कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानमा थप संशय उत्पन्न भएको छ, हत्यारा भनिएका दिलिपसिंह बिष्टको भिडियो बयान र छानविन प्रतिवेदनलगायत सार्वजनिक भएसँगै उनको डिएनए परीक्षण नेगेटिभ आएपछि २४ दिनमा रिहा भए, भदौ ३० गते । दुई शंकास्पद युवती पनि छाडिए । तर, विष्टको भिडियो बयान हेर्दा उनी रिहा हुनुपर्ने कारण देखिँदैन । घटनास्थल नजिकै सेनाको व्यारेक छ । अक्सर व्यारेक वरपरका छोरीचेली सुरक्षित हुँदैनन् भन्ने आममान्यता पनि छ । यतिबेला बिष्टको बयानकै आधारमा उनलाई कसैले नराम्रो भन्यो भने पत्याउने अवस्था किन छैन भने अमेरिकी राष्ट्रपति जोन अफ केनेडी र हाम्रै जननेता मदन भण्डारी अनि पोखरामा ३८ वर्षअघि बलात्कारपछि मारिएका नमिता–सुनिताको नियति पनि उस्तै छ ।

हत्या गरिएकी निर्मलाको भेजिनल स्वाब सुरक्षित नभएको कुरा आएको छ । किनभने, हत्यालगत्तै उनलाई पानीमा चोपलिएको थियो, २४ घण्टासम्म । त्यसअवधिमा योनीसहित शरीरका सबै भाग जलमग्न भयो । त्यसले उनका बाहिरी र भित्री शरीरबाट उपलब्ध हुने कतिपय प्रमाण लोप गर्नमा मद्दत गरेको बुझिन्छ । हैन, भेजिनल स्वाब शरिरको भित्री तत्व हो र त्यो सामान्य ढंगले नष्ट हुँदैन भन्दा पनि पुरुष वीर्य स्खलन भएको भए, त्यो बाहिर बाहिरै बगेर अनि पानीले पखालिएर गएन पनि भन्न सकिँदैन । प्रहरीले शव बरामद मुचुल्का तयार पार्दा उनको भेजिनल स्वाबको प्रसंग उल्लेख छैन । जबकि, आत्महत्या भए डोरीको डाम वा आत्महत्या गर्न प्रयोग भएको वस्तुको निशाना मुचुल्कामा उल्लेख हुन्छ, हत्या गरिएको भए हत्या गर्न प्रयोग भएको हतियारको परिमाण (दाग, घाउ, चोट) पहिचान हुनै पर्छ ।

निर्मला बलात्कृत भइन् र मारिइन् भन्नेमा कुनै सन्देह थिएन । त्यसपछि भेटिएको शवको मुचुल्का उठाउँदा योनीको अवस्थाबारे उल्लेख हुनैपथ्र्यो, जो भएन । र, मुचुल्कामा बुबाको नक्कली सही गराइएको छ । हल्ला भएपछि दसी खडा गरिएको छ । यसले गर्दा दोषी उम्किने, इश्यु नमर्ने अवस्था रहन्छ । त्यसैले गृहमन्त्रालय कुहिराको काग भएको छ । बलात्कारी यदि विष्ट नै हुन् भने उनले वीर्य योनीमै स्खलित गरे भन्ने आधार पनि छैन । भिडियो बयानका आधारमा विश्लेषण गर्दा उनी अपराधमा निपूर्ण थिए भन्ने बुझिन्छ । डिएनएमार्फत विश्लेषण गर्दा निर्मला बलात्कृत भएको प्रमाणित हुन्छ । तर, बलात्कारी प्रमाणित हुनका लागि वीर्य भित्रै स्खलित भएको हुनुपर्छ, जुन कुराको अहिलेसम्म यकिन भइसकेको छैन । बयानमुखी अनुसन्धान प्रणालीका लागि यो एउटा चुनौतिपूर्ण घटना हो । त्यही भएर वैज्ञानिक अनुसन्धान विधि अबलम्बन गरियो । तर, यो विधिमा कसुरदारले प्रमाणबिहीन ढंगले कसुर गरेमा एकोहोरो परिणाम मात्र आउँछ । कतै विष्टको रक्तसमूहसँग नमिल्ने परिणाम आएको छ भने पनि उनले बलात्कारका क्रममा प्रमाण नष्ट हुने गरी गतिविधि गरेनन् भन्न सकिँदैन ।

सिआइबीबाट खटिएका निलम्बित डिएसपी अंगुर जिसीले जनआस्थालाई बताएअनुसार, उनीहरुको टोली त्यहाँ पुग्दासम्म भेजिनल स्वाबका विषयमा प्रहरीहरु बेसरोकार थिए । सिआइबीको टोलीले शव हेर्दा भेजिनल स्वाब सुरक्षित रहेको ठहर गरेरै परीक्षणका लागि काठमाडौं पठाइएको उनले भनेका छन् । उनको कुरा यस्तो छ–
विष्टले घटनाबारे दिएको बयान सुन्दा हामी चकित खाएका थियौँ, उनको ‘सार्प माइण्डेड एक्टिभिटिज’ का कारण । अनुमतिमा उनका कुरा हामीले भिजुअल रेकर्ड गरेका हौँ । रेकर्डमा बोल्न सक्छौ भनेर सोध्दा, सक्छु भनेर हिम्मतसाथ भनेकै हुन् । पुलिसले कुट्यो, यातना दियो भन्ने कुरा बाहिरी हल्लामात्र हुन्, कुट्ने वा यातना दिने नियतले उनीमाथि एक औँलो पनि हात हालिएको थिएन । त्यसमाथि सारा संसारका मानवअधिकारवादी, महिला अधिकारकर्मीसहित सञ्चारमाध्यमहरुले चासोका साथ हेरेको घटनामा प्रहरीले कुनै किसिमको दुव्र्यवहारपूर्ण गतिविधि गर्छ भन्ने कुरा एक प्रतिशत पनि पत्याउन सकिँदैन ।

नेपाल प्रहरीको इतिहासमा पहिलोपटक बलात्कार घटनामा डिएनए परीक्षण भयो, यही घटनामा । त्यो डिएनए परीक्षण हुँदैन थियो, यदि म अनुसन्धानमा नखटिएको भए । पब्लिक सेन्टिमेन्टअनुसार कारवाही गर्ने हो भने एसपी सा’बको छोरा र मेयर सा’बको भतिजालाई थुनेको भए आन्दोलन मत्थर हुन्थ्यो । तर, अब त्यसो गर्न पाइँदैन । ती व्यक्तिहरु डिएनए परीक्षणअनुसार निर्दोष करार भैसकेका छन् । डिएनएले निर्दोषको अधिकार सुरक्षित गरेको छ भने दोषी कतैबाट पनि नउम्किने कुराको ग्यारेन्टी गरिएको छ ।

डिएनए परीक्षण गराउने सिलसिलामा कति दुःख पाएँ, त्यो कुरा मेरो विभागलाई थाहा छ, हाकिम सा’बहरुलाई थाहा छ । म अनुसन्धानकर्ता तोकिएर घटनास्थलमा पुग्नासाथ सबभन्दा पहिला शवको डिएनए गर्न सकिन्छ कि भनेर काम थालेँ । सबै कुरा बुझ्दा सम्भव देखियो । तर, तत्कालै डिएनए गर्ने प्रविधि र सुविधा उपलब्ध थिएन । हाम्रो विधि विज्ञान प्रयोगशालामा कुरा गर्दा प्राविधिक समस्या र आर्थिक मामिला उठाइयो । मैले हाकिम सा’बहरुमा यो कुरा जाहेर गरेपछि जे–जस्तो अवस्था भए पनि डिएनए गराउनु भनेर विधि विज्ञानलाई आदेश भयो । हेर्नुस् त, मैले अहिलेसम्म कसैले नगरेको काम गरेँ, त्यसबापत मै निलम्बनमा परेँ ।’

प्रतिक्रिया दिनुहोस !