।
‘‘हवल्दारसाप् ! १० नं कोठाको मान्छेलाई हाजिर गराउनु त ।’’ डिएसपीले आदेश दिए ।
हवल्दारले हेडसरलाई तुरन्तै डिएसपीसामु हाजिर गराए ।
‘‘के हो हेडसर, विद्यार्थीहरुको मागलाई नजरअन्दाज गर्ने ? त्यै पनि छात्राहरुको !’’ डिएसपीको प्रश्न सुनेर हेडसर अक्कनबक्क हुनुभयो । उहाँको शिर ठाडो हुन सकेन । हामीलाई पनि निकै अफ्ठयारो लागिरहेको थियो ।
‘‘हो डिएसपीसाप्, मैले छात्राहरुको मागलाई नजरअन्दाज गरेकै हो । यसप्रति म आत्मालोचित, दःुखि र निकै लज्जित छु ।’’ दयाराम सरले मुख खोल्नुभयो ।
हामीले अझै कुरा बुझ्न नसकेर रनभुल्लमा रहिरह्यांै । कतिखेर भेद खुल्छ भन्दै कुरा सुन्दैगयौं ।
‘‘हेर्नुस हेडसरहरु’’, डिएसपीले भन्दै गए, ‘‘तपाईहरुले विद्यालयमा छात्रामैत्री शौचालय नबनाउँदा र सेनेटरी प्याड उपलब्ध गराउन नसक्दा महिनावारी भएको समयमा धेरै छात्राहरु विद्यालय अनुपस्थित हुने गरेका छन् । केही छात्राहरु महिनावारी हुने समय नजिकँदादेखि नै विद्यालय नजाने गर्दछन् । त्यस्तै विद्यालयको समयमा महिनावारी हुँदा उनीहरुले बिचैमा घर जानु पर्छ र पढाई छुट्छ ।’’
‘‘हो, डिएसपीसाप् ।’’ हामीले एकै स्वरमा सहमति जनायांै ।
माहोल यस्तो भयो कि मानौं हामीलाई कसैले कक्षामा पढाइरहेको छ । हामी विद्यार्थीको भूमिकामा छौं । यतिबेलासम्म हामीले हेडसर पक्राउ पर्नुको कारण बुझिसकेका थियौं । हामीलाई निकै लज्जाबोध भईरहेको थियो । हामीलाई छिटोभन्दा छिटो त्यहाँबाट निस्कनु थियो ।
‘‘तपाईले ठिक भन्नुभयो डिएसपीसाप् । हामीले आज कै मितिदेखि विद्यालयलाई छात्रामैत्री बनाउने र विद्यालयमा प्रयाप्त सेनेटरी प्याडको व्यवस्था गर्नेर्छौं ।’’ पहिलो हेडसरले बाचा गर्नुभयो ।
‘‘सुन्नुस’’, शिरको टोपी टेबलमा राख्दै, डिएसपीले थपे, ‘‘कुनै छात्रा महिनावारी भएको समयमा औसत ५ दिन विद्यालय अनुस्पथित भईन् भने वर्षभरि उनी ६० दिन विद्यालय अनुस्पाथित हुन्छिन् । यदि वर्षभरि विद्यालयमा २ सय दिन पढाई भयो भने उनको ३० प्रतिशत पढाई छुट्छ र विद्यालय छोड्ने अवस्था आउन सक्छ । ३० प्रतिशत पढाई छुट्ने विद्यार्थीको पढाइको अवस्था कस्तो होला, कहिल्यै मुल्यांकन गर्नु भएको छ हजुरहरुले ?’’
‘‘हो डिएसपीसाप्, तपाईले हाम्रो आँखा खोलीदिनु भयो । यसप्रति हामी क्षमाप्रार्थी छौं । यो समस्यालाई हामीले निकै गम्भिररुपमा लिएका छौं ।’’ दोश्रो हेडसरले डिएसपीलाई आश्वस्त पार्ने कोशिस गर्नुभयो ।
डिएसपीले भने, ‘‘तपाईहरु त पढे लेखेको मान्छे, मैले के सम्झाउनु छ र ? यसरी छात्राहरु विद्यालय छोड्ने अवस्था आउँदा उनीहरुको सानै उमेरमा विवाह हुने हुँदा बालविवाहले प्रशय पाएको छ । त्यसैले तपाईहरुले आ–आफ्नो विद्यालय छात्रामैत्री बनाउने र विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराउने सहमतिपत्रमा हस्ताक्षर गर्नै पर्छ आज ।’’
हामी लाजले पानी पानी भईसकेका थियांै । प्रहरीले दयाराम सरलाई मात्र होइन हामी सबैलाई पक्रेर ल्याएको महसुस भैरहेको थियो । सबैले आ–आफ्नो विद्यालयको अवस्थाको बारेमा सोच्न बाध्य भयौं ।
‘‘हवल्दारसाप् ! बाहिर बस्नुभएका वि.व्य.स.अध्यक्ष र छात्रा विद्यार्थीहरुलाई भित्र बोलानु ।’’ डिएसपीले आदेश दिए ।
वि.व्य.स.अध्यक्ष र छात्रा विद्यार्थीहरुका प्रतिनिधिहरु भित्र आए ।
‘‘सरहरु सबैलाई नमस्कार ! हामीहरुले नै दयाराम सर विरूद्ध उजुरी दिएका थियौं । माफ गर्नुहोला, सरलाई हामीहरुले दःुख दियौं ।’’ छात्रा विद्यार्थीहरुका प्रतिनिधिहरुले भित्र पस्दै एकै स्वरमा भने ।
‘‘तिमीहरुले जे गर्यौ, ठिक गर्यौ । तिमीहरुको साहसलाई मैले सम्मान गर्छु । तिमीहरुको मागलाई समय मै सम्बोधन गर्न नसक्नु मेरो ठुलो कमजोरी हो । आज मेरो आँखा खुलेको छ । यसमा तिमीहरुसंग म माफ माग्न चाहन्छु आशा छ, तिमीहरुले माफ गर्ने छौ ।’’ दयाराम सरले विद्यार्थीसामु बिन्ती गर्नुभयो ।
‘‘मुद्दा फाँटको असईलाई दयाराम जोशीको फाइल लिएर बोलाउनु ।’’ डिएसपीले हवल्दारलाई पुनः आदेश दिए ।
असई फाइल लिएर हाजिर भए ।
फाइलमा हस्ताक्षर गर्दै डिएसपीले भने, ‘‘असईसाप ! यो सहमतीपत्रमा उहाँ सरहरु, वि.व्य.स. अध्यक्ष र विद्यार्थीहरुलाई हस्ताक्षर गराउनु ।’’
एक हप्ताभित्र आ–आफ्नो विद्यालयलाई छात्रामैत्री बनाउने र विद्यालयमा छात्राहरुलाई प्रयाप्त सेनेटरी प्याड उपलब्ध गराउने सहमतिपत्रमा हस्ताक्षर गरी दयाराम सर सहित हामी सबै प्रहरी चौकीबाट रवाना भयांैै ।
( लेखक जीवनज्योती मा.वि. कावासोतीका शिक्षक हुन् )