भक्तपुर, २४ असोज – भक्तपुरको प्रसिद्ध तलेजु भवानीको मन्दिरमा आजबाट विधिवत रूपमा बडादशैँ शुरु भएको छ ।

आज बिहान ७ बजेर १५ मिनेटमा पाञ्चायन निर्णायक समितिले दिएको शुभसाइतमा जोशी, कर्माचार्य र राजोपाध्याय पुजारीले तलेजुमा जमरा राखेर दशैँ शुरु भएको तलेजुका मूलनाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।

नेपालकै मूल तलेजुमा वैद्धिक एवं तान्त्रिक पद्धतिअनुसार पूजा गरी दशैँघरमा जमरा राखिएको हो । राजा हरिसिंहदेव र देवलदेवीले नेपाल संवत् ४४४ मा सिम्रनगढबाट ल्याएर श्री तलेजु भवानीलाई भक्तपुरमा प्रतिस्थापन गरेपछि तलेजु जात्रा मनाउने परम्परा शुरु भएको जोशीले बताउनुभयो ।

घटस्थापनादेखि दशमीसम्म मूलगुठी, चौगुठी समुदायले श्रीद्धिमाजु देवीमा समेत पूजाअर्चना गर्ने परम्परा रहेको छ भने आजै भण्डार पोखरीमा समेत विशेष पूजा गर्ने परम्परा रहेको छ । तलेजुमा सप्तमीदेखि दशमीसम्म तलेजु जात्रा मनाइन्छ भने सप्तमीदेखि महानवमीसम्म ५४ बोका, ३२ राँगा र २४ हाँसको बली दिई कालरात्री गरी जात्रा मनाउने गरिन्छ ।

तलेजुमा मूल पुरोहितले मांसाहुती होम सम्पन्न गरेपछि तलेजुमा बली दिइने परम्परा रहेको छ । सप्तमीको दिन तलेजुलाई देवगृहबाट स्थानान्तरण गरी आगमघरमा विराजमान गराई जात्रा मनाउने परम्परा रहेको छ ।

तलेजुलाई दशैँघरमा राखेर पूजा गर्ने परम्पराअनुसार मूलनाइके जोशीले खड्ग बोकेर अन्य व्यक्तिहरूले तलेजुलाई विधिवत रूपमा दशैँघर पु¥याएर विजयादशमीको दिनसम्म तलेजुलाई दशैँघरमा राखेर पूजा गर्ने परम्परा रहेको छ । विजयादशमीको दिन भने तलेजुलाई विजययात्रा गरी दशैँघरबाट मूलघरमा भित्र्याइने परम्परा रहेको मूलनाइके जोशीले बताउनुभयो ।

एकान्त कुमारीलाई कुमारी घर भित्र्याइयो

त्यसैगरी जीवितदेवीको रूपमा मनाइने भक्तपुरको एकान्तकुमारी जीविका बज्राचार्यलाई कुमारी घर भित्र्याइएको छ । कुमारी घर भित्र्याएपछि आजदेखि कुमारी एवं तलेजु जात्रा शुरु भएको छ ।

घटस्थापनादेखि दशैँभरि कुमारीघरमा विराजमान गराई कुमारीजात्रा मनाइने परम्पराअनुसार कुमारीलाई तान्त्रिक विधिअनुसार पूजा गरी भक्तपुर नगरपालिका क्वाठण्डौँस्थित कुमारी घरमा बिराजमान गराई पूजा गरिएको तलेजूका मूलनाइके जोशीले बताउनुभयो ।

तलेजुमा ऋग्वेद, यर्जुवेद, अथर्ववेद, सामवेद र चण्डी पाठ गरी राजोपाध्याय र कर्माचार्यले कुमारीको पूजा गरी कुमारीजात्रा मनाइने जानकारी दिँदै उहाँले दशैँभरि टिबुक्छेँमा रहने ११ गणकुमारीको समेत तलेजु ल्याएर पूजा गरिन्छ भन्नुभयो ।
––– (रासस) ः

प्रतिक्रिया दिनुहोस !